बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इंग्ल्याण्ड प्रवेश गर्ने यात्रुलाई शुक्रबारबाट थप सहज

बिहीबार, २२ पुस २०७८, ०७ : १५
बिहीबार, २२ पुस २०७८

बेलायतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगे पनि सरकारले इंग्ल्याण्ड प्रवेश गर्ने यात्रुको लागि थप सहज बनाउने भएको छ । हाल जारी नियम अनुसार बेलायत आउनुअघि र बेलायत आएको दोस्रो दिनमा अनिवार्य पीसिआर टेष्ट गर्नुपर्दछ । आउँदो शुक्रबार बिहान  ४ बजेबाट पूर्ण रुपमा खोप लगाएकाहरुले इंग्ल्याण्ड आउँदा पीसीआर टेष्ट गर्न नपर्ने भएको छ । अनिवार्य पीसीआर टेष्टका कारण इंग्ल्याण्ड आउन निरुत्साहित भएको भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ नियमबाट यात्रुलाई थप सहज हुने बताएका छन् ।

यसैगरी इंग्ल्याण्ड आइसकेपछि दोस्रो दिनमा गर्नुपर्ने अनिवार्य पिसिआर टेष्टलाई खारेज गरेर सस्तो र सहज उपलब्ध ‘ल्याटेरल फ्लो टेष्ट’ गर्न सकिने छ । यो नियम आइतबार बिहान ४ बजेबाट लागू  हुनेछ ।


हालको नियम अनुसार  इंग्ल्याण्ड आइसकेपछि कोभिड टेष्टको परिणाम प्राप्त नभएसम्म घरैमा आइसोलेसनमा बस्नुपर्ने नियम छ। आइतबारबाट  इंग्ल्याण्ड आउने यात्रुहरुले यस्तो किसिमको झंजटबाट मुक्ति पाउनेछन् । तर, बेलायतका अन्य राज्यहरु स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा भने छुट्टै नियम छ ।

बेलायतमा कोरोना संक्रमण बढेपनि खोपको प्रभावकारीताका कारण कम असर भएको भन्दै सरकारले बुस्टर डोजलाई थप तीव्रता दिँदै आएको छ ।  प्राप्त पछिल्लो अध्ययन अनुसार कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन निकै संक्रामक भएपनि यसको असर यसअघिको डेल्टा भेरिएन्ट भन्दा कम रहेको बताइएको छ । 

बेलायतमा मंगलबार एकैदिन झन्डै दुई लाख बीस हजार जना संक्रमित भएका थिए । यो संख्या महामारी यताकै सबैभन्दा बढी हो । अत्यधिक रुपमा संक्रमण फैलिएपछि यहाँको स्वास्थ्य क्षेत्र निकै प्रभावित बनेको छ । कोरोना संक्रमणका कारण दर्जनौं अस्पतालमा कर्मचारीको अभाव भएका कारण संकटको अवस्था सिर्जना भएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा एक लाख ९४ हजार भन्दा बढी नयाँ  संक्रमित थपिएका  छन् । यसैगरी कोरोनाका कारण २४ घण्टाभित्र ३३४ जनाको मृत्यु भएको छ । मृतक संख्या  पनि निकै बढेको हो । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४९ हजार २८४ पुगेको छ ।

संक्रमण बढेसँगै बेलायतमा कोरोनाविरुद्धको खोपलाई तीव्रता दिइएको छ । सरकारद्वारा जारी पछिल्लो तथ्यांक अनुसार ९०.२ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने ८२.२ प्रतिशतले खोपको दोस्रो मात्रा लगाएका छन् । यसैगरी, ६० प्रतिशत भन्दा बढीले  तेस्रो अर्थात बुस्टर डोज लगाइसकेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप