शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश : प्रदेशसभाभित्रै ‘बाईपास’को शिकार बनेकी सोशिला..!

प्रदेशसभामा पाँच पटक सीट बदलियो, १८ महिनासम्म संसदीय दलको कार्यालय पाइनन्
बिहीबार, २२ पुस २०७८, १० : २६
बिहीबार, २२ पुस २०७८

‘म त भगवानसँग विश्वास राख्ने मान्छे हो । दुई पटक कालको मुखबाट बाँचेको मान्छे हो । सानै छँदा मेरो दुईवटै आँखा बन्द भयो । बुबाले त यो बाँच्दिन भन्नुहुन्थ्यो तर राति मेरो होस आयो रे ..! मेरो जिन्दगीनै त्यस्तै संयोगको पेरिफेरीमा रह्यो । त्यसैले मैले भगवानसँग आस्था राख्ने गरेकी छु,’ कर्णाली प्रदेशसभा सदस्य सोशिला शाहीका शब्द हुन् यी ।

मंगलबार दिउँसो २ बजे वीरेन्द्रनगरको गणेशचोक नजिकै आफू बस्दै आएको घरमा रातोपाटीसँग उनले आफ्ना भोगाइ, अनुभव र गुनासो सुनाइन् ।

राजनीतिक परिवेश, कर्णाली प्रदेश सरकार र उनको भूमिकाको विषयमा उनीसँग लामो कुराकानी भयो । उनले भनिन्, ‘मैले अहिलेसम्म मिडियासँग खासै बोलेकी छैन । कतै हजुरहरुले बिगारिदिनु हुने पो हो कि ?’

सुरुमा खुलेर बोल्न नचाहेकी उनी कुराकानी अघि बढ्दै गएपछि अकमकाउँदै बोल्न थालिन् । कालिकोटको रुपसा भन्ने दुर्गम बस्तीमा २०२६ सालमा सामान्य क्षेत्री परिवारमा जन्मिएकी सोशिला कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी एक्ली सांसद हुन् । तर उनी संसदमा प्रष्ट बोल्न नसके पनि सत्य कुरालाई निर्भिकतापूर्वक राख्ने गर्छिन् ।

रातोपाटीसँगको कुराकानीका क्रममा उनले आफ्नोबारे यसरी सुनाइन्–

मेरो विवाह १३ वर्षकै उमेरमा रासकोटको विजयपुरका शहदेव शाहीसँग भयो । मलाई विवाह भन्ने कुरा के हो भन्ने पनि थाहा थिएन । बाबाले दिनुभएकाले मान्नुपर्ने थियो । दिदी (शहदेवकी पहिलो श्रीमती)ले मलाई माग्नुभएको रे । उहाँको कोखबाट छोरा नजन्मिएपछि छोरा हुन्छ भनेर मलाई माग्नुभएको थियो ।

पछि उहाँकै कोखबाट छोराको जन्म भयो । उहाँकै कोखबाट जन्मिएका एउटा छोरा र दुईवटा छोरी छन् । त्यतिखेर मान्छेको सोच नै त्यही थियो । हामी दुई बहिनीलाई कोही सौता भनेर भन्दैनथे । किनकि हामी मिलेर बस्थ्यौं । छोरालाई मैले नै २ वर्षको उमेरदेखि हुर्काएँ । बाबु अहिले सँगै छ । पढाउने लेखाउनेदेखि सबै मेरै हातबाट भयो । दिदी बितेको झण्डै ७ वर्षजति भयो । मेरै कोखबाट बच्चा नभए पनि मेरा तीन छोरा–छोरी छन् भनेर भन्छु ।

मेरो जन्मघरमा पनि अन्य भाइबहिनी कोही भएनन् । म बाबु–आमाकी एक्ली छोरी थिएँ । जिन्दगी भनेको समयको खेल र भावीको लेखान्त रहेछ । कक्षा ८ सम्म पढेँ । विवाहपछि घरायसी कामले पढाइ छाडेँ । मैले सबै काम सिकेको भनेकै कर्मघर (बिहे भएको घर) मा हो ।

त्यसपछि उनीसँग केही सवाल–जवाफ भयो

अनि, सांसद हुनुअघि के गर्नुहुन्थ्यो नि ?

सुरुमा मैले सानोतिनो होटेल व्यवसाय गर्थेँ । त्यसपछि मान्मामा फेन्सी पसल थियो, अहिले छैन । विशेषगरी सिलाई–कटाईको काम गरेँ । आफैले सिकेर अन्य ७÷८ जनालाई सिकाउँदै गरेँ । उनीहरु पनि सक्षम भए । पछि मैले घरेलुमा गएर आफूलाई टिचर (प्रशिक्षक) राख्न प्रस्ताव राखेँ । त्यहाँ ‘लेवल टु, लेवल वान’ गरेको छ ? भनेर सोधे । त्यो त मलाई थाहै थिएन । त्यसपछि काठमाडौं गएँ । एउटा दिदीको सहयोगमा परीक्षा दिएँ । लेवल टुको परीक्षा दिँदा त ७ हजार चाहिनेमा ४५ हजारले दर्खास्त दिएका थिए । तर पिछडिएको क्षेत्रबाट भएकाले पनि मेरो नाम निस्किएछ । पछि म घरेलुमा सिलाई–कटाई सम्बन्धी प्रशिक्षक भएर लगातार काम गरेँ । त्यसपछि मात्र प्रदेशसभा सांसद भएँ ।

राजनीतिक यात्राचाहिँ कसरी र कहिलेदेखि सुरु गर्नुभयो ?

मेरो राजनीतिक यात्राको श्रेय भनेकै मेरो श्रीमान हो । उहाँ पहिलादेखि नै राप्रपामा हुनुहुन्थ्यो । ०४७ सालदेखिनै राप्रपामै लागे पनि सक्रिय चाहिँ भइएन । यो पार्टीमा मेरो श्रीमानको पहिलादेखि नै धेरै–थोर लगानी थियो । सुरुमा वडा तहबाटै छनोट हुँदै जिल्ला कमिटीमा सदस्य हुँदै आइयो । त्यो बीचमा रेडक्रस लगायतका विभिन्न संघसंस्थामा पनि रहँदै आएँ । एक पटक त उद्योग वाणिज्य संघको सदस्य पनि भएँ । त्यति ठुला पदमा नभए पनि सदस्यमा बस्दै आएँ । तर मेरो राजनीतिमा इच्छा चाहिँ थिएन ।

के गर्ने इच्छा थियो ?

मेरो इच्छा फोर्स (आर्मी, प्रहरी) मा जागिर खाने थियो । फोर्स भएर जनतालाई न्याय दिनुपर्छ भन्नेचाहिँ थियो ।

आर्मी प्रहरीमा जाने रुची हुनुको खास कारण ?

द्वन्द्वकालमा निमुखा, गरिब जनालाई कुटपिट गरेको देख्दा निकै दुःख लाग्थ्यो । तिनीहरुलाई छानबिन नगरेरै किन छाड्छ होला भन्ने फिल हुन्थ्यो । तर हुँदा–हुँदा ठ्याक्क राजनीतिमा आइयो ।

प्रदेशसभा सदस्यका लागि राप्रपाका ठुल्ठुला नेताहरु पनि मैदानमा थिए, सामान्य अवस्थामा रहेको तपाइँले कसरी यो मौका पाउनुभयो ?

यो पार्टीमा मेरो परिवारको लगानी, योगदान सम्झेर दिएको पो हो कि ! मेरो श्रीमान अहिलेसम्म पार्टीको कुनै पोष्टमा पनि हुनुहुन्न । आफू कुनै जिम्मेवारीमा नभए पनि उहाँले मलाई सहयोग गर्नुहुन्छ । अगाडि आफ्नो मान्छे भएर तान्ने चलन थियो, तर मेरो हकमा त्यो पनि थिएन । मलाई पनि समानुपातिकमा पर्छु भन्ने कत्ति पनि विश्वास थिएन । म खसआर्यबाट बन्दसूचीमा परेकी थिएँ । जनजातिहरुबाट पनि कोही भए छानिन्थे होला । संयोगले म सांसद भएको हो ।

प्रदेशसभा आफैमा नयाँ संरचना थियो, तपाईंका लागि पनि प्रदेशसभा नौलो नै थियो । प्रदेशसभाको पहिलो बैठकमा जाँदै गर्दा कस्तो अनुभव गर्नुभयो ? त्यहाँ गएर के गर्ने भन्ने डर त लागेन ?

मलाई डर त लागेन । गल्ती गरेपछि डर लाग्ने न हो । सबै कुरामा मान्छे ‘पर्फेक्ट’ हुन्छ भन्ने हुँदैन । सबैका केही न केही कमी कमजोरी हुन्छन् । प्रदेशसभा बैठक बसेपछि मैले आजसम्म त्यहाँको एक कप चिया पनि खाएको छैन । सानो दल भनेर हेपाइ त हुँदो रहेछ । मैले उहाँहरुलाई सुरुमै पनि भनेकी थिएँ– तपाइँहरु अहमता नदेखाउनुस् भनेर । अहिले त्यस्तै परिणाम देखिएको छ । मैले गरेका कुराहरु सही, सत्य नै थिए र ती कुरा लागु हुन् भनेर बोल्थेँ ।

प्रदेसभामा दुईतीन पटक त पढ्नै नजान्ने पनि कसरी सांसद भइ भनेर कमेन्ट आयो । मलाई चाहिँ दुःख लाग्यो । अहिलेसम्म त्यो ठाउँमा गएका पढेलेखेका मान्छेले त भ्रष्टाचार रोक्न सकेको छैन नि ! कम्तीमा बोल्न, पढ्नै नजाने पनि सही, सत्य बोल्ने हामीजस्ता मान्छेले सपोर्ट पाउने हो भने बरु भ्रष्टाचार रोक्न सकिन्छ ।

तपाइँ बेला–बेला संसदमा बोल्दै गर्दा हामीलाई ‘बाईपास’ गरियो भनेर भन्नुहुन्थ्यो । खास संसदभित्र तपाइँलाई किन ‘बाईपास’ गरिएको थियो ?

प्रदेशसभाभित्र सुरुमा रोष्टममा सबै दलको अगाडि भनेर मेरो लागि सीट मिलाईयो । त्यही सीटकै बारेमा एक दुईपटक १० प्रतिशत कटाउनुपर्छ, अनिमात्र हुन्छ भनेर भन्नुभयो । अनि मैले ‘१० प्रतिशत काटेकाले मात्र राजनीति गर्ने हो ?’ भनेर सोधेँ ।

जनताले भोलि जसलाई पनि चुन्न सक्छन् । तर उहाँहरुमा आफ्नो पार्टी ठुलो भएकोप्रति दम्भ थियो । प्रदेशसभामा मैले पाँच पटक सीट फेरेँ । पछि सीटका लागिमात्र लडिरहनु उचित होइन जस्तो मलाई लाग्यो । तर संसदमा सीटका लागि लड्नुपर्ने कुरा दुःखद् हो । कहिले अगाडि राखिदिन्छन्, कहिले पछाडि राखिदिन्छन् । सचिवालयको गल्ती हो कि राजनीतिक कारण हो, मलाई थाहा भएन । मैले १८ महिनासम्म त संसदीय दलको कार्यालय पनि पाइनँ । जबकि प्रदेशसभाका दलहरुले संसदीय दलको कार्यालय पाउँथे । राप्रपालाई पनि संसदीय दलको कार्यालय दिनुपर्छ भनेर आवाज उठिसकेपछि दिए ।

सुरुमा  चारवटा (काँग्रेस, एमाले, माओवादी र राप्रपा) दल छन् । चारवटा संसदीय दलका नेताहरुलाई चारवटा गाडी किन्नुपर्छ भन्ने कुरा भयो । गाडी किनेर ल्याइयो पनि । राप्रपाले पनि एउटा गाडी पाउँछ–पाउँछ भन्ने हल्लाहरु आए । पछि त्यहाँभित्र कसले के रोल खेले, त्यो थाहा भएन र गाडी दिइएन ।

मसँग अहिले पनि गाडी छैन । म सामान्य घरानाबाट आएको व्यक्ति गाडीमा चढेर सान देखाउनुभन्दा पनि काम गर्नुपर्छ भन्ने मान्यता राख्छु । गाडी दिइएन भनेर त्यसमा गुनासो त छैन तर संसदभित्र सानो दल भनेर ‘बाईपास’ गराइँदा दुःख लाग्छ । के उहाँहरुले मात्र राजनीति गर्ने हो र ? गाडी नै चढेर सान दिँदै हिँड्नुपर्छ भन्ने मलाई लाग्दैन । म गिट्टी–बालुवा कुटेर आएको व्यक्ति हो । सकेसम्म जनताको आवाज बोल्ने हो ।

अनि तपाइँ पनि कुनै एउटा क्षेत्रको प्रतिनिधित्व गर्दै आउनुभएको सांसद हो । तपाइँले सरकारलाई दिएका योजनाहरु समावेश भए कि भएनन् त ? सांसद बन्दै गर्दा के सोचेर आउनुभएको थियो र अहिलेसम्म के पाउनुभयो ?

मैले आफ्नो निर्वाचन क्षेत्रलाई मात्र नभएर १० जिल्लालाई केन्द्रमा राखेको थिएँ । किनकि राप्रपाको कर्णाली प्रदेशमै म एक्लो सांसद हो । प्रदेशले नीति, नियम, विधि, विधान बनाउनमा बढी जोड दिने हो । त्यसमा मैले आफ्नो तर्कहरु प्रस्तुत गर्दै आएकी छु । मैले १० वटै जिल्लाबाट योजना मागेर सरकारमा पेस गरेपछि पाउँछु भन्ने थियो तर पाइएन । मैले दिएका योजनाहरु नै समेटिएनन् । म पनि जनताबाटै प्रतिनिधित्व गर्दै आएको मान्छे हो । जनताले मप्रति केही अपेक्षा गरेका हुन्थे । तर ती अपेक्षालाई मैले पूरा गर्न सकिनँ । किनकि सरकारमा पनि आफ्नो वर्चश्व हुनुपर्ने रहेछ । मैले गरुँला भनेको काम गर्न सकिरहेको छैन ।

संसदमा बोल्दै गर्दा तपाईंले सरकार भ्रष्टाचारमा मुछियो, जनताको जनजीविकाको सवालभन्दा पनि बाहिर गयो । सरकारमा भएकाहरु पैसा कमाउन र आफ्नाहरुलाई योजना बाँड्नतिर लागे भनेर भन्नुभएको थियो । के साँच्चै सरकारले गर्नुपर्ने काम नगरेको जस्तो लाग्छ ?

त्यो त जनताले थाहा पाइसके नि ! अहिलेसम्म हेर्दा के उपलब्धि भयो ? केही देखिदैन । संघीयताको पहिलो अनुभव गर्दै गर्दा यो सरकारले गरेको उपलब्धिको लेखाजोखा त आउने सरकारले गर्ला नै । सरकारमा भएकाहरुलाई त अहिले पैसा कमाएर आउने निर्वाचनमा कसरी चुनाव जित्न सकिन्छ भन्नेमात्र छ । अहिले सरकारमा हुँदा त जनताको सवालमा काम गर्नुपर्‍यो भन्ने हो । भोलि हामी अर्को पटक सांसद नबन्न पनि सक्छौं । सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो कार्यकालमा जनतालाई केन्द्रविन्दुमा राखेर काम गरेपछि देश बन्छ । उहाँहरुले मलाई कसरी ‘बाईपास’ गर्नुहुन्थ्यो, कस्तो व्यवहार भयो भन्ने कुरा त तपाइँहरुलाई पनि थाहा छ ।

यहाँ एकजनाले भनेपछि केही हुने रहेनछ । एकजनाले कर्णाली समृद्धिको सपना देख्ने तर अरु १० जना आफ्नो पोल्टा भर्नतर्फ लाग्यो भने कसरी समृद्ध कर्णाली बन्छ ?

पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दै गर्दा तपाईंले समर्थन जनाउनु भएन तर जीवनबहादुर शाहीलाई चाहिँ विश्वासको मत दिनुभयो नि ?

महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा पार्टीले तटस्थ बस्न निर्देशित गरेको थियो । अहिले समर्थन दिने भनेर आएपछि दिइएको हो । पार्टीभित्र इमानदारिता हुनुपर्छ । पार्टीको निर्देशन विपरीत म गएको छैन । पार्टीका नेताहरुले के कुरा राख्नुभयो, त्यो मलाई थाहा छैन । महेन्द्र दाइको बेलामा मलाई मन्त्री बन्न अफर आएको थियो ।

अनि प्रदेशसभामा के–कस्ता सवाल उठाउने भन्ने कुरा पनि पार्टीबाट निर्देशित हुन्छ ?

त्यो त हुँदैन ।

सांसद भएको चार वर्ष बित्यो, अबको लक्ष्य के छ नि ?

अब पार्टीले के भन्छ ! मूल्याङ्कन त भएकै होला । प्रदेशसभाभित्र रहने समय पनि अन्तिमतिर नै छ । म पदको लोभी होइन । पदकै लागि म राजनीति गर्दिनँ ।

आगामी चुनावमा पार्टीले राम्रो नीति, निर्देशन दिएको खण्डमा अर्को पटक सांसद बनौँला नत्र त्यस्तै हो । पार्टीभित्र आफ्नो दाबी त हुन्छ नै । होइन, पार्टी पनि आफ्नै तरिकाले हिँड्यो भने म आफ्नै पुरानो दुनियाँमा फर्किने सोच छ ।

तपाईंको दुनियाँ सांसद हुनुभन्दा पहिला अर्कै थियो तर यो दुनियाँमा आइसकेपछि व्यक्तिगत जीवनमा के फरक पाउनुभयो ?

नयाँ कुराहरु सिक्न पाइयो । देशविदेशका कुराहरु बुझियो । जे भए पनि जनताले न्याय पाउनुपर्छ, न्याय दिनुपर्छ भन्ने हो । जुन ठाउँमा बसे पनि न्यायका लागि लड्नुपर्छ, सत्य बोल्नुपर्छ ।

प्रदेशसभाको बाँकी कार्यकालमा तपाईंको भूमिका कस्तो रहन्छ ?

समर्थन गरेका हिसाबले मैले भनेका केही कुरा लागु हुन्छन् कि भन्ने आशा राखेकी छु । अरु त के नै छ र !

मुख्यमन्त्री जीवनबहादुर शाहीलाई विश्वासको मत त दिनुभयो तर मन्त्रीमण्डलले अझै पूर्णता पाएन, यसमा तपाईंको धारणा के छ ?

मन्त्रीमण्डलले पूर्णता पाउनुपर्ने हो । अहिलेसम्म भएको छैन । कार्यसम्पादनमा समस्या भइरहेको छ । उहाँहरुको केही समस्या छ कि ! त्यो त मलाई थाहा भएन ।

यदि तपाईं मन्त्री भएको खण्डमा तपाईंको पहिलो निर्णयचाहिँ के हुन्थ्यो होला ?

त्यो त त्यतिबेला नै थाहा हुन्छ । अहिले समस्या ठुलाठुला छन् । समाधानतर्फ सरकारले ध्यान दिनुपर्छ । के गरेर समस्याको समाधान हुन्छ, त्यही एजेण्डा समात्नुपर्‍यो ।

संसदमा कोही कम्युनिष्ट छन्, कोही लोकतन्त्रवादी छन् । तपाईं राजावादी एजेण्डा लिएर संसदमा जानुभएको थियो । के लाग्छ के यो देशमा फेरि राजतन्त्र आउँछ त ?

 राजा आए ठिक होला कि नहोला ?

होइन, तपाईं भन्नुस् न, तपाईंको धारणा के छ ?

जनताले अहिले राजाको चाहिँ माग गरेका छन् । अरुभन्दा सानो–सानो बच्चामा पनि राजा भए हुन्थ्यो, घरघरमा राजा मान्नुभन्दा एउटै राजा भएको भए हुन्थ्यो भन्ने धारणा बनिसकेको छ । तर राजा आए पनि पहिलाको जस्तो शासन गर्नुपर्छ भन्ने त होइन । पार्टीको राष्ट्रपति नभएर राजालाई राष्ट्रपति बनाउने र कार्यकारी भूमिकामा चाहिँ जनताकै छोराछोरी हुनुपर्छ भन्ने हो । नत्र पार्टीको मात्रै भए भने बाह्य हस्तक्षेप बढ्ने भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप