आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

टाटा मोटर्स बन्यो सबैभन्दा बढी गाडी बिक्री गर्ने दोस्रो ठूलो कम्पनी

बिहीबार, २२ पुस २०७८, २२ : ३४
बिहीबार, २२ पुस २०७८

टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुबाहक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । यसअघि हुन्डाईले टाटाको तुलनामा बढी गाडी बिक्री गर्दै आएको थियो । सन् २०२१ को डिसेम्बर सम्मको तथ्यांकअनुसार हुन्डाईको बिक्रीलाई उछिन्दै टाटा मोटर्स दोस्रो स्थानमा परेको हो । यसबाहेक टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक दरमा सबैभन्दा बढी गाडी बिक्री गरेको छ । त्यस्तै, कम्पनीले अक्टोबरदेखि डिसेम्बर बीचको त्रैमासिकमा समेत धेरै गाडी बिक्री गरेको छ । 

सन् २०२१ को सुरुआतदेखि अन्तिमसम्मको बिक्री आँकडाअनुसार भने वर्षभरिमै सबैभन्दा बढी गाडी बिक्री गरेको हो । तथ्यांकअनुसार टाटा मोटर्सले डिसेम्बरमा मात्रै ३५ हजार ३ सयवटा गाडी बिक्री गरेको छ । त्यस्तै दक्षिण कोरियाली कार उत्पादन कम्पनी हुन्डाईले भने डिसेम्बरमा जम्मा ३२ हजार ३ सय १२ वटा गाडी बिक्री गरेको छ ।

टाटा मोटर्सले अक्टोबरदेखि डिसेम्बरको त्रैमासिकमा ९९ हजार गाडी बिक्री गरेको छ भने सन् २०२१ को अन्तिम दिनसम्ममा जम्मा ३ लाख ३१ हजार वटा गाडी बिक्री गरेको छ ।  बजारमा सेमिकन्डक्टरको अभावका कारण उत्पादनमा कमी देखिए पनि टाटा मोटर्स लिमिटेडका प्यासेन्जर भेहिकल बिजनेस युनिटका अध्यक्ष शैलेस चन्द्रले कम्पनीको यात्रुबाहक सवारीको व्यवसायले त्रैमासिक अवधिमा धेरै राम्रो उपलब्धि हात पारेको बताएका छन् ।
‘टाटा मोटर्सले दशक कै उच्च त्रैमासिक र मासिक बिक्री रेकर्ड बनाएको छ । गत आर्थिक वर्षको तुलनामा २०२१ मा कम्पनीको सेल्समा ठूलो परिवर्तन देखिएको छ,’ अध्यक्ष चन्द्रले भने, ‘कम्पनीले सन् २०२१ मा कुल ३ लाख ३१ हजार १ सय ७८ वटा गाडी बिक्री गरेको छ । टाटाले यात्रुबाहक सवारी साधनको व्यवसाय स्थापना सुरू गरे देखिको यो अहिलेसम्मकै उच्च बिक्री तथ्यांक हो ।’

उनका अनुसार ‘न्यू फरेबर’का मोडलहरूका कारण पनि गाडीको बिक्री र माग बढेको हो ।  यता हुन्डाई पनि सेमिकन्डक्टरको अभावका कारण सन् २०२१ मा अधिकांश समय आफ्नो उत्पादन क्षमताभन्दा कम सवारी साधन उत्पादन गर्न बाध्य बन्यो । पछिल्लो समय समेत कच्चा सामग्री र पार्टपुर्जाको अभावका कारण कम्पनीले आफ्नो उत्पादन केही दिनको लागि रोक्नुपर्यो ।

टाटा मोटर्सले सन् २०२१ मा विद्युतीय गाडीको समेत बिक्री बढाएको छ । कम्पनीले २०२१ अन्तिमसम्ममा मात्रै कुल २२ हजार ५ सय ५५ वटा विद्युतीय गाडी बिक्री गरेको छ । अघिल्लो आर्थिक वर्षको त्रैमासिकमा जम्मा १.८ प्रतिशत विद्युतीय गाडी बिक्री गरेको टाटा मोटर्सले यस वर्षको त्रैमासिकसम्ममा मात्रै विद्युतीय गाडीको बिक्री ५.६ प्रतिशतले बढाएको हो ।

कम्पनीका अनुसार यसले सन् २०२१ को डिसेम्बरमा पहिलोपटक मासिक २ हजारभन्दा बढी विद्युतीय गाडी बिक्री गरेको हो । ‘बजारमा विद्युतीय नेक्सन र विद्युतीय टिगोरको माग बढ्दो छ । जसले गर्दा विद्युतीय मोडलहरूको बिक्रीमा तिब्रता आएको छ । समग्रमा विद्युतीय मोडलहरूले राम्रो बजार पाएको छ,’ कम्पनीको प्यासेन्जर भेहिकल बिजनेस युनिटका अध्यक्ष चन्द्रले भने ।  तर भविष्यमा पनि सेमिकन्डक्टरको आपूर्ति अनिश्चितताका कारण उत्पादन एवम् बिक्रीमा केही प्रभाव पर्ने सम्भावना छ ।

यसका लागि कोभिडको जोखिमलाई पनि नजिकबाट ट्रयाक गर्न आवश्यक छ । यद्यपि  व्यवसायिक योजनालाई निरन्तर जारी राख्ने  कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप