डिजिटल साक्षरता र स्मार्ट जीवनशैली
इतिहासलाई फर्केर हेर्ने हो भने कुनै समय कुनैपनि मुद्रा अस्तित्वमा थिएन । केवल वस्तुसँग वस्तु साटेर भोगचलन गरिन्थ्यो । यसको केही समयपछि विस्तारै छाला, धातु तथा कागज लगायतका नोट अस्तित्वमा आए, जसले भौतिक बस्तु साटफेर गरेर कारोवार गर्दा हुने असहजतालाई समाधान गर्यो र हाल आएर कागजी नोट र सिक्का प्रचलनमा छन् ।
समय निकै परिवर्तन भएको छ । छाला र धातुका नोट विस्थापित हुँदै कागजी र सिक्काको प्रचलन आएर अहिले कागजरहित नगद कारोवार तथा डिजिटल बैकिङ्गको युगमा हामी रमाउन थालिसकेका छौं । ब्यक्तिहरु परनिर्भरताबाट आत्मनिर्भरतामा प्रवेश गर्ने क्रम बढ्दै गएको छ । समय क्रमसँगै वित्तीय साक्षरतासँगै डिजिटल साक्षरता पनि आवश्यक भइसकेको छ ।
वित्तीय साक्षरताको अर्थ आफ्नो वित्तीय श्रोतहरुलाई जीवनभर वित्तीय आरामका साथ बिताउन सक्ने गरी आफ्नो क्षमता, ज्ञान र सीपको प्रयोग गर्ने क्षमताको विकास गर्नु हो । अर्थात वित्तीय साक्षरता पैसा कमाउने र सदुपयोग गर्ने सम्बन्धी ज्ञान हो । यो कुनै विद्यालय, कलेजको औपचारिक शिक्षाले मात्रै प्रदान गर्दैन । यो आफ्नो परिवारका ज्येष्ठ सदस्य, छरछिमेक र अग्रज अनुभवी व्यक्तिहरुबाट प्राप्त गरिने ज्ञान समेत हो । यसको पहिलो जग भनेको आफ्नो आम्दानीको क्षेत्र तथा आफ्नो खर्चका क्षेत्रको पहिचान गर्ने हो । भावी वित्तीय लक्ष्य पहिल्याउने र उक्त लक्ष्य प्राप्त गर्न आफ्नो वित्तीय श्रोतको उचित व्यवस्थापनका आन्तरिक नियमको पालना गर्नु हो ।
वित्तीय शिक्षाले पैसालाई उचित ढंगले उपयोग गर्ने अवधारणासँग परिचित गराउँछ । यसले विवेकशील खर्च, नियमित बचत र आफ्नो साधन र श्रोतबाट अधिकतम लाभ लिन प्रेरित गर्दछ । यसले आयआर्जन, खर्च, व्यक्तिगत बजेट निर्माण, वचत र ऋण प्राप्ति तथा समयमा ऋण भुक्तानी नगर्दा के हुने जस्ता विषयमा आधारभूत सीप प्रदान गर्छ । अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य हासिल गर्ने योजना बनाउन, व्यक्तिगत बजेटको प्रयोग गरी बचत गर्ने क्षमता बढाउनेदेखि जोखिम व्यवस्थापन गर्ने रणनीति बनाउन सक्षम बनाउँछ । मूल रुपमा यसले अवकाशप्राप्त पछिको जीवनलाई सहज बनाउँछ ।
हाम्रो समाजमा अवकाश हुने भनेको जागीरदार मात्र हुन् भन्ने सोच छ । अवकाशको अर्थ प्रत्यक्ष पैसा आर्जनको निमित्त भौतिक रुपले उपस्थित हुन नसक्ने अवस्था हो । यो अवस्थामा व्यक्तिको जीवनयापन आरामसाथ बिताउन उमेर छँदै निश्चित प्रतिशतका दरले वचत गर्ने वानी बसाल्नुपर्छ । उक्त वचत आफ्नो क्षमता अनुकूलको क्षेत्रमा लगानी गरी आफ्नो निम्ति काममा लगाउन जान्नुपर्छ । उर्जाशील समयमा पैसा सदुपयोग गर्न सकेमा अवकाशप्राप्त समयमा उक्त पैसाले हाम्रो लागि काम गर्न सुरु गर्दछ । र, यसले बुढेसकालमा आफ्नो सन्तानमा भरोसा गर्नुपर्ने अवस्था नरही वित्तीय रुपमा स्वावलम्वी बनाउँछ ।
नेपालमा वित्तीय साक्षरताको अवस्था करीव १८ प्रतिशत मात्रै छ । तर बैकिङ पहुँचको अवस्था झण्डै ६१ प्रतिशत पुग्न थालेको छ । खाता खोल्नुपर्छ भन्ने थाहा भयो, त्यो बैकिङ पहुँचमात्रै हो । एउटा व्यक्तिले बैंक तथा वित्तीय संस्थापिच्छे खाता खोल्न पाउने व्यवस्था छ । पछिल्लो समय आम नागरिकलाई बैकिङ पहुँच बढाउन ‘बैंकसंगको नाताः हरेक नेपालीको बैंक खाता’ भन्ने नेपाल राष्ट्र बैंकको अभियान छ । त्यस्तै, रेमिट्यान्सको भुक्तानी बैंक खातामार्फत् हुने व्यवस्थाले पनि बैंक खाता संख्यामा बृद्धि भएको पाईन्छ ।
अझै पनि पैसा हुन्डीमार्फत् नेपाल भित्रिने गरेको छ । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान छ । व्यापार घाटा बढ्दै जाँदा रेमिट्यान्सले नै अर्थतन्त्र धानेको छ । रेमिट्यान्समा औपचारिक माध्यमबाट पठाएको रकम मात्र गणना हुन्छ । कुनै निजी व्यापारी, एजेण्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सीमार्फत् पैसा पठाउने कार्यलाई हुन्डी भनिन्छ । यो अनौपचारिक माध्यम हो । यो रकम रेमिट्यान्समा गणना हुँदैन । यसरी पठाएको पैसा असुरक्षित हुन्छ र गैरकानुनी मानी यस्तो कार्य गर्नेलाई कानुनबमोजिम सजाय पनि हुन्छ । विदेशमा दुःख गरेर कमाएको पैसा अनावश्यक, अनुत्पादक क्षेत्र र विलासिताको बस्तुमा खर्च गर्नु हुँदैन । उत्पादनशील क्षेत्र तथा जोखिम कम भएका क्षेत्र र व्यवसायको छनोट गरी विदेशमा सिकेको सीप र अनुभवकै क्षेत्रमा लगानी गर्दा प्रतिफल सुनिश्चत हुन्छ । रेमिट्यान्समार्फत् स्वदेश आउने पैसामा बैंक तथा वित्तीय संस्थाले बढी व्याजसमेत दिने गरेका हुन्छन् ।
अझै पनि अधिकांश मानिस बैंकिङ विषयमा कम जानकार छन् । बैंक तथा वित्तीय संस्थाको बृद्धिसंगै डिजिटल नोटको समेत प्रयोग विश्व परिवेशमा भईरहँदा नेपालमा अझै पनि चेक लेख्ने खिच्ने, भौचरको प्रक्रिया जारी छ । एटीएम प्रविधिजस्ता वित्तीय कारोवारको प्रक्रियामै समेत धक मान्ने हिस्सा ठूलै छ भने अनलाइन कारोवार, मोबाइल, वालेट र शाखारहित बैंकिङ कारोवार त झन सपनाजस्तै छ ।
सूचना तथा सञ्चार प्रविधि प्रयोग गरी कुनै पनि सूचना प्राप्त गर्ने, मूल्याङ्कन गर्ने, सिर्जना गर्ने र सञ्चार गर्ने क्षमतालाई डिजिटल साक्षरता भनिन्छ । अहिले बैंकिङ क्षेत्रमा आर्थिक कारोवारलाई डिजिटल माध्यमबाट सरलीकृत गर्ने काम भइरहेका छन् ।
प्रविधिको प्रयोगले हाम्रो परम्परागत जीवनशैली अव स्मार्ट जीवनशैली बन्दैछ । अहिले हाम्रो जीवनशैलीमा डिजिटल बैंकिङ जोडिएको छ । हामी विद्युत्तीय प्रविधिको माध्यमबाट नगदरहित कारोवार अर्थात् डिजिटल बैंकिङमा रमाईरहेका छौं । आइपिएस, कनेक्ट आइपिएस, डेविट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, किसान कार्ड, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ, शाखारहित बंैकिङ, वालेट, फोन पे, पीओएस तथा क्यूआरमा आधारित कारोवार धेरैको रोजाई भएको छ । यसले परम्परागत तरिकाको नगद तथा चेकमार्फत हुने कारोवार गर्दा व्यहोर्नुपर्ने झन्झटबाट मुक्त गरेको छ ।
अहिले त बैंकमा खाता खोल्न, रकम ट्रान्सफर गर्न तथा कर्जा माग गर्न समेत बैँकसम्म धाउनु पर्दैन । विभिन्न बिल भुक्तानी मोबाइलको प्रयोग गरी तथा कार्डबाट सजिलै गर्न सकिन्छ । डिजिटल बैंकिङको प्रयोगले खर्चमा कटौती, सरल, सहज र छिटो सेवाप्रवाह, जुनसुकै समय र स्थानबाट कारोवार गर्न सकिन्छ । यसले उत्पादकत्व बृद्धि, समयको बचत, कागजी नोट छपाइमा लाग्ने खर्च कटौती, पैसाको सुरक्षा साथै स्मार्ट जीवनशैली बनाउन ठूलो भूमिका खेलेको छ ।
प्रविधिले बैंकिङ क्षेत्रको कारोबारसमेत मितव्ययी र पारदर्शी बनाई अनौपचारिक र अवैध कारोवारलाई निरुत्साहित गरेको छ । राजस्व चुहावट कम गरी राज्यलाई फाइदा पुर्याई रहेको छ । तर डिजिटल बंैकिङ प्रयोग गर्दा आफ्नो पासवर्ड र पीनकोर्ड गोप्य राख्ने, समय समयमा परिवर्तन गर्ने गर्नुपर्छ । सार्वजनिक स्थलमा उपलव्ध निःशुल्क वाईफाई सकेसम्म प्रयोग नगर्ने र कुनै पनि कारोवारको तत्काल सूचना पाउन मोवाईल अलर्टको सुविधा पनि लिनुपर्छ ।
कहिलेकाहीँ चिट्ठा वा उपहार परेको भनी प्रलोभनमा पारी बैंकसँग सम्बन्धित आफ्नो व्यक्तिगत विवरण जस्तै पिन नम्वर, खाता नम्वर, कार्ड नम्बर, जन्ममिति, नागरिकता नम्बर मागेर ठगी गर्न सक्छन् । यी विवरण दिनु हुँदैन । त्यस्तै आफ्नो नामको सिमकार्ड हराएमा सो नम्वर बन्द गर्न लगाई तुरुन्त बैंकमा जानकारी गराउनु पर्दछ । आफ्नो बैंक खाता सम्बन्धमा कुनै पनि शंका लागेमा बैंक शाखामा गई जानकारी गराउने र जानकारी लिने गर्नुपर्छ ।
विश्व परिवेश हेर्दा बंैकिङ पहुँचको नभई डिजिटल बंैकिङ पहुँचको विषय उठान गर्नुपर्ने भइसकेको छ । तर नेपालमा भने अहिले पनि ग्रामीण भेगमा बसोबास गर्ने जनसंख्याले बाणिज्य बैंकसम्म पुग्न औसत १३५ मिनेट समय खर्च गर्नुपरेको तथ्याङ्क नेपाल राष्ट्र बैंकले नै सार्वजनिक गरेको छ । उता बेलायतमा विभिन्न ग्रामीण क्षेत्र भनिने ४ हजारदेखि १५ हजार जनसंख्या रहेको स्थानमा एटीएम बुथ नहुँदा बंैकिङ कारोवार गर्न समय लागेको विषय चुनावी मुद्धा नै बन्यो । त्यहाँ कानुन बनाएर एटीएम डेजर्ट समस्यालाई निराकरण गर्न २०१९ को चुनावअघि कन्जुमर एजेण्डा प्रकाशित भएको थियो । नेपालमा भने चुनावी नारामा वित्तीय सेवा सहज बनाउने जस्ता एजेण्डा परेको हामीले सुनिसकेका छैनौं ।
नेपालका राजनीतिक पार्टीहरुले समेत वित्तीय साक्षरता र शिक्षा विषयका एजेन्डालाई प्राथमिकता दिएका छैनन् । उता बैंक तथा वित्तीय संस्थाले चाहेर पनि त्यो भूमिका निर्वाह गर्न सकेनन् । फलस्वरुप डिजिटल बैंकिङको पहुँचका विषय अझै पनि ओझेलमा छ । अबका दिनमा अर्थतन्त्रको मेरुदण्ड वित्तीय क्षेत्रलाई हरेक तह र तप्काबाट प्राथमिकतामा पारिनु जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित