बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले विवादको ‘साइड इफेक्ट’ : प्रदेश २ का सात जिल्लाको अधिवेशन शुक्रबार नहुने

बिहीबार, २२ पुस २०७८, १६ : ३९
बिहीबार, २२ पुस २०७८

 नेकपा एमालेको आन्तरिक विवादका कारण प्रदेश २ का आठ जिल्लामध्ये शुक्रबार एक जिल्लाको मात्रै जिल्ला अधिवेशन हुने भएको छ । सप्तरीबाहेकका बाँकी सात जिल्लाको अधिवेशन पछि हुने खवर आएको नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । यसअघि एमालेले गैर भौगोलिक ११ बाहेक सवै जिल्ला अधिवेशन पुस २३ गते शुक्रबार हुने बताएको थियो । सचिव अधिकारीका अनुसार भौगोलिक र गैर भौगोलिक गरी एमालेका ८८ जिल्ला कमिटीमध्ये शुक्रबार ६४ जिल्लाको मात्रै जिल्ला अधिवेशन सुरु हुनेछ ।

‘हिउँ परेका जिल्ला मनाङ, मुस्ताङ र संखुवासभामा शुक्रबार अधिवेशन हुदैन’, सचिव अधिकारीले भने, ‘त्यसबाहेक प्रदेश २ का आठ मध्ये सात जिल्लाको पुस अन्तिम र माघ पहिलो साता हुने जानकारी आएको छ ।’ त्यस्तै अधिकारीले ८८ मध्ये ६४ जिल्लाको भोली नै अधिवेशन हुने र २४ जिल्लाको पछि हुने बताए ।

अधिकारीका अनुसार प्रदेश २ को पर्सामा पुस २७, बाराको २८, रौतहटको २९, सिराहाको २५ गते जिल्ला अधिवेशन तय भएको छ । नेकपा एमाले प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले नेताहरुको कार्यव्यवस्तताका कारण प्रदेशका केही जिल्लाको अधिवेशन पछि गर्ने सहमति भएको बताए ।

धनुषा, महोत्तरी र सर्लाहीको क्रमश माघ ३, ५ र ७ गते जिल्ला अधिवेशन हुने महासेठको भनाई छ । एमाले प्रदेश २ मा इन्चार्ज महासेठले पार्टी कमिटीमा एकलौटी गर्न खोजेको भन्दै पुर्व माओवादी समुह र एमालेकै पुराना नेता कार्यकर्तामा असन्तुष्टि छ ।

महासेठले आफु निकटकालाई पार्टी कमिटीमा जिम्मेवारी दिएको भन्दै असन्तुष्ट पक्षले उनलाई इन्चार्जबाट हटाउन अध्यक्ष केपी ओलीसमक्ष आग्रह नै गरेका थिए । असन्तुष्ट पक्षको यस्तो आग्रहपछि ओलीले सम्बन्धित नेताहरुलाई बोलाएर सोमबार र मंगलबार तुलसीलाल आमात्य प्रतिष्ठानमा छलफल गरेका थिए ।

एमालेको जिल्ला अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल रुपमा उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप