शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा राष्ट्रियसभा सदस्य पदका उम्मेदवार को कस्ता ?

लाभको पदमा कहिल्यै नपुगेका पुराना कम्युनिष्ट नेतादेखि जनयुद्धका कमाण्डरसम्म
बुधबार, २१ पुस २०७८, १६ : २७
बुधबार, २१ पुस २०७८

जीवनभर पार्टी र सरकारको पद ओगट्ने प्रथाले वर्तमान राजनीतिलाई गाँजेको छ । अहिलेका राजनीतिज्ञहरू लाभको पदमा पुग्न मरिहत्ते नै गर्छन् भन्ने जनगुनासो पनि छ । तर केही राजनीतिज्ञ यस्ता पनि छन् पार्टीमा लामो समय सक्रिय रहेर पनि कहिल्यै लाभको पदमा पुग्न सकिरहेका छैनन् ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा कर्णालीबाट उम्मेदवार बनेका अधिकांश नेता सक्रिय राजनीतिमा रहेर पनि कहिल्यै लाभको पदमा पुगेका छैनन् । यसरी उम्मेदवारी दिनेमा जनयुद्धका कमान्डरदेखि सहिद पत्नीसम्म छन् ।

राष्ट्रियसभा सदस्य पदमा कर्णाली प्रदेश अन्तर्गत तीन सिटमा ६ जनाले प्रतिस्पर्धा गर्दैछन् । त्यसका लागि मंगलबार सबैजनाले सुर्खेत निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गराइसकेका छन् । हाल राष्ट्रियसभामा कर्णालीबाट निर्वाचित महिलातर्फ कविता बोगटी (हुम्ला), अपाङ्गताबाट जीवन बुढा (कालिकोट) र अन्य समूहबाट ठगेन्द्रप्रकाश पुरी (रुकुमपश्चिम) को पदावधि सकिँदै छ ।

तीन जनाको पदावधि सकिन लागेपछि हुन लागेको निर्वाचनमा सत्तारुढ गठबन्धनले साझा उम्मेदवारी दिएको छ । जसअनुसार नेपाली काँग्रेसले महिलातर्फ दुर्गाकुमारी गुरुङ (सुर्खेत), माओवादी केन्द्रले अपाङ्गतातर्फ नरबहादुर विष्ट (सुर्खेत) र खुलाबाट नेकपा एकीकृत समाजवादीले उदय बोहोरा (सल्यान) लाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी एमालेले महिलातर्फ गंगा थापा महत (जुम्ला), अपाङ्गता /अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) र खुल्लातर्फ चुडामणि शर्मा (सुर्खेत) लाई उम्मेदवार बनाएको छ ।

कर्णालीमा राष्ट्रियसभा सदस्यको चुनावका लागि जम्मा एकसय ९१ जना मतदाता छन् । तीमध्ये ३५ जना प्रदेश सभाका सदस्य र १५८ जना स्थानीय तहका प्रमुख/उपप्रमुख हुन् । मतभारका हिसाबले कर्णाली प्रदेशमा माओवादी केन्द्रको मतभार सबैभन्दा बढी अर्थात् एकहजार पाँचसय १२ छ । माओवादीका ५२ जना प्रमुख/उपप्रमुख र १२ जना प्रदेशसभा सदस्य छन् ।

त्यस्तै नेकपा एमालेको मतभार कर्णालीमा एकहजार चारसय ३४ छ । एमालेका ४५ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र १३ जना प्रदेश सांसद छन् ।

नेपाली काँग्रेसको मतभार भने एकहजार २६ छ । काँग्रेसका ४१ जना प्रमुख/उपप्रमुख र ६ प्रदेशसभा सदस्य छन् । यस्तै नेकपा एकीकृत समाजवादीको मतभार तीनसय ७८ छ । सो पार्टीका १३ जना स्थानीय तहका प्रमुख/उपप्रमुख छन् भने तीन जना प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना सदस्य छन् । त्यस्तै पाँच जना प्रमुख/उपप्रमुख भने स्वतन्त्र निर्वाचित छन् । उनीहरुले मत कसको पक्षमा पर्छ भन्ने प्रष्ट छैन ।

हाल जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी निलम्बनमा परेका छन् । उनी मतदानमा भाग लिन पाउँदैनन् । यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको मृत्यु भइसकेको छ । त्यस्तै अर्का मतदाता कालीकोटको तिलागुफा नगरपालिका उपमेयर दन्ता नेपाली भने सम्पर्कमा छैनन् ।

प्रदेशसभा सदस्यको मतभार एकजना बराबर ४८ र प्रमुख/उपप्रमुखको १८ मतभार हुन्छ । यद्यपि गठबन्धनको सबै मत आफ्नै उम्मेदवारको पक्षमा खसेको खण्डमा कर्णालीमा गठबन्धनकै उम्मेदवारले जित्ने निश्चित छ ।

उम्मेदवारहरुको राजनीतिक यात्रा यस्तो छ :                            

१. दुर्गाकुमारी गुरुङ, (नेपाली काँग्रेस/सुर्खेत)

नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी गुरुङ जनयुद्धमा माओवादीबाट हत्या गरिएका काँग्रेस नेता यज्ञबहादुर गुरुङकी पत्नी हुन् । काँग्रेसभित्र यज्ञबहादुर राम्रो छवि भएका नेताका रुपमा चिनिन्थे । ०५८ साल पुस २७ गते उनको हत्या गरिएको थियो ।

दुर्गालाई काँग्रेसले सहिद परिवारबाट उम्मेदवार बनाएको हो । उनी श्रीमानकै देनका कारण आफू राजनीतिमा रहेको बताउँछिन् । दुर्गाले ०४१ सालदेखिनै पार्टीको सदस्यता लिए पनि पारिवारिक जिम्मेवारीका कारण राजनीतिमा निरन्तर समय दिन सकिनन् ।

श्रीमानको निधनपछि पनि उनले आफ्नो छोराका लागि समय दिनुपर्ने भएकाले पार्टीमा सक्रिय हुन सकिनन् । तथापि उनी २०६४ सालमा समानुपातिक तर्फबाट सभासदमा उठेकी थिइन् । तर उनी पराजित हुन पुगिन् ।

उनी हालै सम्पन्न नेपाली काँग्रेसको १४ महाधिवेशनमा भने क्षेत्रीय प्रतिनिधिमा पनि पराजित भएकी थिइन् । उमेरले ५३ वर्ष कटेकी उनले श्रीमानको सपना पूरा गर्ने उद्देश्य राखेकी छन् ।

दुर्गाले श्रीमानको देनका कारण पार्टीले मूल्याङ्कन गरेर आफूलाई राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाएको बताउँछिन् । उनले यसअघि महिला संघमा रहेर काम गरेकी थिइन् ।

२. नरबहादुर विष्ट, (नेकपा माओवादी केन्द्र/सुर्खेत)

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका विष्टको राजनीतिक पृष्ठभूमि संघर्षशील छ । उनी जनयुद्धका एक कमान्डर हुन् ।

२०२५ सालमा कालिकोटको लालु भन्ने गाउँमा जन्मिएका उनी भूमिगत अवस्थामा विभिन्न पदमा बसेर माओवादीको कमाण्ड सम्हालेका थिए । विष्ट पहिलो संविधानसभा निर्वाचनमा सुर्खेत क्षेत्र नं.–३ बाट निर्वाचित भएका थिए ।

विष्टले ०४५ सालमा बर्दिया जिल्लामा अध्ययन गर्दैगर्दा नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति थालेका थिए । त्यसपछि ०५१ मा बहुमुखी क्याम्पस वीरेन्द्रनगरको इकाई अध्यक्ष, ०५३ मा अनेरास्ववियु क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै ०५४ सालबाट उनी भूमिगत बनेका थिए ।

समाज परिवर्तनकै लागि भनेर भूमिगत बनेका उनी ०५५ तिर सुर्खेतबाट दैलेख सुरुवा भई सेनामा गएका थिए । बीचमा धेरै मोर्चामा लडेको अनुभव उनीसँग छ । ०६२ मा बर्दियाको रम्बापुरमा उनी युद्धकै क्रममा घाइते भएका थिए ।

०७१ मा सुर्खेत जिल्ला पार्टी अध्यक्ष बनेका विष्ट अहिले माओवादीका केन्द्रीय सदस्य बनेका छन् । उनकी श्रीमती पुष्पा घर्ती पनि सक्रिय राजनीतिमै छन् । कर्णाली प्रदेशसभाकी उपसभामुख रहेकी पुष्पा पनि माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेकी छन् ।

अपाङ्गता कोटाबाट उम्मेदवार बनेका नेता विष्ट राष्ट्रिय स्वाधिनताको लागि लडाइँ गर्न बाँकी नै रहेको बताउँछन् ।

३. उदयबहादुर बोहोरा (नेकपा एकीकृत समाजवादी/सल्यान)

बोहोरा पुराना पुराना कम्युनिष्ट नेता हुन् । २०५४ मा एमाले विभाजन हुँदा उनी मालेमा लागेका थिए । माले र एमाले समायोजनपछि उनी लाभको पदमा पुग्न नसकेका नेता हुन् । २०१३ सालमा सल्यानको त्रिवेणी गाउँपालिका–६ मा जन्मिएका उनी ०३४ सालमा नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशनमा आवद्ध भई राजनीतिमा होमिएका हुन् ।

त्यसपछि ०४५ सालमा मालेबाट सल्यान जिल्ला कमिटी साधारण सदस्य, ०४७ सालमा संगठनिक सदस्य, जिल्ला कमिटी सदस्य, ०५१ सालमा सल्यान निर्वाचन क्षेत्र नं.–२ बाट संसदीय निर्वाचनमा उनी उम्मेदवार भएका थिए यद्यपि उनी विजयी हुन सकेनन् ।

यस्तै ०५६ सालमा उनी मालेबाटै जिल्ला विकास समिति सल्यानको सभापति बनेका थिए । ०५५ सालमा मालेबाट सल्यान पार्टी सचिव, राप्ती अञ्चल पार्टी सचिव बने । त्यसपछि ०५७ सालमा पुनः एमाले अञ्चल कमिटी सदस्य हुँदै उनी राष्ट्रिय परिषद सदस्य बनेका थिए ।

स्नातक तहसम्मको अध्ययन गरेका उनी ०६४ सालमा एमालेबाट संविधानसभामा सल्यान क्षेत्र नं.–२ बाट उम्मेदवार बनेका थिए । तर त्यो पटक पनि उनी पराजित हुन पुगे । उनी एमालेको नवौं महाधिवेशनमा राप्ती अञ्चलबाट केन्द्रीय सदस्यको उम्मेदवार भए । त्यहाँ पनि पराजित भए । हाल उनी नेकपा एकीकृत समाजवादीको पार्टी केन्द्रीय कमिटी सदस्य, सल्यान जिल्ला इञ्चार्जको भूमिकामा छन् ।

उनले एमालेभित्र माधवकुमार नेपालको गुटमा रहेर राजनीति गरे । राजनीतिलाई समाजसेवाको रुपमा लिने बोहोरा समाजसेवाले नै आफूलाई आनन्द मिल्ने बताउँछन् ।

४. चुडामणि शर्मा (नेकपा एमाले/सुर्खेत)

एमालेबाट उम्मेदवार बनेका शर्माले पटक–पटक गरी ७ बर्ष जेलजीवन बिताएका छन् । शर्मा पनि पुराना कम्युनिष्ट नेता हुन् । उनी हालसम्म लाभको पदमा पुग्न सकेका छैनन् ।

०१२ साल वैशाखमा दैलेखको गाईबान्ना भन्ने स्थानमा जन्मिएका उनी २०३० सालमा विद्यार्थी राजनीतिबाटै राजनीतिमा आएका नेता हुन् । ०३३ सालमा उनी वामआन्दोलनमा सक्रिय भएर लागेका थिए । त्यसपछि पटक–पटक निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा उनी होमिएका थिए । त्यो बीचमा उनले जेलजीवन पनि भोग्नुप-यो । पञ्चायती व्यवस्थाको अन्त्यपछि मात्र उनी नेपालगञ्ज जेलबाट छुटेका थिए ।

यतिमात्र होइन, उनले माओवादी जनयुद्धका क्रममा मानसिक तथा शारीरिक यातना समेत भोग्नुपरेको छ ।  ०५२ मा उनी एमालेको संगठित सदस्य हुँदै जिल्ला र अञ्चल कमिटी सदस्य समेत भएर काम गरे । अहिले उनी एमालेको प्रदेश कमिटी सदस्य र प्रदेश पार्टी कार्यालय सचिव पनि छन् ।

६६ वर्षका उनी राजनीतिलाई समाजसेवा मान्छन् भने आफू समाज परिवर्तनकै लागि राजनीतिमा लागेको बताउँछन् ।

५. पदमबहादुर माझी (नेकपा एमाले/दैलेख)

एमालेबाट अपाङ्गता/अल्पसंख्यकतर्फ उम्मेदवार बनेका माझी ०५० सालदेखि सक्रिय राजनीतिमा छन् । पश्चिम दैलेखको विकट राकम कर्णाली (हाल आठबीस नगरपालिका–४) मा जन्मिएका उनले ०५१ देखि ५८ सालसम्म एमाले पार्टी गाउँ कमिटी सचिव बनेर काम गरे । त्यसपछि लगातार उनी क्षेत्रीय कमिटी सदस्य रहेर पार्टीमा काम गरिरहे । अहिले उनी जिल्ला कमिटी सदस्य छन् ।

जनयुद्धको समयमा एमालेको कार्यकर्ता भएकै आधारमा आफू गाउँबाट लखेटिन परेको उनको भनाइ छ । ०५८ सालमा गाउँबाट लखेटिएका उनी ०६३ सालसम्म बाँकेको कोहलपुरमा बसेका थिए । बाबु–आमा, छोराछोरी, श्रीमतीसहित आफूले गाउँ छाड्नु परेको उनी सम्झन्छन् । राजनीतिक यात्राको क्रममा यो नै सबैभन्दा ठुलो घटना रहेको उनी बताउँछन् ।

लामो समयदेखि पार्टीमा रहेर काम गरेको मूल्याङ्कनका आधारमा पार्टीले आफूलाई राष्ट्रियसभाको उम्मेदवार बनाएको उनको बुझाइ छ ।

६. गंगा महत, नेकपा एमाले/जुम्ला

सुर्खेतको गोगनेमा जन्मिएर बाँकेको बागेश्वरीमा हुर्किएकी गंगा महत लामोसमयदेखि पदको लाभ नपाउने नेतृमा गनिन्छिन् । ०३६ सालको वामपन्थी आन्दोलनबाट राजनीतिमा होमिएकी ०४६ सालबाट सक्रिय राजनीतिमा लागेकी हुन् ।

उनी ०५१ सालसम्म नेपाल मजदुर किसान पार्टीमा रहेर काम गरिन् । ०५२ सालमा उनी एमालेमा प्रवेश गरेकी हुन् । त्यसपछि  एमालेको सक्रिय राजनीतिमा रहेकी उनी ०७१ मा जुम्ला जिल्ला कार्यसमितिको सचिवालय सदस्य (महिला), ०७६ मा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुँदै ०७७–७८ मा केन्द्रीय सल्लाहकार परिषदको सदस्य समेत बनिसकेकी छन् ।

पुराना कम्युनिष्ट नेता स्वः डिल्लीबहादुर महतकी श्रीमती गंगा श्रीमानकै देनबाट राजनीतिमा सक्रिय भएर लाग्न सकेको बताउँछिन् । जुम्लाको चन्दनाथ नगरपालिका–७ की उनी जुम्लामा महिलाहरुको हक, अधिकार र महिला हिंसाका विरुद्धमा लड्ने नेतृको रुपमा चिनिन्छिन् ।

राजनीतिक यात्रामा ०४६ सालको आन्दोलनका क्रममा जुम्ला जिल्ला प्रशासनको कार्यालयबाट हाम फालेको घटनालाई उनी राजनीतिको एउटा ‘डार्कनेश’ भन्छिन् ।  आफूहरुले राखेका कुरा सुनुवाई नभएपछि गेटबाट भित्र जान नदिएकाले हाम फालेको उनी सुनाउँछिन् ।

उनका श्रीमान डिल्लीबहादुर महत ०६५ मा राज्यमन्त्री बनेका थिए । महतको ०६९ सालमा हृदयघातका कारण निधन भएको थियो । निर्णायक तहमा पुगेर देश र जनताको लागि केही गर्न सकिन्छ कि भनेर आफू राजनीतिमा लागेको उनी सुनाउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप