आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सभ्यताको ज्योति नेपालमा बल्यो, अरुले झिल्को लगेर विकास गरे : ओली

बुधबार, २१ पुस २०७८, १० : ००
बुधबार, २१ पुस २०७८

 नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन् । सभ्यताको सृष्टि हाम्रै भूमिमा भएको तर्क गर्दै उनले यसलाई जोगाएर अघि बढ्दामात्रै इतिहासमाथि न्याय हुने स्पष्ट पारे ।

संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा ओलीले हाम्रा पूर्वजहरुसँग अरु कसैले तुलना हुन नसक्ने बताए । उनले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्यताको विकास गरेको प्रवचनसमेत दिए ।

सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै उनले यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गरे । उनले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरुलाई आफ्नो सदा साथ रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

अध्यक्ष ओलीले ग्य्राभिटेशनको थेउरी न्यूटनले भन्दा हजारौं वर्ष अगाडि हाम्रा पूर्वज भास्कर आचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको दाबी गरे । उनले अष्टवक्रजस्ता फिलोसफरहरुको चर्चा हुन नसकेको पनि उल्लेख गरे ।

‘यो ज्ञानभूमि हो, हाम्रो पूर्वजहरुले एकदम ठिक भनेका छन–यो ज्ञान भूमि हो, पुण्य भूमि हो । देव भूमि हो । ध्यान भूमि हो । तपो भूमि हो । त्यसकारण ज्ञान भूमि हो,’ ओलीले भने, ‘त्यो ज्ञान, त्यो तपको सृजना, ती अभ्यासहरुको सृजना, तिनको समष्टिलाई हामी हाम्रो सभ्यता, हाम्रो इतिहास, संस्कृति भन्छौं । त्यसलाई जोगाउनु पर्छ ।’

उनले हाम्रो संस्कृतिले हामीलाई विषरहीत भान्साको उपहार दिएको पनि बताए ।

भेटमा महाअभियानको तर्फबाट प्रतिनिधि मण्डलले ओलीलाई महाअभियानको प्रतिक स्वरूप नेपालको विविध संस्कृति र सम्पदा अंकित छायाचित्र, अपिल एवम् महाअभियानको कार्यक्रम पुस्तिका समेत प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप