शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानी निर्यात गर्न मापदण्ड बनाउँदै सरकार

कुन देशमा पठाइन्छ ? कुन देशबाट ल्याइन्छ ?
बुधबार, २१ पुस २०७८, १७ : ११
बुधबार, २१ पुस २०७८

जलस्रोतमा विश्वकै दोस्रो ठूलो धनी देश नेपालले विदेशमा खानेपानी निर्यात गर्न आवश्यक मापदण्ड बनाउँदैछ । नेपाल गुणस्तर तथा नापतौल विभागले पानी प्रशोधन व्यवस्थित र निर्यात सहजीकरण गर्न थप मापदण्ड तयार गरिरहेको हो । 

मौजुदा दुई कानूनका आधारमा सबै प्रकारका पानी प्रशोधन र निर्यात गर्न सम्भव नभएपछि थप मापदण्ड तर्जुमा गर्न लागिएको हो । हाल प्रशोधित पिउने पानी (प्रोसेस ड्रिङ्किङ वाटर) र ‘मिनिरल्स वाटर’ गरी दुई प्रकारका पानी प्रशोधनसम्बन्धी मापदण्ड छन् । यी मापदण्डले सामान्य प्रकारका पानी प्रशोधनलाई मात्र समेट्छन् । तर, उच्च हिमाली भेगमा प्रशोधन हुने र प्राकृतिक मुहानको पानी (नेचुरल स्प्रिङ वाटर) प्रशोधनलाई समेट्दैन । त्यसैले, आवश्यकता अनुसार थप मापदण्ड बनाउन विभागले तयारी थालेको हो ।

विभागले बोटलर्स वाटर एसोसिएशन र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा नयाँ मापदण्ड बनाउन लागेको हो । एसोसिएशनका अध्यक्ष सुवास भण्डारीले नेपालबाट ‘प्रोसेस ड्रिकिङ वाटर’ र ‘मिनिरल्स वाटर’सहित ‘नेचुरल स्प्रिङ वाटर’ पनि निर्यात भइरहेको बताए । रसुवा, वनटप र आक्वा हन्डे«ड ब्राण्डका पानी निर्यात गर्ने गरिएको छ । 

यी मध्ये रसुवा र वनटप उच्च भेगमा प्रशोधन हुने ‘स्प्रिङ मिनिरल्स वाटर’ हुन । यस्तै, आक्वा हन्ड्रेड प्रोसेस ड्रिकिङ वाटर हो । तर, यी तीनैवटा उद्योगले प्रोसेस ड्रिकिङ वाटरको मापदण्ड अन्तर्गत रहेर कम्पनी दर्ता र उत्पादन गर्नुपर्छ ।

यी सबै प्रकारका समस्या समाधान गर्न विभागले पुरानालाई यथावत् राख्दै थप दुईवटा नयाँ मापदण्ड बनाउने तयारी थालेको हो । मापदण्ड बनेपछि नेपालबाट विदेशतर्फ पानी निर्यात गर्न सहज हुने व्यवसायीहरूको आँकलन छ ।

तर, उच्च भेगमा प्रशोधन हुँदै आएका रसुवा र वनटप पनि प्रोसेस ड्रिकिङ वाटरकै रूपमा निर्यात हुँदै आएका छन् । रसुवा पानीका सञ्चालक गणेश भण्डारीले सरकारले मापदण्ड नबनाइदिँदा निर्यातमा समस्या भएको बताए । उनले भने, ‘रसुवा वाटर चीनतर्फ निकासी हुँदै आएको छ । रसुवा स्प्रिङ मिनिरल्स वाटर भएपनि प्रोसेस वाटरको नाममा निर्यात हुँदै आएको छ ।’ वास्तवमा यो उच्च हिमाली भेगमा प्रशोधन भइरहेको खानेपानी हो ।

यस्तै, आवश्यक कानुन नहुँदा ‘ग्लेसियर वाटर’ (हिमनदीको पानी) पानी समेत प्रशोधन गर्न नपाइएको व्यवसायीहरूको गुनासो छ । रसुवा ब्राण्डको पानी प्रशोधन प्लान्ट २५ सय मिटरको उचाइमा छ । यस्तै, वनटप समेत यसैको हाराहारी  उचाइमा अवस्थित प्रशोधन उद्योग हो । ‘यो उचाइभन्दा माथि प्रशोधन उद्योग खोल्न पाउने/नपाउने भन्ने व्यवस्था छैन’, सञ्चालक भण्डारीले भने, ‘यससम्बन्धी मापदण्ड बनेपछि अझै उचाइमा उद्योग खोल्न सजिलो हुन्छ ।’

रसुवा वाटर नेपालबाट चीनतर्फ निर्यात हुने गरेको छ । ‘नेचुरल स्प्रिङ वाटर’ भएर पनि ‘प्रोसेस वाटर’को नाममा निर्यात गर्दा समस्या पर्न थालेको छ । चीनले कम्पनीलाई नेपाल सरकारले जारी गरेको पानीसम्बन्धी नेपाल गुुणस्तर मापदण्ड उपलब्ध गराउन आग्रह गरिसकेको छ । मागअनुसार स्ट्याण्डर्ड देखाउन नसकेमा चीनले आयात रोक्नसक्छ ।

यस्तै, ल्याबटेस्ट जापान पठाएको र त्यहाँबाट आयातको नुमति मिलेमा कुन नामले पानी निर्यात गर्ने भनेर अलमल भइरहेको व्यवसायीहरूको भनाइ छ ।

यसैगरी, गुणस्तर तथा नापतौल विभागका सूचना अधिकारी सञ्जीवकुमार ठाकुरले पानीसम्बन्धी मापदण्ड बनाउने योजना वार्षिक कार्यक्रममै समेटिएकाले सोहीअनुसार काम भइरहेको बताए । उनले भने, ‘यो वर्षको विभागको वार्षिक कार्यक्रममा यो मापदण्ड बनाउने कार्यक्रम पनि समेटिएको छ ।’ यद्यपि, यो मापदण्ड खाद्य तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा बन्ने बताइएको छ ।

यी सबै प्रकारका समस्या समाधान गर्न विभागले पुरानालाई यथावत् राख्दै थप दुईवटा नयाँ मापदण्ड बनाउने तयारी थालेको हो । मापदण्ड बनेपछि नेपालबाट विदेशतर्फ पानी निर्यात गर्न सहज हुने व्यवसायीहरूको आँकलन छ ।

कुन देशमा जान्छ ? कुन देशबाट आउँछ ?

नेपालबाट अहिले पनि धेरै वटा मुलुकमा पानी निर्यात हुँदै आइरहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट चालू आर्थिक वर्षको पाँच महिनामा भारतमा ८ करोड १० लाख रुपैयाँको र अष्ट्रेलियामा १३ हजार रुपैयाँको पानी निर्यात भएको छ । यस्तै, गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ६ करोड रुपैयाँभन्दा बढीको पानी निर्यात भएको थियो । जसमध्ये भारतमा पाँच करोड ८३ लाख रुपैयाँ र चीनमा २० लाख ७१ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको थियो ।

यसैगरी, चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले भारतबाट १४ लाख रुपैयाँ बराबरको पानी आयात गरेको छ । यस्तै, क्यानडा र चीनबाट चार लाख गरी कुल २० लाख रुपैयाँको पानी आयात भएको विभागले जानकारी दिएको छ ।

यससँगै, गत आर्थिक वर्ष २०७७/७८ मा करिब एक करोड रुपैयाँको पानी भित्रिएको थियो । बेलायतबाट ७४ लाख रुपैयाँको र अन्य मुलुकबाट बाँकी परिमाणको पानी आयात भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप