बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यी पाँच वस्तुको निर्यात सम्भावना उच्च

बिहीबार, २२ पुस २०७८, १३ : ४३
बिहीबार, २२ पुस २०७८

नेपाल उद्योग परिसंघले नेपालबाट पाँच प्रकारका औद्योगिक उत्पादनमा उच्च निर्यातको सम्भावना औंल्याएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दैै परिसंघले नेपाल आत्मनिर्भर बन्न सक्ने र निर्यात सम्भावना बोकेका क्षेत्र औंल्याएको हो ।

परिसंघले निर्यातको उच्च सम्भावना बोकेको क्षेत्र फुटवेयर भएको बताएको छ । यो क्षेत्रमा नेपाल आत्मनिर्भर बनेर निर्यातको सम्भावना समेत रहेको परिसंघको प्रतिवेदनमा उल्लेख छ । नेपालका फुटवेयर उद्योगहरुले वार्षिकरुपमा ५६ लाख जोर जुत्ता उत्पादनको क्षमता राख्छन् ।

यसपछि गार्मेन्ट र टेक्सटायल क्षेत्रबाट समेत निर्यातको उच्च सम्भावना छ । नेपालमा कुल १९ सय ३२ वटा टेक्सटाइल र गार्मेन्ट उद्योग छन् । यी उद्योगहरुमा करिब डेढ लाखले रोजगारी पाएका छन् । यी उद्योगबाट नेपालको माग धानेर निर्यातको समेत सम्भावना रहेको हो ।

यस्तै, फर्मासिटिकल्स क्षेत्रबाट समेत निर्यातको सम्भावना देखिएको छ । विश्व बजारमा फर्मासिटिकल्सको उच्च माग रहेको छ । नेपालमा नेपालमा वार्षिक रुपमा ५३ अर्ब रुपैयाँको फर्मासिटिकल्स खपत हुँदै आएको छ । जसको ५० प्रतिशत माग नेपाली उद्योगले नै धान्दै आएका छन् ।

यसैगरी,प्लास्टिकजन्य उद्योगबाट समेत उच्च निर्यात सम्भावना देखिएको छ । देशभर ४०० वटा प्लास्टिक उद्योग रहेका र ती उद्योगमा ५० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । प्लास्टिकजन्य उद्योगको उत्पादन समेत विश्व बजारमा उच्च माग रहेको छ ।

यस्तै, परिसंघले नेपालमा उत्पादन हुने ट्रान्सफमर्सको निर्यात सम्भावना समेत उच्च रहेको उल्लेख गरेको छ । परिसंघले विश्व बजारमा ट्रान्सफर्मरको उच्च माग रहेकाले र नेपालमा उत्पादन सम्भावना प्रशस्त रहेको देखाएको छ । हाल नेपालमा पाँच वटा उद्योगले ट्रान्सफर्मर उत्पादन गर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप