मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा संक्रमित बढेसँगै नेपालमा र्‍यापिड एक्सन प्लानको तयारी

अब ओमिक्रोन भेरियन्टले सताउने चेतावनी
बुधबार, २१ पुस २०७८, १७ : ४९
बुधबार, २१ पुस २०७८

भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको छ । संक्रमण दर बढेपछि दिल्लीमा साप्ताहिक सार्वजनिक बिदाका दुई दिन चहलपहल नियन्त्रण गर्ने उद्देश्यले कर्फ्यु जारी गरिएको छ । नेपाल सरकारले पनि कोभिड–१९ को नयाँ भेरियन्ट फैलिन नदिन थप सतर्कता अपनाउन निर्देशन दिइसकेको छ ।

पुस ९ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ओमिक्रोन भेरियन्ट फैलन नदिन थप सतर्कता अपनाउन स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

कोरोना संक्रमणको अघिल्लो लहरमा भारतमा संक्रमण उच्च बिन्दूमा पुगेको करिब ५० दिनपछि नेपालमा संक्रमितको सङ्ख्या बढेको थियो । भारतमा जबजब कोरोना संक्रमण दर बढ्दै जान्छ, तब सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्या बढ्दै जाने भएकाले समयमै सतर्कता नअपनाएको खण्डमा नेपालमा पनि ढिलोचाँडो तेस्रो लहर आउने जनस्वास्थ्यविज्ञहरु बताउँछन् ।

पहिलो तथा दोस्रो लहरको तुलनामा अहिले धेरै मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले १८ वर्षभन्दा माथिका लक्षित १ करोड ९९ लाख २२ हजार १२६ जनसंख्यामध्ये ५३.२ प्रतिशतले पूर्णमात्रामा खोप लगाएको जनाएको छ । यस्तै, ७२.१ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ओमिक्रोन भेरियन्टबाट मात्रै नभई दोस्रो लहरमा सताएको डेल्टासँगै अन्य भेरियन्टको जोखिम पनि उत्तिकै रहेको डा. पुन बताउँछन् । कोरोनाविरुद्धको खोप लगाएका भन्दा नलगाएकाहरुलाई संक्रमण बढी हुने अध्ययनहरुले देखाएको छ ।

यद्यपि सबै जनाले खोप नलगाएको अवस्थामा संक्रामक मानिएको ओमिक्रोन घातक हुन सक्ने भएकाले सचेत हुनुको विकल्प नरहेको सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

ओमिक्रोन संक्रमण भएका व्यक्तिहरुमा डेल्टा भेरियन्टको तुलनामा अस्पताल भर्ना हुने जोखिम कम भए पनि सचेत नभएको खण्डमा यसको उच्च संक्रमण दर खतरनाक पनि हुन सक्ने विज्ञहरु बताउँछन् । खोप लगाएका, कोरोना संक्रमण हालसम्म नभएका तर, गम्भीर खालका रोग लागेकालाई ओमिक्रोन भेरियन्ट संक्रमण भएको खण्डमा घातक हुन सक्ने उनीहरुको भनाइ छ ।

ओमिक्रोन भेरियन्टबाट मात्रै नभई दोस्रो लहरमा सताएको डेल्टासँगै अन्य भेरियन्टको जोखिम पनि उत्तिकै रहेको डा. पुन बताउँछन् । कोरोनाविरुद्धको खोप लगाएका भन्दा नलगाएकाहरुलाई संक्रमण बढी हुने अध्ययनहरुले देखाएको छ ।

पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै सीमा नाकामा सचेतता अपनाएको खण्डमा नेपालमा विगतमा जस्तो संक्रमणको फैलावट नहुन सक्ने डा. पुन बताउँछन् । उनका अनुसार जनता आफै सचेत भएको अवस्थामा पहिलो र दोस्रो लहरमा जस्तो बेड तथा अक्सिजनको हाहाकार भइहाल्ने अवस्था नरहन सक्छ ।

कोरोनाको जुनसूकै भेरियन्ट भए पनि मास्कको प्रयोग, हातको सरसफाइ, सामाजिक दूरी कायम र कोरोना परीक्षण तथा खोप लगाउनुको विकल्प नभएको उनले बताए ।

के गर्दैछ सरकार ?

नेपालमा पनि कोरोना संक्रमणको तेस्रो लहर आउन सक्नेभन्दै मातहतका निकायलाई सतर्क रहन निर्देशन दिइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार भारतमा संक्रमण बढेसँगै नेपालमा पनि केही समयपछि संक्रमण बढ्ने गरेकाले मन्त्रालय अहिले र्‍यापिड एक्सन प्लानको तयारीमा जुटेको बताइन् ।

स्वास्थ्य मन्त्रालयले सीमा नाकाका प्रवेश स्थलमा प्रोटोकल अनुसार परीक्षण तथा व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । यस्तै, जोखिम क्षेत्र (हटस्पट) पत्ता लगाइ एन्टिजेन परीक्षणको दायरा बढाउन प्रदेश, जिल्ला, स्थानीय तहलाई निर्देशन दिइसकेको छ ।

पहिचान भएका संक्रमितका लागि आइसोलेशन उपचार व्यवस्थापनका लागि निर्देशन दिनुका साथै कोरोना परीक्षण, कन्ट्रयाक्ट टे«सिङ गर्न, खोप लगाउन छुटेका लक्षित समूहको पहिचान तथा कोरोनाविरुद्धको खोप प्रयोगमा वृद्धि गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

होम आइसोलेशन र क्वारेन्टिनमा बसेकालाई जनस्वास्थ्य मापदण्ड फलो गर्न तथा जनस्वास्थ्यका मापदण्डबारे निगरानी गर्न समेत स्वास्थ्य मन्त्रालय निर्देशन दिएको छ ।

ओमिक्रोन भेरियन्टले सताउने चेतावनी

अमेरिका, युरोप, अफ्रिकी देशहरुसँगै छिमेकी राष्ट्र भारतमा पनि कोरोना संक्रमण फैलिँदै गएको छ । अमेरिकामा एकै दिनमा १० लाख जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण फैलिएका ती देशमा नयाँ लहर उच्च विन्दुमा पुग्न अझै केही समय लाग्ने जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ नयाँ खतरा बन्न सक्ने चेतावनी दिएको छ । संगठनको यूरोप इकाईले ओमिक्रोनको बढ्दो केसले नयाँ र थप खतरनाक जोखिम खडा गर्ने जनाएको हो । ​ओमिक्रोन भेरियन्ट जति संक्रामक भएर फैलिन्छ, त्यसको स्वरुप त्यति परिवर्तन हुने डब्ल्यूएचओको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप