बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपा असन्तुष्ट पक्षधरका नेताहरूले गरे जनमत पार्टीको आन्दोलनलाई समर्थन

बिहीबार, २२ पुस २०७८, ०७ : ०४
बिहीबार, २२ पुस २०७८

प्रदेश २ का प्रमुख प्रतिपक्षी दलका नेताहरूले धनुषाको गोदारमा भएको घटनामा जनमत पार्टी प्रति सहानुभूति प्रकट गर्दै प्रहरीले निहत्था माथि गोली प्रहार गरी दमन गरेको प्रति निन्दा गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै जनमत पार्टीले ट्रकमा आगजनी गरेको भन्दै प्रहरीले स्थानीयलाई कुटपिट गरेको प्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालका असन्तुष्ट पक्षधर नेताहरूले आपत्ति जनाएका हुन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग भेटघाट गर्दै पूर्व राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल र पूर्व सांसद डा.विजयकुमार सिंह नेतृत्वको टोलीले ध्यानाकर्षण भएको जनाउँदै जथाभाबी स्थानीय जनतालाई कुटपिट गरि धाकधम्की नदिन आग्रह गरेका छन् ।

सिके राउत नेतृत्वले गरिरहेको किसान आन्दोलनको क्रममा प्रहरीले संयमता अपनाउनुपर्ने र आन्दोलनमा कसैले प्रहरीलाई जथाभाबी गरेको र आगजनी गरेको नाममा स्थानीय जनताको घरमा घुसेर कुटपिट गर्नु दुःखद भएको नेता वृषेशचन्द्र लालले बताए । उनले गोदारमा राजमार्ग अवरुद्ध गरि गरिरहेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गोली चलाएकोमा आक्रोश व्यक्त गरे । उनले प्रमुख जिल्ला अधिकारी बास्तोलासँग डेलिगेसनको क्रममा नागरिक प्रति उत्तरदायी भई सुरक्षानिकायले कार्य गर्नुपर्ने माग गरेको नेता उमेश मण्डलले रातोपाटीलाई जानकारी दिए ।

पूर्व सांसद डा. विजयकुमार सिंहले राज्यद्वारा आफ्नै निहत्था जनतामाथि गोली प्रहार गर्नु निन्दनीय रहेको टिप्पणी गरेका छन् । सो डेलिगेसनको क्रममा विभा ठाकुर, विन्दु ठाकुर, योगेन्द्र राउत, विमला साह, धीरेन्द्र सिंह, रामजी राय, सतिश लाल दास, हेमन्त साह, राधिका साह, भोला झा र रामचन्द्र झालगायतका उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप