बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका ६ उम्मेदवार, को कस्ता ?

बिहीबार, २२ पुस २०७८, ११ : ५२
बिहीबार, २२ पुस २०७८

 आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमाले र सत्तारुढ गठबन्धन दलबाट ६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । लुम्बिनी प्रदेशमा रिक्त हुने तीन सीटका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच प्रतिस्पर्धा हुने भएको हो ।

सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादी पार्टीले पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाले रुपन्देहीका तुलप्रसाद विश्वकर्मालाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल र गुल्मीका कृष्णबहादुर सुनारलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट रिक्त रहेका महिला, दलित र अन्य समुदायका गरी तीन जनाका लागि निर्वाचन हुँदैछ । जसमा लुम्बिनी प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २९३ जनप्रतिनिधिले मतदान गर्नेछन् ।

१. युवराज शर्मा

शेरबहादुर देउवा नेविसंघको सभापति हुँदा युवराज शर्मा उपसभापति थिए । उनी बाँके जिल्लाको हाल नेपालगञ्ज नगरपालिका वार्ड नम्बर २ मा २००७ साल चैत १२ गते जन्मेका हुन् । शर्मा २०२४ सालमा पञ्चायतको विरोध गर्दा पहिलोपटक  जेल परेका थिए । त्यसपछि पटक पटक जेल परेका छन् । ‘दर्जनौँ पटक जेल परेको छु, त्यो बेला राजनीति नै त्यस्तै थियो,’ उनले भने ।

उनी २०३० सालमा भूमिगत रुपमा पार्टीको जिल्ला सचिवसमेत बनेका थिए भने नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो महाधिवेशनमा उनी उपसभापति चयन भए । उनी शिक्षकसमेत हुन् । वेतहनी विद्यालय, खजुरा आदर्श मावि हुँदै महेन्द्र माविमा पनि उनले पढाए । २०४६ सालमा बाँकेबाट जनआन्दोलनको नेतृत्व नै शर्माले गरेका थिए । त्यसपछि उनी शिक्षण पेसा छाडेर राजनीतिमा पूर्ण रुपले होमिए । बाँकेको सभापति हँुदै अहिले नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिका रुपमा रहेकै बेला उनलाई पार्टीले राष्ट्रियसभाको उम्मेद्वार बनाएको हो ।

२. तुलप्रसाद विश्वकर्मा

सत्तारुढ गठबन्धन अन्तर्गत राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका विश्वकर्मा ३५ सालदेखि पार्टीको होलटाइमर कार्यकर्ता हुन् । जनमोर्चा निकट रक्तिम सांस्कृतिक अभियानका कलाकारदेखि हाँक पत्रिकामा एक वर्ष पत्रकारिता गरेको अनुभवसमेत उनीसँग छ ।

विश्वकर्माको जन्म बाग्लुङ्गमा २०१५ सालमा भएको हो । बाग्लुङ्गको गलकोट जन्मेका विश्वकर्माको अध्ययन गलकोट माविमा भयो । पीएन क्याम्पस पोखरामा आईएसम्म पढेपछि केही वर्ष शिक्षण पेसामा समेत उनी लागेका थिए । उनले २०३१ सालदेखि सितलपाटीमा प्रधानाध्यापक भएर काम गरेका थिए ।

त्यसपछि भेडीखर्क प्राविमा काम गरे । उनले पार्टीको होलटाइमर कार्यकर्ता नबन्दासम्म २०३५ सालसम्म पढाएका थिए । होलटाइमर बनेपछि पार्टी केन्द्रीय कार्यालयले भारतमा संगठन निर्माणका लागि उनललाई खटाएको थियो । सुरुमा भारतको मद्रासमा नेपालीहरुको संगठन एकता समाजमा तीन वर्ष काम गरेपछि उनलाई पार्टीले सरुवा गरेर दिल्ली र पञ्जाबमा पनि पु¥यायो । त्यही बीचमा पार्टीको युवा मोेर्चा अखिल भारत नेपाली वामपन्थी युवक मोर्चा बन्यो, जसको महासचिव बनेर उनले काम गरे ।

केही वर्षपछि नेपाल आएर उनी पार्टी प्रतिबन्धित  अवस्थामै साँस्कृतिक मोर्चाको संयोजक बने, जसको सदस्यमा जीवन शर्मा र मणि थापा थिए । उनी कलाकार पनि हुन् । रक्तिम सांस्कृृतिक भाग १ देखि ३ सम्म उनका गीत छन् ।

पार्टीले उनलाई उपनाम राजेश विक दिएको छ । उनले जोही नामबाट गीत गाएका छन् । नागरिकतामा उनको नाम तुलप्रसाद विश्वकर्मा नै छ । सांस्कृतिक मोर्चा हुँदै पार्टीको दलित मोर्चा गठन गर्नका लागि भारतको लखउनमा पुगेको टोलीले उनलाई नै संयोजक तोक्यो । उक्त मोर्चाको उनी हाल अध्यक्ष नै छन् । बीचमा केही अन्य अध्यक्ष भए पनि फेरि उनलाई नै अध्यक्ष बनाइएको हो । पार्टीको उनी केन्द्रीय सदस्य पनि हुन् ।

३. राजेन्द्रलक्ष्मी गैरे

सत्तारुढ गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वार बनेकी राजेन्द्रलक्ष्मी गैरे पाल्पा जिल्लाको रामपुरमा जन्मेकी हुन् । २०२४ सालमा जन्मेकी गैरे २०३६ सालदेखि नै राजनीतिमा सक्रिय भएकी हुन् । त्यो बेला रामतुल्सी मावि रामपुरमा अध्ययन गर्दै गर्दा बहुदल र निर्दलको राजनीतिक संघर्ष थियो । त्यस क्रममा गैरे बहुदलको पक्ष लागिन् । फेरि ३७ सालमा विद्यार्थी हत्याकाण्ड र झापा कान्डले उनलाई राजनीतिप्रति झ्न गहिरोसँग लाग्न प्रेरित ग¥यो । उनी ३९ सालमा अनेरास्ववियुको जिल्ला सदस्य बनिन्, त्यसपछि निरन्तर पार्टीमै छिन् । अविवाहित गैरेसँग पाल्पा जिल्ला कमिटी सदस्य ४ पटक र जिल्लाको लेखा आयोगको अध्यक्ष भएर काम गरेको अनुभव छ ।

उनी नेकपा एमाले नवौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी थिइन् । उनी झिनो मतान्तरले पराजित भइन् भने महिला संगठनको केन्द्रीय सदस्य बनेर काम गरिन् ।

यही बीच तत्काल एमालेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनी विरोधमा उत्रिएकी थिइन् । एमालेभित्रको शक्ति संघर्षको परिणमस्वरुप दल विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि उनी नवगठित दलमा सामेल भइन् । अहिले उनी सोही दलबाट उम्मेदवार बनेकी हुन् । उनी नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्जको भूमिकामा छिन् । उनी पार्टीको केन्द्रीय सदस्य पनि हुन् ।

४. रामदयाल गुप्ता

दाङका पुराना व्यवसायी रामदयाल गुप्तालाई एमालेले उम्मेदवार बनाएको छ । उनी पार्टीका इमानदार पुराना कार्यकर्ता हुन् । २०१० सालमा जन्मिएका उनले २०३५ सालदेखि दाङमा व्यावसायिक यात्रा सुरु गरेका थिए । व्यापार व्यवसाय गर्ने क्रममा एमालेको सामान्य समर्थक रहेका गुप्ताले २०४५ सालदेखि व्यवसायसँगै राजनीति नै सुरु गरे । उद्योगी व्यवसायीको साझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, उपाध्यक्ष र तीन कार्यकाल अध्यक्ष भएर काम गरे ।

उनी सामाजिक क्षेत्रमा पनि त्यत्तिकै क्रियाशील छन् ।  उनले एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी पाएका छन् ।

५. भारती खनाल उपाध्याय

एमालेबाट राष्ट्रिय सभामा उम्मेद्वार बनेकी बाँकेकी भारती खनाल उपाध्यायको जन्म तनहुँ जिल्लाको भानुभक्त नगरपालिकामा २०१० सालमा भएको हो । तनहुँ जिल्लाकै विष्णुहरि खनालसँग उनको विवाहपछि उनको परिवार तनहुँबाट कोहलपुर आएको हो ।

खनाल २०३७ सालदेखि नै कम्युनिस्ट राजनीतिमा सक्रिय थिइन् । ४६ सालको आन्दोलनमा पनि निकै सक्रिय भएर लागेकी उनी एमालेको कोलहपुरको ईलाका कमिटी सदस्य, जिल्ला कमिटी सदस्य हँुदै प्रदेश सदस्य बनेकी छन् भने पार्टी निकट अखिल नेपाल महिला संगठनको केन्द्रीय सदस्य हुन् । उनले महिलालाई आयआर्जनसँगै राजनीतिमा सक्रिय बनाउनु पर्ने आफ्नै मूल मान्यताले आफूले पनि विभिन्न तालिम सञ्चालन गरेको बताइन् । 

६. कृष्ण सुनार

गुल्मीको साबिक अर्खले गाविस वडा नम्बर ५ बालकाटे जन्मस्थान रहेका कृष्ण सुनार हाल रेसुङ्गा नगरपालिका– ६  मा बस्ने गरेका छन् । २०२२ सालमा जन्मिएका सुनार २०३९ सालदेखि तत्कालीन नेकपा मालेमा रहेर भूमिगत राजनीतिक जीवन सुरु गरे । वडा कमिटी सदस्य, गाउँ कमिटी सदस्य, ईलाका कमिटी सदस्यसमेत बनेका उनी २०४९ सालमा उत्पीडित जातीय मुक्ति समाजको जिल्ला कमिटी सदस्य र सोही संगठनको २०५६ सालमा जिल्ला कमिटी उपाध्यक्षसमेत बने ।

२०६२ सालमा साविक लुम्बिनी अञ्चल कमिटी सचिवालय सदस्य बनेका उनी २०५४ सालको चुनावमा साविक अर्खले गाविस–५ को निर्वाचित वडाध्यक्षसमेत बने ।

२०६८ सालमा मुक्ति समाजको केन्द्रीय सदस्य हँुदै मुक्ति समाजको केन्द्रीय सचिवालय सदस्य र लुम्बिनी प्रदेश कमिटी सह इन्चार्ज बनेर पनि उनले  काम गरे । २१ वर्ष अघि नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुँदै नेकपा एकता हुँदा पार्टीको जिल्ला कार्यालय सदस्य बनेका उनी हाल सचिवालय सदस्य र आर्थिक विभाग प्रमुखसमेत छन् ।

उनी गुल्मीमा दलित आन्दोलनका अग्रज र खरो नेता मानिन्छन् । जातीय विभेद र छुवाछुत मुक्त समाज निर्माणमा उनले सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप