शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरी एमालेमा को को छन् अध्यक्षका आकांक्षी ?

शुक्रबार, २३ पुस २०७८, १० : ३४
शुक्रबार, २३ पुस २०७८

प्रकाश तिम्सिना

नेकपा (एमाले) सुनसरीको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि चारजना आकांक्षी देखिएका छन् । अध्यक्षमा दाबी गर्नेमा पूर्वसंविधानसभा सदस्य रेवती रमण भण्डारी, जिल्ला अध्यक्ष खेमराज पोखरेल र इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी छन् । प्रदेश सदस्य तथा इटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईँले पनि अध्यक्षमा दाबी गरेका छन् । नेतृत्व चयनका लागि सहमतिको बाटो खोजिरहँदा आकांक्षी बढेपछि थप दबाब परेको छ । नेतृत्व लिन तयार रहेकामध्ये चौधरी, पोखरेल, भण्डारी जिल्ला पदाधिकारीमा बसेर काम गरिसकेका छन् भने चौंलागाई नयाँ अनुहार हुन् । 

वर्तमान जिल्ला अध्यक्ष खेमराज पोखरेलले सहमतिबाटै आफू पुन: नेतृत्वमा दोहोरिन चाहेका छन् । यसअघि उपाध्यक्ष भइसकेका पोखरेललाई भीम आचार्य पक्षले सहयोग गरेको छ । तत्कालीन नेकपा विभाजित भएसँगै एमाले हुँदा केपी ओली पक्षले रेवती रमण भण्डारीलाई जिल्ला अध्यक्ष बनाएको थियो । तर पार्टी भित्रैका माधव नेपाल पक्ष र ओली पक्षकै केही नेताहरूले भण्डारीलाई अध्यक्ष मान्न नसकिने भन्दै लामो विवाद भएको थियो । 

पूर्वजिल्ला अध्यक्ष तथा इटहरी मेयर द्वारिकलाल चौधरी पनि आकांक्षी हुन् । छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्ष बनेका उनी स्थानीय तहको निर्वाचनमा पार्टी उपाध्यक्ष रमेश बस्नेतलाई कार्यवाहक दिएर चुनावमा टिकट पाएका थिए । एमालेको राम्रो पकड रहेको इटहरीमा उनले चुनावसमेत जिते । पार्टीको १० औँ महाधिवेशन प्रतिनिधि भएका चौधरी केन्द्रीय सदस्यमा नपरेपछि उनी जिल्लामै रहने अवस्थामा पुगेका छन् ।

अर्का आकांक्षी हुन्, पार्टीका प्रदेश कमिटी सदस्य तथा इटहरी खानेपानी संस्थाको अध्यक्षमा बसेर १८ वर्ष काम गरेका रामप्रसाद चौलागाईँ । सुनसरीमा केपी ओली पक्षका पुराना नेताको रूपमा चिनिएका चौलागाईँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरको मेयर पदका लागि आकांक्षी थिए । 
मेयरको टिकट नपाएपछि पार्टीको भूमिकामा नरहेका उनी जिल्ला नेतृत्वको आकांक्षी देखिएका हुन् ।

अर्का आकांक्षी हुन् संविधानसभा सदस्य रेवतीरमण भण्डारी । तत्कालीन नेकपाभित्र विवाद उत्पन्न हुँदा केपी ओली पक्षले एक वर्ष अघि जिल्ला अध्यक्षको जिम्मेवारी भण्डारीलाई दिएको थियो । सर्वोच्चको फैसलाले नेकपा एमाले नै रहने व्यवस्था गरेपछि पार्टीले २०७५ जेठ २ मा फर्किने निर्णय गरेको थियो । माधव पक्ष नेताहरूले भण्डारीलाई अध्यक्ष मान्न तयार नभएपछि उनले छोडेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप