शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३ लाखमा खुलेको नाङ्लो फास्टफुडबाट हाल मासिक २ लाखभन्दा बढी आम्दानी

शुक्रबार, २३ पुस २०७८, ११ : ५०
शुक्रबार, २३ पुस २०७८

विराटनगर । विराटनगर–२ का ३८ वर्षीय ईश्वर बास्कोटाले तीन वर्ष अघि ३ लाख रुपैयाँमा सुरु गरेको खाजा घर अहिले नाङ्लो फास्टफुडमा परिणत भई मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ । पैसा कमाउनका लागि विदेश जानुपर्छ भन्ने सोच राख्ने युवालाई नेपालमै पनि पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् बास्कोटा ।

विराटनगरको तिनपैनी चौक नपुग्दै सोमबारे हाट जाने मोडमा रहेको  नाङ्लो फास्टफुड सुरुमा एउटा सामान्य खाजा घरको रुपमा खुलेको थियो । त्यतिबेला खाजाको मुख्य आइटममा उनले मःमः लाई नै फोकस गरेका थिए । अहिले सोही खाजा घरलाई विस्तार गर्दै उनले फास्टफुडका रुपमा सञ्चालन गरेका छन् भने मःमःका १२ आइटमको स्वाद ग्राहकलाई उपलब्ध गराउँदै आएका छन् ।

एक पटकमा ४० भन्दा बढी ग्राहक अटाउने क्षमतासहितको सो फास्टफुडमा मःमःका पारखीहरुको विशेष भिड लाग्ने गर्दछ । ईश्वरले सुरुवाती चरणमा एक जना कुक राखेर मःमः बेच्न थालेका थिए । ‘पसल थालेको केही महिनासम्म मःमः बिक्री नहुँदा दैनिकजसो मःमः फाल्नु परेको थियो,’ उनले भने, ‘तर कहिल्यै निराश भइनँ, पसललाई निरन्तरता दिइरहेँ । आजका दिनमा आइपुग्दा मलाई मःमः बिक्री नहुने तनाव व्यहोर्नु परेको छैन ।’

उनको फास्टफुडको विशेषता भनेको अर्डर गरिएका खाजाका आइटम नाङ्लोमा राखेर डेलिभरी गरिन्छ । हाल दैनिक ३ सय प्लेट मःमः बिक्री हुने गरेको उनले सुनाए ।

फस्टफुडमा विभिन्न आइटमका मःमः बिक्रीबाट मासिक ७ लाख बढीको कारोबार हुने गरेको उनी बताउँछन् । अहिले उनको फस्टफुडमा ११ जनाले रोजगारी पाएका छन् ।

‘नाङ्लो फास्टफुडलाई अन्य मःमः पसलभन्दा फरक बनाउने सोचेर खोलेको हुँ,’ उनले रातोपाटीसँग भने, ‘त्यसैले मेनुमा विभिन्न स्वादका मःमः राखेको छु ।’

फस्टफुड खोल्ने तयारी गर्नु अघि उनले भारतको दार्जिलिङमा एक साता बिताएका थिए । त्यहाँ पाइने मःमःका विभिन्न आइटम र तिनको विशेषता बुझ्न र सिक्न आफू त्यसरी गएको उनले सुनाए ।

त्यहाँबाट फर्किएपछि दार्जिलिङमा पाइने मःमःको स्वाद विराटनगरमा दिने उद्देश्यले उनले नाङ्लो फास्टफुड खोलेका थिए । तीन वर्षको यो अवधिमा उनी दार्जिलिङको मःमःको जस्तै स्वाद विराटनगरमा पस्कन सफल पनि भएका छन् ।

उनले दार्जिलिङको जस्तै मःमः का तीन प्रकारका अचार बनाउने गरेका छन्, जसमा रातो अकबरे खोर्सानीको अचार निकै लोकप्रिय छ । त्योसँगै मःमः को किमामा प्रयोग हुने बन्दा कोभी, धनियाँ लगायतका सब्जीका आइटमसमेत उनले आफ्नै बारीमा उब्जाउने गरेका छन् । टमाटर आफैले किनेर सस बनाउने गरेको पनि उनले सुनाए ।

‘ताजा, अगार्निक, सफा र स्वादिलो टेष्ट नै मेरो फास्टफुडमा पाइने मःमःको पहिचान हो,’ उनले भने, ‘यदि मेरो पसलमा पाइने खाजाको कुनै पनि मेनु मिठो भएन भनेर ग्राहकले कम्प्लेन गर्छ भने म स–सम्मान ग्राहकलाई पैसा फिर्ता दिन्छु । तर अहिलेसम्म सबैले रुचाईदिएको उनी बताउँछन् ।’

निकट भविष्यमै उनले शाखा विस्तार गर्ने योजनासमेत अघि सारेका छन् । विराटनगरको गुद्री र कंचनबारी आसपासको क्षेत्रमा शाखा विस्तारका लागि ठाउँ खोजिरहेको उनले बताए ।

अहिले उनको फास्टफुडमा तयार पारिएको मःमः विराटनगरको चादँनीचोक र खाँजीमा रहेको मार्टमा समेत बिक्री वितरण हुँदै आएको छ । ‘अझै नयाँ स्वाद थप्दै जाने योजनामा छु,’ ईश्वरले भने, ‘ग्राहकलाई कम्तीमा धेरैभन्दा धेरै स्वादको मःमः पस्किने योजना छ ।’

मःमःसँगै खाजाको नयाँ स्वादका लागि मकैबाट तयार हुने परिकार पनि थप्ने योजना रहेको उनले सुनाए । मःमःका अतिरिक्त उनले बर्गर, पिज्जा लगायत अरू थुप्रै खाजा पनि उपलब्ध गराएका छन् । आफ्नो फास्टफुडमा आउने ग्राहकलाई खाजाका लागि अरु क्याफे जान नपरोस् भन्ने सोचले यस्तो व्यवस्था गरेको उनको भनाइ छ ।

ईश्वरले नाङ्लो फास्टफुड रहेको स्थानमा पहिला फर्निचर पसल सञ्चालन गर्दै आएका थिए । उनी त्यो समयमा फर्निचर पसलसँगै स्थानीय अर्पण स्कुलमा मेनिजिङ्ग डाइरेक्टरका रुपमा कार्यरत थिए ।

साथीभाइसँग खाजा खान जाँदा होटल तथा क्याफेमा उही परम्परागत तरिकाको स्टीम मःमः बाहेक नौलो खाजाको स्वाद नपाएपछि ईश्वरले विराटनगरमा आफूजस्तै मःमःका पारखीलाई लक्षित गरी स्पेशल मःमः पसल खोल्ने सोच बनाएका थिए । त्यही सोच अनुसार नाङ्लो फास्टफुडको जन्म भएको थियो ।

उनले फर्निचर पसलमध्येको सानो स्थानलाई प्रयोग गर्दै टेबल राखेर साँघुरो ठाँउमा सुरुवाती चरणमा फास्टफुड खोलेका थिए । सबैले मःमः रुचाउँदै गएपछि त्यहाँबाट फर्निचर पसल पूरै खाली गरी ईश्वरले अहिले नाङ्लो फास्टफुड विस्तार गरेका छन् ।

अहिले उनी फर्निचर व्यवसाय र स्कुल पूरै छाडेर नाङ्लो फास्टफुडमा समय दिँदै आएका छन् । उनी मःमःलाई ब्रान्डिङ गर्न खोजिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप