शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रम निर्यात नै आयातमुखी अर्थतन्त्रको प्रमुख कारण : अर्थमन्त्री शर्मा

बिहीबार, २२ पुस २०७८, २२ : ४९
बिहीबार, २२ पुस २०७८

अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण नै श्रम निर्यात रहेको बताएका छन् । बिहीबार नेपाल निर्यात परिषद् (इकोन) को २४ औं साधारणसभा तथा छैठौँ निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेको भन्दै मन्त्री शर्माले त्यो श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।  उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी श्रृष्टि गर्नु नै समस्याको समाधान रहेको तर्क गरे । ‘हामीले वस्तु निर्यात गर्नुपर्ने ठाउँमा श्रम निर्यात गरेका छौँ । यही नै मुख्य समस्या हो । सङ्कटको कारण यही हो’, मन्त्री शर्माले भने, यसलाई समाधान गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु र हाम्रो व्यवसायलाई वृद्धि गर्नु अनि रोजगारी श्रृष्टि गर्नुको अर्को विकल्प छैन ।’ 

विभिन्न वस्तुहरूको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भर र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि सरकार र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 
नीतिगत, संरचनागत, व्यवहारिक र व्यवसायिक क्षेत्रमा हातेमालो गर्नुपर्ने समेत उनले बताए । 

मन्त्री शर्माले इकोनले निर्यातको सानो डोरेटो’ निर्माण गरेको भन्दै संस्थाको प्रशंसा गरे । इकोनले निर्यातको डोरेटो बनाएको छ । यसलाई हाइवेमा नबदलेसम्म हाम्रो व्यापार घाटा अन्त्य हुन सक्दैन’, उनले भने ।
सो कार्यक्रम मार्फत मन्त्री शर्माले नीतिगत र संरचनागत सुधारका लागि सकार सधैँ प्रतिवद्ध रहेको पनि स्पष्ट पार्दै अब विगतमा बनाइएका आर्थिक नीति तथा सन्धी सम्झौताहरूको समीक्षा गर्ने समय समेत आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप