शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

उद्यमशीलता विकासका लागि  सीटीईभीटी र युवा स्वरोजगार कोषबीच समझदारी

शुक्रबार, २३ पुस २०७८, ०९ : १९
शुक्रबार, २३ पुस २०७८

व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच गण्डकी प्रदेशमा सीप तथा उद्यमशीलता विकास गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको भएको छ । 

गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका ८५ वटै स्थानीय तहसँगको साझेदारीमा स्थानीय युवाको उद्यमशीलता अभिवृद्धिका लागि दुई संस्थाबीच राजधानीमा यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा सीटीईभीटीका तर्फबाट सदस्यसचिव जीवनारायण काफ्ले तथा कोषका तर्फबाट कार्यकारी निर्देशक विश्वबन्धु अधिकारीले हस्ताक्षर गरेका छन् । 

समझदारी अनुसार सीटीईभीटीले प्रत्येक स्थानीय तहमा सम्बन्धित क्षेत्रको स्रोत साधनको प्रयोग तथा स्थानीय आवश्यकताको आधारमा छोटो तथा लामो अवधिको सीप तथा अभिमुखीकरण एवं क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गर्नेछ । 

यसरी तालिम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह, गैर सरकारी संस्था, सहकारी संस्था, उद्योगी तथा व्यवसायी तथा अन्य रोजगारदाता संस्थासँग समन्वय समेत गर्न सक्ने उल्लेख गरिएको छ । यसरी सिकेका सीपहरूलाई सीटीईभीटीले आवश्यक परीक्षण र प्रमाणीकरण गरी सम्बन्धित व्यक्तिलाई प्रमाणपत्र उपलब्ध गराउने काम गर्नेछ । 

समझदारी अनुसार परिषद्ले दिएको प्रमाणपत्र एवं गरेको सिफारिसका आधारमा कोषले सम्बन्धित व्यक्तिको उद्यमशीलता विकासका लागि आवश्यक पर्ने वित्तीय सहयोग उपलब्ध गराउनेछ । यस्तो सहयोग सहुलियतपूर्ण ऋणको रूपमा प्रवाह हुनेछ । 

कार्यक्रममा बोल्दै परिषद्का सदस्य सचिव काफ्लेले सीटीईभीटीसँग वार्षिक रूपमा लामो अवधिको तालिम ८४ हजारलाई र छोटो अवधिको तालिम २१ हजार जनालाई दिनसक्ने क्षमता रहेको र वार्षिक ५० हजारको सीप परीक्षण गरी प्रमाणपत्र उपलब्ध गराउने गरेको बताउँदै यसरी सीप सिकेको युवालाई उद्यामशीलतासँग जोड्न कोषसँग सहकार्य गरेको उल्लेख गरे । 

कार्यक्रममा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले देशमा स्वरोजगारी र उद्यमशीलता विकासका लागि कोषले काम गर्दै आएको भन्दै आफूहरुले अनुदान नभएर सस्तो ऋणमार्फत् उद्यमशीलता विकास गरिरहेको उल्लेख गरे । 

कार्यक्रममा सीटीईभीटी गण्डकी प्रदेशका प्रमुख प्रमोद आचार्यले परिषद्ले दिएको छोटो तथा लामो अवधिको तालिमसँगै उद्यमशीलता विकास गर्ने उद्देश्य एकैसाथ हासिल होस् भन्ने उद्देश्यले पाइलट प्रोजेक्टको रूपमा यो प्रक्रिया अघि बढाइएको बताए । 

अहिले सीटीईभीटीले छोटो अवधिको तालिम अन्तर्गत १ हजार ६ सय ९६ घण्टासम्मको तालिम सञ्चालन गर्दै आएको छ । त्यस्तै लामो अवधिको तालिम अन्तर्गत १८ महिनादेखि ३ वर्षसम्मको शैक्षिक पाठ्यक्रम अन्तर्गत तालिम दिने र सीप परीक्षणको काम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप