मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ह्यारी भण्डारीलाई मेरिल्याण्डकी सभामुखको समर्थन, नेपालीहरू थप उत्साहित

बिहीबार, २२ पुस २०७८, १० : ४७
बिहीबार, २२ पुस २०७८

अमेरिकामा नेपाली समुदायबाट निर्वाचित एक मात्र हाउस अफ रिप्रेजेन्टेन्टिभ्स डा. ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीको मेरिल्याण्ड राज्यकी सभामुख एड्रिन जोन्सले समर्थन गरेकी छिन् । बुधबार साँझ आयोजित भर्चुअल जुम मिटिङलाई सम्बोधन गर्दै उनले आफ्नो समर्थन जनाएकी हुन् । बैठकमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले भनिन्, ‘डा. ह्यारी भण्डारी मेरिल्याण्ड हाउसको एक प्रभावशाली डेलिगेट हुनुहुन्छ । उहाँले आफ्नो समुदायलाई धेरै दिन सक्नुहुन्छ । उनले पहिलो कार्यकालमा निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको छ । म उहाँलाई अर्को कार्यकालका लागि पनि हाउसमा देख्न चाहन्छु। ‘

भर्चुअल बैठकमा डेलिगेट डा. ह्यारी भण्डारीले आफ्नो पहिलो कार्यकालमै १० वटा विधेयक पास गराएको बताउँदै आफूले दशैं विधेयक प्रस्तुत गरे पनि पास गर्न नसकिएको कुरा राखे । उनले आउने संसद सत्रमा त्यसलाई पुन; प्रस्तुत गरेर पास गराउन अधिकतम प्रयास गर्ने प्रतिवद्धता जनाए।

उनले बाल्टिमोरमा दीपावली विदा लागू गराएको, कोभिड महामारीको बेला १६०० नेपालीलाई बेरोजगार भत्ता दिलाउन पहल गरेको, सामुदायिक केन्द्रहरूका लागि लाखौ बजेट विनियोजन गराएको, नेपाली विद्यार्थीहरूलाई राज्य प्रतिनिधि छात्रवृत्ति प्रदान गराएको, मेरिल्याण्ड डीएमभीमा नेपाली भाषालाई मान्यता प्रदान गराउन पहलकदमी लिएको लगायतका कामहरूको लामो फेहरिस्त प्रस्तुत गरे । नेपाल र नेपालीका लागि आफूले पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँदै  डेलिगेट डा. भण्डारीले भने, ‘मैले मातृभूमि नेपालमा कोभिड-१९को १५ लाख खोप र अन्य सामग्री पठाउन भूमिका निर्वाह गरेँ, अमेरिकी नेपाली डायस्पोरामा २५ भन्दा बढी शव व्यवस्थापन गरेर दु:खमा साथ दिएँ।‘

कार्यक्रम आयोजक संस्था फ्रेण्डस् अफ ह्यारी भण्डारीका तर्फबाट प्राध्यापक डा. उत्तम गौलीले प्रमुख अतिथि सभामुख जोन्ससँग मोर्गन विश्वविद्यालयको एक प्राध्यापकका रूपमा सहकार्य गरेका क्षणहरूको स्मरण गर्दै डा. भण्डारीलाई दिएको साथ र समर्थनका लागि धन्यवाद दिए । डा. ह्यारी भण्डारी अमेरिकाको नेपाली समुदायको हिरो भएको बताउँदै डा. गौलीले भने, ‘यो उम्मेद्वारी अमेरिकामा रहेको नेपाली सुमदायको हो, त्यसका लागि हामीले ह्यारीलाई उभ्याएका मात्र हौं, यो जित् पनि हाम्रो हुनेछ, कथम्कदाचित हामी चुक्यौ र हार्यौ भने त्यो हार पनि हाम्रो हुनेछ ।‘

कार्यक्रममा नेपाली फर बाइडनका सहसंयोजक रामेश्वर भण्डारी, श्रष्टा सर्जक पदम विश्वकर्मा, सामाजिक अभियन्ता मुकेश प्रसाईं, कविन सिटौला, प्रदीप क्षेत्रीलगायतका वक्ताहरूले डा. ह्यारी भण्डारीको उम्मेदवारीको समर्थन गर्दै आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । 

फण्ड राइजिङ इभेन्टमा अमेरिकाको विभिन्न राज्यका मनकारी नेपालीहरूको उल्लेख्य सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप