सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मोरङ एमालेमा पुरानै नेतृत्वले निरन्तरता पाउने

शुक्रबार, २३ पुस २०७८, १० : ५१
शुक्रबार, २३ पुस २०७८

नेकपा एमाले मोरङको जिल्ला अधिवेशनबाट पुरानै नेतृत्वले निरन्तरता पाउने भएको छ । अध्यक्ष लगायत पदाधिकारीमा उपसचिव बाहेकका अन्य सबै पुरानै अनुहार समेटिएका छन् । जसमा उपसचिवमा केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी भएको एक नेताले बताए । भुजेल एमाले फुट्दा १० बुँदे सहमतिमार्फत सोही पार्टीमा बसेकी थिइन् । यसबाहेक अधिवेशन आयोजक समितिको अध्यक्षसहितका पदाधिकारीलाई नै निरन्तरता दिने गरी छलफल भइरहेको ती नेताले बताए ।

‘अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने पार्टी नेतृत्वबाट सर्कुलर भएको छ, ती नेताले भने, ‘मोरङको हकमा पनि  सहमतिबाट पदाधिकारीको टुंगो लगाउन छलफल जारी छ ।’ नवगठित समितिमा केही नयाँ अनुहारलाई समेट्दै पुरानो नेतृत्वलाई नै निरन्तरता लिने ढंगबाट छलफल भइरहेको ती नेताले बताए ।

अधिवेशनबाट अध्यक्षका आकांक्षी अरू कोही नदेखिएकाले पनि सर्वसम्मत अध्यक्षमा पोख्रेल, उपाध्यक्षमा बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा दोहोरिने निश्चित जस्तै भएको छ । उनीहरु सबै सम्मेलन आयोजक समितिमा रहेका थिए ।

त्यसैगरी उप–सचिवमा पनि नयाँ अनुहारका रुपमा मधेशी अनुहारबाट सन्तोष साहलाई ल्याउने तयारी गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने गरी छलफल जारी रहेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।  एमाले मोरङको ९ औ महाधिवेशन विराटनगरको होटल मनास्लुमा बिहान साढे ११ बजे हुने जिल्ला उद्घाटनको तयारी छ ।

सचिव रुपेश खतिवडाकाअनुसार १४ सय ५० का हाराहारीमा प्रतिनिधि सहभागी हुने अधिवेशनमा १६५ सदस्य जिल्ला कमिटी गठन गरिनेछ । गत मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले यही पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो । 

जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृहजिल्लामा पुगेका छन् ।  जिल्ला अधिवेशनमा स्थायी कमिटी सदस्यहरु लालबाबु पण्डित, गुरु बराल, डा.शिवमाया तुम्वाहाङ्फे, भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, विनोद ढकाल लगायतका नेताहरुको सहभागिता रहने बताइएको छ । कार्यक्रमको उद्घाटन भर्चुअल माध्यमबाट एमाले अध्यक्ष केपी ओलीले गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप