शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

एमाले चितवनको अध्यक्षमा चार जनाको दावी

बिहीबार, २२ पुस २०७८, १९ : ५८
बिहीबार, २२ पुस २०७८

नेकपा एमाले चितवनको १०औं जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । २३ र २४ पुसमा हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ । एमाले चितवनको अधिवेशनको उद्घाटनसत्र तारापुञ्ज रिसोर्ट र बन्दसत्र पार्टी कार्यालयमा हुँदै छ ।

अधिवेशनका लागि जिल्लाका सात स्थानीय तह र पेसागत संगठनहरूबाट एक हजार ६०० प्रतिनिधि छनोट भएर आएका छन् । यसअघि एमालेको गाउँ/नगर कमिटी र वडा कमिटी सर्वसम्मतबाट चयन भइसकेको छ ।

एमाले चितवनको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देखाएका छन् । अध्यक्षको लागि रामप्रसाद न्यौपाने, तेजेन्द्र खड्का, कृष्ण भुर्तेल र कमल पाठकले आकांक्षा देखाएका छन् ।

अध्यक्षका आकांक्षी न्यौपाने एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष थिए । दुई पार्टीको एकता खारेज भइसकेपछि एमाले भरतपुर महानगरको कमिटी अध्यक्षको जिम्मेवारी पनि न्यौपानेले नै पाए ।

त्यसपछि भएको एकता अधिवेशनबाट नयाँ नेतृत्व चयन भयो । जिल्ला अध्यक्ष बन्ने इच्छा बनाएका न्यौपानेले पुनः महानगको अध्यक्षको लागि चासो दिएनन् । उनी नेकपा अध्यक्ष केपी ओली निकट मानिन्छन् ।

एमाले चितवनको २०७३ सालमा भएको अधिवेशनबाट तेजेन्द्र खड्का जिल्ला कमिटी उपाध्यक्षमा निर्वाचित भएका हुन् । तत्कालीन एमालेमा माधव कुमार नेपाल निकटका खड्का एमाले र माओवादी बीच भएको एकता खारेज भएपछि केही समय विचलित हुन पुगे । र, अन्ततः एमालेमै रहने उनले उद्घोष गरे ।

जिल्ला अध्यक्षका अर्का आकांक्षी कृष्ण भुर्तेल बागमती प्रदेशका सांसद हुन् । शालीन स्वभावका भुर्तेल २०३५ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय छन् । अर्का आकांक्षी कमल पाठक बार एसोसिएसन चितवनका पूर्व अध्यक्ष हुन् । उनले २०४३ सालबाट राजनीति सुरु गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप