मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

चुनावी गठबन्धनबारे काँग्रेसभित्र देखियो दुई कित्ता

महामन्त्री र सहमहामन्त्रीको परस्पर विरोधी अभिव्यक्ति
बुधबार, २१ पुस २०७८, २२ : ४४
बुधबार, २१ पुस २०७८

सत्ताधारी दल नेपाली काँग्रेसभित्र चुनावमा गठबन्धन बनाएर लड्ने कि एक्लै लड्ने भन्नेमा बहस सुरु भएको छ । निकट भविष्यमै स्थानीय तहको निर्वाचन र लगत्तै प्रदेश तथा संघीय निर्वाचन हुन लागेको सन्दर्भमा काँग्रेसमा यो विषयमा बहस सुरु हुन थालेको हो । पार्टीको १४ औं महाधिवेशनबाट पराजित शेखर कोइराला समूहले पार्टीलाई बलियो बनाएर एक्लै चुनाव लड्नुपर्ने तर्क गर्दै आएको छ भने संस्थापन पक्ष वर्तमान सत्ता गठबन्धनलाई चुनावसँगै लिएर जाने पक्षमा देखिएको छ । 

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा स्वयमले समेत सत्ता गठबन्धनलाई चुनावसम्म लैजाने अभिव्यक्ति दिँदै आएका छन् । उनले सत्ता गठबन्धन नटुट्ने धारणा समेत राख्दै आएका छन् । यतिमात्रै नभइ देउवाले महाधिवेशनअघि आफू सभापतिमा निर्वाचित नभए सत्ता गठबन्धन नै नरहन सक्ने धारणा समेत राखेका थिए । 
देउवाको संकेत शेखर कोइराला गठबन्धन विरोधी नै रहने आशय थियो । १४ औं महाधिवेशनबाट काेइराला पक्ष पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म न्यून संख्यामा निर्वाचित भएपनि सोही समूहले अहिले पार्टी एक्लै चुनावमा राख्नुपर्ने धारणा राख्न थालेको हो । 

बुधबार आफू निकटको भेलामा नेता कोइरालाले देउवाको आलोचना गर्दै उनले पार्टीमा मनपरी गरेको आरोप लगाएका थिए । लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट गरे पार्टीमा दुर्घटना हुने बताएका उनले आफू निकटको बैठकमा ४ बुँदे धारणा राखेका थिए ।  उनले सभापति शेरबहादुर देउवाले कुन मापदण्ड अपनाएर केन्द्रीय समितिमा मनोनयन गरेका हुन् भन्ने प्रश्न पनि गरेका थिए । 

‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ र तर के मापण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौँ’, उनको ४ बुँदेमा भनिएको छ, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?’ 

उनले पार्टीलाई नयाँ उचाइमा पुर्याउने अभियानमा विश्राम नलागेको पनि बताउँदै सोही अभियानमा लागेर पार्टीलाई एक नम्बर बनाउने धारणा राखेका थिए । देउवाको विगतको अभिव्यक्ति र कोइरालाको कार्यशैलीका कारण गठबन्धनबारे काँग्रेसमा एकमत छैन । देउवा गठबन्धन गर्न सकारात्मक रहेपनि त्यसको कटु आलोचक कोइराला देखिएका छन् । भलै राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा तालमेल भएको छ । 

 महामन्त्री र सहमहामन्त्रीको परस्पर विरोधी अभिव्यक्ति
काँग्रेसभित्र चुनावी गठबन्धनमा जानेबारे काँग्रेसमा तीव्र अन्तरविरोध रहेको पार्टीका दुई पदाधिकारीको अभिव्यक्तिबाट पनि प्रष्टिएको छ।  महामन्त्री गगन थापाले र सत्तारुढ दलको चुनावी गठबन्धन राष्ट्रिय सभा निर्वाचनसँगै टुंगिने बताएका छन् । कोइराला समूहको बुधबार बसेको बैठकमा बोल्दै महामन्त्री थापाले गठबन्धन सरकार संसदीय चुनावसम्मै जान अफ्ठ्यारो नभएपनि चुनावी गठबन्धन भने राष्ट्रियसभा निर्वाचनसँगै अन्त्य हुने धारणा राखे । 

‘स्थानीय तहदेखि संघसम्म पार्टी एक्लै लड्छ । सरकार गठबन्धनमा चल्छ तर चुनावी गठबन्धन राष्ट्रिय सभा चुनावपछि टुंगिन्छ’, थापाले भने, ‘त्यसपछि गठबन्धन होइन सरकारमात्रै चुनावसम्म जान्छ । गठबन्धनकै सरकारले चुनाव गर्दा पनि चुनावी गठबन्धन भने हुन सक्दैन ।’

​उनले सभापति शेरबहादुर देउवाको रणनीति आफूहरुको सरोकारको विषय नहुने भन्दै आफूहरु चाहिँ चुनावी गठबन्धनको विपक्षमा रहेको स्पष्ट पारे ।  

तर देउवा पक्षीय  सहमहामन्त्री महेन्द्र यादवले चाहिँ दुई गठबन्धनलाई निरन्तरता दिनुपर्ने र सबै मिलेर एमालेलाई शून्य अवस्थामा पुर्याउने अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम गरेर एमालेलाई चुनाव जित्न नदिने उनको तर्क छ । 

बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने,‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पुरै परास्त गर्छौं । हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौँ ।’
राष्ट्रिय सभामा गठबन्धन गरेको काँग्रेस पार्टीभित्रको अन्तरसंघर्षले आगामी दिनमा कुन रुप लिन्छ त्यो भविष्यले देखाउने छ नै तर, चुनावी तालमेल गर्ने या नगर्ने भन्नेमा तीव्र बहस चर्किने भने निश्चित रहेको कतिपयको भनाइ छ । ​

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप