बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा सत्ता गठबन्धन नै बलियो, कुन उम्मेदवार कस्ता ?

बिहीबार, २२ पुस २०७८, १६ : ३६
बिहीबार, २२ पुस २०७८

राष्ट्रियसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचन अन्तर्गत प्रदेश २ मा दुई सीटका लागि पाँच प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धनले दुवै सीटका लागि साझा उम्मेदवारी दिएको छ भने नेकपा एमालेले पनि दुवै सीटमा उम्मेदवार खडा गरेको छ । यस्तै नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि एक सीटमा उम्मेदवारी दिएको छ ।

तुलनात्मक रुपमा सत्तारुढ गठबन्धन नै बलियो रहेको यो प्रदेशमा मुख्य प्रतिस्पर्धी एमाले हुने देखिन्छ । सत्तारुढ गठबन्धनका तर्फबाट जसपा नेपाल र नेकपा माओवादी केन्द्रले प्रदेश २ बाट उम्मेदवार खडा गरेका छन् । दलहरुले राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार बनाएका व्यक्तिहरुमा कोही पटक पटक निर्वाचन हारेका छन् भने कोही टेलर व्यवसाय गरेर बसेका पनि छन् ।

यी हुन् उम्मेदवार

विना साह

रौतहटको गरुडा नगरपालिका–४ की ४९ वर्षीय विना साहले नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा प्रदेश २ बाट उम्मेदवारी दिएकी छन् । उनी एमालेको गाउँ कमिटी, नगर कमिटी, क्षेत्रीय कमिटी हुँदै पार्टीको प्रदेश कमिटीसम्म पुगेकी हुन् ।

२०५५ सालदेखि एमालेमा सक्रिय भएर लागेकी उनी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्यमा तीन कार्यकाल काम गरेकी थिइन् भने पाँच वर्षसम्म जिल्ला सभापतिमा पनि काम गरेकी थिइन् । उनी भूमि आयोग सदस्यसमेत रहिन् । उनी हाल जिल्ला र प्रदेश पार्टी कमिटी सदस्य हुन् ।

एमालेमा उनलाई प्रतिवद्ध नेतृ मानिन्छ । २०७० मा भएको मधेस आन्दोलन ताका गरुडा नगरपालिकामा धेरैजसो नेता–कार्यकर्ताले एमाले पार्टी छाडिसकेका थिए तर विना साह र उनका श्रीमान अञ्जनी साह एमालेमै रहे । सो नगरपालिकामा उनीहरु दुई जनामात्र एमालेमा बाँकी थिए । उनीहरु निरन्तर एमाले पार्टीमा रहेर काम गर्दै आएको चर्चा अहिले पनि नगर क्षेत्रमा चल्ने गरेको छ ।

उनका ससुरा काशीप्रसाद साह ४० वर्षदेखि एमाले पार्टीमा लागेका हुन् । उनका श्रीमान अञ्जनी साह अहिले नगर कमिटीका अध्यक्ष हुन् । विनाले एसएलसीसम्म अध्ययन गरेकी छन् ।

मोहम्मद खालिद सिद्धिकी

मोहम्मद खालिद सिद्धिकीले जनता समाजवादी पार्टी नेपालको तर्फबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनी सिरहा नगरपालिका–५ रमौलका हुन् । जसपाका केन्द्रीय सदस्य रहेका सिद्धिकी मुस्लिम समुदायको हकहितका लागि काम गर्ने संस्था जमियत उलमाय नेपालका अध्यक्ष पनि हुन् ।

२०५९ देखि तत्कालीन मधेसी जनअधिकार फोरममा लागेका सिद्धिकीले जसपाका अध्यक्ष उपेन्द्र यादवको साथ कहिल्यै छाडेनन् । उनी २०६४ मा भएको फोरमको पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । त्यो बेलादेखि हालसम्म केन्द्रीय सदस्यमै छन् ।

हरेक चुनावमा उनलाई समानुपातिकतर्फबाट उम्मेदवार बनाउने गरिन्छ तर उनी कहिल्यै सांसद भएनन् । सत्तारुढ गठबन्धनको मजबुत पकड रहेको अवस्थामा उनलाई यसपटक राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाइएको छ ।

उनको राजनीतिक यात्रा काँग्रेसबाट सुरु भएको हो । काँग्रेसको केन्द्रीय अर्थ समिति सदस्यसमेत भइसकेका उनी २०५९ मा मधेस राजनीतिमा प्रवेश गरेका थिए । ५२ वर्षीय सिद्धिकी मधेसमा भएको हरेक आन्दोलनमा सक्रिय भएर लागेका थिए । उनले ‘इस्लामिक ल’ मा मास्टर्स गरेका छन् । 

उर्मिला अर्याल

उर्मिला अर्याललाई नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाइएको छ । पर्सा जिल्ला मसियानीकी अर्याल २०७० जेठ ४ मा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । २०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जकी स्ववियु अध्यक्षसमेत भएकी उनी २०५६ सालमा पर्सा क्षेत्र नम्बर ४ बाट चुनाव जितेकी थिइन् । त्यसअघि त्यहीबाट उनी पटकपटक चुनाव हारेकी थिइन् । हाल माओवादी केन्द्रको सदस्य रहेकी उनको राजनीतिक यात्रा नेकपा मसालबाट सुरु भएको थियो ।

२०७४ को प्रतिनिधिसभामा माओवादी केन्द्रको तर्फबाट चुनाव लडेकी उनी तत्कालीन राजपाका नेता लक्ष्मणलाल कर्णसँग पराजित भएकी थिइन् । २०६८ सालमा स्थानीय विकास मन्त्री भएकी उनी अन्तरिम सरकारको बेला २०६३ सालमा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री भएकी थिइन् ।

रुपाकुमारी यादव

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले महोत्तरी भङ्गहाका रुपाकुमारी यादवलाई राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । रुपा यादवको विद्यार्थी राजनीति काँग्रेसबाट सुरु भएको थियो । अरुणकुमार यादवसँग उनको बिहे भएपछि उनी झन् राजनीतिमा सक्रिय भइन् । उनका श्रीमान् अरुणकुमार यादव काँग्रेसका नेता थिए ।

२०६५ को संविधानसभा चुनावमा काँग्रेसले रुपा यादवको नाम समानुपातिक सदस्यमा राखेको थियो । तर उनी सभासद भने भइनन् । पहिलो संविधानसभा चुनावमै तमलोपाबाट चुनाव लड्न रुपालाई आग्रह गरिएको थियो तर उनले सक्रिय राजनीति नगर्ने भन्दै सो आग्रह अस्वीकार गरेकी थिइन् ।

चुनावपछि उनका श्रीमान् अरुणकुमार यादव तमलोपामा लागिसकेका थिए । तर पार्टीकै कामका लागि काठमाडौंबाट घर फर्किने बेला एउटा दुर्घटनामा अरुणको निधन भयो । पति निधन भएपछि पार्टीले रुपालाई सक्रिय बनाएको थियो । उनलाई पार्टीको केन्द्रीय सदस्य बनाएर दोस्रो संविधानसभामा महोत्तरी क्षेत्र नम्बर २ बाट चुनाव लडाएको थियो । तर उनी पराजित भइन् । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेकी थिइन्, तर फेरि पनि उनी पराजित नै भइन् । अहिले पार्टीले उनलाई राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाएको छ । उनी लोसपाका केन्द्रीय सदस्य पनि हुन् ।

उस्मान अन्सारी 

नेकपा एमालेले पर्सा, वीरगञ्जका ६१ वर्षीय उस्मान अन्सारीलाई राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाएको छ । २०४६ अघिदेखि एमालेमा लागेका उस्मान हाल सो पार्टीको प्रदेश २ का प्रदेश कमिटी सदस्य हुन् । २०४९ गाउँ इलाका कमिटी सचिव भएका उनी २०५१ मा पार्टीको जिल्ला सदस्य भएका थिए । २०५५ मा जिल्ला पार्टी कमिटी सचिवालय सदस्य हुँदै पार्टीको वीरगञ्ज महानगरपालिका अध्यक्ष भएका उस्मानले राजनीतिलाई सेवाको रुपमा लिएका छन् । उनको पेसा सिलाई कटाई हो । उनी वीरगञ्जमा टेलर खोलेर बसेका छन् । आफ्नो व्यवसायका साथसाथै उनी राजनीतिमा पनि सक्रिय छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप