शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदै वीरेन्द्रनगर नगरपालिकालाई सभाहल हस्तान्तरण

शुक्रबार, २३ पुस २०७८, १० : ०५
शुक्रबार, २३ पुस २०७८

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरिएको सुविधा सम्पन्न सभाहल स्थानीय वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । दुई चरणमा निर्माण योजना रहेको सभाहल पहिलो चरणको काम सकिएसँगै हस्तान्तरण भएको हो ।

बिहीबार शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सभाहल उद्घाटन गर्दै नगरपालिका प्रमुख देवकुमार सुवेदीलाई हस्तान्तरण गरेकी हुन् । सभाहलको पहिलो चरणको निर्माण कार्य सम्पन्न भए पनि दोस्रो चरणको योजना तथा डीपीआरसमेत तयार भएको छैन ।

भवन शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले निर्माण गरेको हो । प्रदेश राजधानीका केन्द्रहरुमध्ये सबैभन्दा पहिले यो भवन निर्माण सम्पन्न भएको आयोजनाले बताएको छ ।

आयोजनाका अनुसार भवन निर्माण संहिता, सरकारी भवन निर्माण कार्यक्रम अन्तर्गत भवनको पहिलो चरण अन्तर्गतको कार्य सम्पन्न भएको हो । 

वीरेन्द्रनगर नगरपालिका –६ मा रहेको उक्त सभाहल २५ हजार २८९.१६ वर्गमिटर क्षेत्रफल अर्थात् ५० रोपनी जमिनमा निर्माण गरिएको छ । यो भवन आर्थिक वर्ष २०७३÷०७४ मा राष्ट्रिय भवन संहिता २०६० को मापदण्ड अनुसार डिजाईन गरिएको थियो ।

संघीय आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुख अमरबहादुर थापाका अनुसार पहिलो चरणको भवन निर्माण सम्पन्न गर्नका लागि २६ करोड ९१ लाख ९५ हजार २६४ रुपैंया बराबरको लागत अनुमान गरिएको थियो ।

भवन निर्माणको जिम्मा समानान्तर–चक्रेश्वरी शिवशक्ति जेभी काठमाण्डौंले पाएको थियो । निर्माण कम्पनीले भने सम्झौता अनुसार काम गर्न सकेको थिएन । थापाले भने, ‘०७३ चैत्र २७ गते सम्झौता भई ०७६ चैत्र २३ गते सम्पन्न गर्ने भनिएको थियो । तर सम्झौता अवधिमा निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेन । बीचमा कोरोनाभाइरसका कारण काम प्रभावित भयो । त्यसपछि ०७८ भदौ २३ गतेसम्म म्याद थपिएकोमा सोही अवधिमा सभाहल (प्रथम चरण)को कार्य सम्पन्न भएको हो ।’

निर्माण सम्पन्न सभाहलको कुल एरिया ३.१९२ वर्गमिटर र टोटल फ्लोर एरिया ७.४२९ वर्गमिटर छ । चार सय पेरिमिटर बराबरको ‘कम्पाउण्ड’ वाल निर्माण, एउटा मुख्य प्रवेशद्वार र दुई वटा सहायक प्रवेशद्वार निर्माण गरिएको छ ।

चार वटा ब्लग मिलाएर सभाहल बनाइएको हो । ब्लग १ मा मल्टी प्रपोज हल तीन वटा छन् । जसमा पहिलो हलमा १५० सीट क्षमता, दोस्रो हलमा एक सय सीट क्षमता र तेस्रोमा ५० सीट क्षमता छन् । पहिलो ब्लगमा ग्यालरी तथा महिला÷पुरुष शौचालय जस्ता संरचना बनाइएको छ ।

ब्लग २ मा सिनेरी स्टोरेज कक्ष, जनरल स्टोरेज कक्ष, पहिलो तलामा महिला÷पुरुष रिहर्शल कक्ष, ड्रेसिङ कक्ष, पुरुष÷महिला शौचालय छ भने दोस्रो तलामा रिहर्शल कक्ष र शौचालय रहेको आयोजना प्रमुख थापाले बताए ।

ब्लग तीनमा भीआईपी कक्ष, प्रेस कक्ष, वेटिङ कक्ष र पुरुष÷महिला शौचालय छ भने पहिलो तलामा प्रशासनिक कक्ष, पुरुष÷महिला शौचालय छ, जसमा सेन्सर सहितको युरिनल जडान गरिएको छ ।

ब्लग चार सभाहलको मुख्य संरचना हो, जसमा भुईतला र बाल्कोनी गरी जम्मा ७८० सीट क्षमताको हल रहेको उनले बताए । यसमा मेन स्टेजसँगै डान्स सर्फेस र हाउस कर्टेनको व्यवस्था गरिएको छ भने सर्भिस कोरिडर, ग्यालरी सहित फुल्ली एचभीएसी सिस्टम र फायर फाईटिङ सिस्टमको व्यवस्था गरिएको छ ।

यस्तै क्यान्टिनका लागि पनि छुट्टै व्यवस्थापन गरिएको उनले बताए । सौन्दर्यका लागि दुबो र बिरुवाहरु रोपिएको छ भने भवनका सम्पूर्ण ब्लगमा आधुनिक प्रकारका बत्ती जडान गरिएका छन् । चट्याङ्बाट बचाउनका लागि लाईटिङ एरेस्टर समेत जडान गरिएको छ ।

यस्तै मुख्य सभाहलको सबै लाईटिङ सिस्टमहरु कन्ट्रोल रुमबाट मात्र कन्ट्रोल गर्ने व्यवस्था गरिएको छ । खानेपानीका लागि करिब एक सय मिटर गहिरो डिप बोरिङबाट पानी निकालिएको छ भने पानी प्रशोधन केन्द्र पनि जडान गरिएको छ ।

यस्तै १ लाख लिटरको आरसीसी रिजर्भ ट्याङ्की निर्माण गरिएको छ भने ओभर हेड स्टोरेज ट्याङ्की ५० हजार लिटरको छ ।

सभाहल परिसरमा ११० वटा सवारी पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ । सभाहलको पूर्व तर्फको भागलाई व्यापारिक प्रयोजनका लागि खाली छाडिएको छ । यसबाट सभाहल सञ्चालनका लागि भविष्यमा आयआर्जन गर्न सकिने बताइएको छ ।

सभाहल निर्माणबाट कर्णाली प्रदेश तथा सुर्खेत उपत्यकामा हुने सामाजिक, धार्मिक, आर्थिक एवम् राजनीतिक सेमिनार गोष्ठी तथा सम्मेलनका लागि सुविधा हुने जनाइएको छ ।

दोस्रो चरणको काम तत्काल अघि बढाउनुपर्छ : मन्त्री झाँक्री

कार्यक्रम उद्घाटन तथा हस्तान्तरण गर्दै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यति ठुलो लगानीमा निर्माण गरिएको सभाहलको पहिलो चरणको काम सकिएकोमा धन्यवाद दिइन् । उनले यो हल नगरपालिकालाई हस्तान्तरण गरेर दायित्वबाट पन्छिन भने नखोजिएको बताइन् । दोस्रो चरणको कामका लागि तत्काल प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

उनले भनिन्, ‘हलले विजनेश गर्ने र यहाँ कार्यरत कर्मचारी पालिन सक्ने गरी व्यवस्थापन गरिनुपर्छ । हल सञ्चालनका लागि छुट्टै मोडालिटी आवश्यक छ । विजनेश हुने तरिकाले मोडालिटी बनाउनुपर्छ ।’

मन्त्री झाँक्रीले हलको सुन्दरतालाई ५० वर्षसम्म पनि यथावत राख्नुपर्नेमा जोडसमेत दिइन् ।

यस्तै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले सभाहलको दोस्रो चरणको कामको लागि तत्काल प्रक्रिया अघि बढाइदिन मन्त्री झाँक्रीलाई आग्रह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप