शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले जिल्ला अधिवेशनको ‘काउन्टडाउन’ सुरु : धेरैमा सहमति, थोरैमा चुनाव !

बुधबार, २१ पुस २०७८, १७ : २८
बुधबार, २१ पुस २०७८

नेकपा एमालेले पुस २३ गते गर्ने जिल्ला अधिवेशनको तयारी लगभग पूरा भएको जनाएको छ । भूगोलतर्फका ७७ वटा जिल्लाको अधिवेशन एकैपटक गर्ने तयारी गरेको एमालेले यसअघि वडा र पालिकाको अधिवेशन पनि एकैपटक गरेको थियो ।

अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले पुस २३ गते शुक्रबार केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल रूपमा उद्घाटन गरेर सुरु हुने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । यसबाहेक अधिवेशनमा केन्द्रीय नेताहरू आ–आफ्नो जिल्लामा पुगेर सम्बोधन गर्नेछन् ।

एमालेले देशभरका वडा र पालिकामा सहमतिमै नेतृत्व चयन गरेको थियो । वडा र पालिकापछि राष्ट्रिय महाधिवेशन गरेको सो पार्टीले केन्द्रीय नेतृत्व समेत आधा सहमति र आधा चुनावी प्रतिस्पर्धामार्फत चयन गरेको थियो ।

एमाले नेताहरूका अनुसार जिल्ला अधिवेशन पनि सहमतिकै आधारमा सम्पन्न गर्ने गरी तयारी भइरहेको छ । तर, सहमति हुन नसकेको खण्डमा चुनावी प्रतिस्पर्धामार्फत अधिवेशन सम्पन्न गरिने उनीहरूको भनाइ छ । यद्यपि सहमतिलाई पहिलो प्राथमिकतामा राखेको प्रायः सबै प्रदेशका नेताहरूको भनाइ छ ।

‘हिमाली दुई–चार जिल्लाबाहेक अरू सबै जिल्लाको अधिवेशन शुक्रबार नै हुन्छ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट भर्चुअल्ल रूपमा उद्घाटन गर्ने कार्यक्रम छ’, सचिव अधिकारीले रातोपाटीसँग भने, ‘केही जिल्लामा मौसम प्रतिकुल हुने भएकाले ती जिल्लाहरूको अधिवेशनका लागि नयाँ मिति तोकिनेछ ।’ उनले कुन–कुन जिल्लाको अधिवेशन अर्को मितिमा हुन्छ भन्ने खुलिनसकेको भन्दै बिहीबार बिहानसम्म त्यसबारे पनि थाहा भइसक्ने बताए ।

एमालेले जिल्ला अधिवेशनका लागि प्रदेश कमिटीलाई समन्वय गर्न दिएको छ । त्यसका लागि सातवटै प्रदेशका प्रदेश इन्चार्जहरू आ–आफ्नो प्रदेशमा पुगेर सहमतिको प्रयास गरिरहेका छन् । प्रदेश १ का इन्चार्ज देवराज घिमिरे आम रूपमा आफ्नो प्रदेशमा सहमतिकै आधारमा नेतृत्व चयन हुनेमा विश्वस्त रहेको बताउँछन् ।

‘हाम्रो प्रदेशका १४ जिल्लामध्ये १३ वटा जिल्लामा २३ गते नै जिल्ला अधिवेशन सुरु हुन्छन्, सङ्खुवासभामा भने २६ गते हुने तय भएको छ’, घिमिरेले रातोपाटीसँग भने, ‘अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ, अहिले प्रतिनिधि व्यवस्थापनलगायतका काम भइरहेका छन् ।’

अधिवेशनमा सहमति वा निर्वाचन भन्ने कुरा बन्दसत्र सुरु भएपछिमात्रै थाहा हुने भएकाले त्यो चरणमा पुग्नै बाँकी रहेको घिमिरेले बताए । यद्यपि उनले झापा जिल्लाको हकमा भने सहमति भए बराबर भएको बताए । झापामा दीपक कार्की अध्यक्ष हुने निश्चित भएको एमालेका स्थानीय नेताहरूको भनाइ छ ।

उता प्रदेश २ का ८ वटै जिल्लामा सहमतिबाटै जिल्ला कमिटी चयन हुने प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले बताए । ‘सकभर हामी ८ वटै जिल्लामा सहमतिका आधारमा नेतृत्व चयन गर्ने पक्षमा छौं, हाम्रो तयारी पनि त्यसरी नै भइरहेको छ । तर, सहमति भएन भने स्वभाविकरुपमा प्रतिस्पर्धा हुने नै भयो’, प्रदेश इञ्चार्ज महासेठले रातोपाटीसँग भने, ‘सहमतिका लागि स्थानीय स्तरमै छलफल र कुराकानी भइरहेको छ । अधिकार पनि तलै दिइएको छ ।’

वागमती प्रदेशका इन्चार्ज काशीनाथ अधिकारीले पनि सहमतिकै आधारमा जिल्ला कमिटी चयन गर्ने गरी जिल्लास्तरीय नेता र सम्बन्धित जिल्लाका केन्द्रीय कमिटी सदस्यसँग समेत बसेर छलफल भइरहेको बताए । उनले भने, ‘वागमतीका सबै जिल्लामा २३ गते नै अधिवेशन सुरु हुन्छ र सहमतिकै आधारमा नेतृत्व पनि चयन हुन्छ । मलाई लाग्छ, सहमति जुट्छ र जुटाइन्छ पनि ।’

गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले पनि सबै जिल्लामा सहमतिमै अधिवेशन सम्पन्न गर्ने गरी छलफल भइरहेको तर टुङ्गिनसकेको बताइन् । ‘सबै जिल्लामा घनिभूत ढङ्गले सहमतिको प्रयास भइरहेको छ । गण्डकीका ११ मध्ये धेरै जिल्लामा सर्वसहमतितर्फ उन्मुख छन्, केही मिल्न नसकेका जिल्लामा मर्यादित र अनुशासित ढङ्गले प्रक्रिया टुंगिन्छ’, प्रदेश इञ्चार्ज अर्यालको भनाइ छ ।

लुम्बिनी प्रदेशका एमाले इञ्चार्ज छविलाल विश्वकर्माले प्रदेशका सबै जिल्लामा प्रतिनिधि छनोटको काम सकिएको भन्दै अधिवेशनको व्यवस्थापनतर्फको काम पनि अन्तिम चरणमा पुगेको बताए । उनले नेतृत्व चयन पनि सहमतिकै आधारमा अघि बढ्ने विश्वास व्यक्त गरे । ‘धेरै ठाउँमा सर्वसम्मतिकै प्रक्रियामा नेतृत्व चयनको प्रक्रिया अघि बढ्छ । जहाँ हुन सक्दैन त्यहाँ पनि स्वच्छ प्रतिस्पर्धाबाट निर्वाचन गरेर आएको परिणाम स्विकार्ने वातावरण बन्छ’, इन्चार्ज विश्वकर्माको भनाइ छ ।

कर्णाली प्रदेशका इञ्चार्ज यमलाल कँडेलले पनि भव्य र सभ्य रूपमा २३ गते नै अधिवेशन गर्ने तयारीअनुसार १० वटै जिल्लामा प्रतिनिधिहरू चयन भैसकेको बताए । उनले रातोपाटीसँग भने, ‘आजसम्मको मौसमअनुसार २३ गते नै १० वटै जिल्लाको अधिवेशन २३ गते सुरु हुन्छ, यदि मौसममा फेरबदल आयो भने केही जिल्लाको रोकिन सक्छ । कर्णालीका सबै जिल्लामा सर्वसम्मतिमा साथ जिल्ला नेतृत्व चयन गरिन्छ ।’

सुदुरपश्चिम प्रदेशका इञ्चार्ज लेखराज भट्टले पनि यो पटकको जिल्ला अधिवेशन सर्वसम्मतिबाटै जिल्ला नेतृत्व चयन गर्ने गरी पार्टीभित्र छलफल जारी रहेको बताए । उनले बझाङ बाहेकका जिल्लामा २३ गते नै अधिवेशन हुने भन्दै बझाङको हकमा मौसमका कारण केही दिन पछि गर्ने भनिएको तर मिति तय भैनसकेको बताए ।

एमालेका ७७ भौगोलिक र ११ गैरभौगोलिक गरी ८८ जिल्ला कमिटी छन् । उपत्यका कमिटीअन्तर्गत पेशागत, विद्यार्थी, मजदूर र उद्योग व्यवसाय गरी जिल्लास्तरीय ४ वटा कमिटी छन् । सम्पर्क मञ्चको प्रदेश कमिटी पनि जिल्ला कमिटी बराबर हैसियतमा रहने एमाले नेताहरू बताउँछन् । सचिव अधिकारीले पुस मसान्तभित्र गैरभौगोलिक जिल्ला कमिटीको पनि अधिवेशन भइसक्ने जानकारी दिए ।

कस्तो हुन्छ एमालेको जिल्ला संरचना ?

नेकपा एमालेको विधानअनुसार जिल्ला कमिटीमा अध्यक्ष १, उपाध्यक्ष १ सचिव १ र उपसचिव २  गरी पाँच सदस्यीय कमिटी बन्नेछ । त्यस्तै सदस्यहरूको सङ्ख्या न्यूनतम आधारमा ७५ जना र त्यसपछि संघीय निर्वाचन क्षेत्र एक बराबर १५ जनाले थपिँदै जानेछन् ।

पाँच सदस्यीय पदाधिकारी छनोटका लागि वडादेखि नै प्रतिनिधि छनोट भएर आउँछन् । यसमा कति जना पार्टी सदस्य बराबर कति प्रतिनिधि छान्ने भन्ने निर्णयको अधिकार पनि सम्बन्धित जिल्ला कमिटीलाई नै दिएको नेताहरू बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप