आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षमान र जर्नादनजीबीच सहमति नभए महासचिव बन्न प्रस्ताव आएको छ : देव गुरुङ

बुधबार, २१ पुस २०७८, १४ : ०६
बुधबार, २१ पुस २०७८

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले वर्षमान पुन र  जनार्दन शर्माको महासचिवमा दाबेदारी आइरहेकाले सहमतिमा लैजाने प्रयास भइरहेको बताएका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरूबाट सहमतिमा जाने कुरा चलेकोले महासचिवमा आफ्नो नाममा प्रस्ताव आएको पनि बताए ।

उनले आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पारेका हुन् ।

नेता गुरुङले भने, ‘अहिलेको सन्दर्भमा निश्चितरुपले दुई जना उम्मेदवारको बारेमा वर्षमान पुन (अनन्त) र  जनार्दन शर्मा (प्रभाकर) को सार्वजनिक रुपमा महासचिवमा दाबेदारी भनेर आइरहेको छ । उहाँहरूको दाबेदारी रहेको स्थितिमा अध्यक्ष कमरेडले सहमतिमा लैजान पाए हुन्थ्यो भनेर सहमति जुटाउने अधिकतम प्रयास गरिरहनुभएको छ । उहाँहरू दुईजना बीचमा सहमति हुन नसकिरहेको अवस्थामा तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने र सहमतिको लागि सिनियर कमरेडहरु नै खोज्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ । अध्यक्षले चाहेको अवस्थामा निर्वाचन नगराईकन सहमतिमै जानुपर्छ भनिरहेको अवस्थामा लिडरशीपले सेटिङ गरेअनुसारको जिम्मेवारी नाई नास्ती गर्ने भन्ने कुरो भएन, अस्वीकार गर्ने भन्ने कुरा हुँदैन । त्यस अवस्थामा ठिक छ तपाईंले चाहनुभएको छ, सहमतिको उम्मेदवार खोज्नुभएको छ भने राम्रो कुरा हो । यो कदमप्रति हाम्रो समर्थन हुन्छ । सहयोग हुन्छ । तोकिएका जिम्मेवारीहरू पूरा गर्न हामी तयार छौँ ।’

आफू नफर्की पदाधिकारी नबनाइयोस् भनेर पुनले आग्रह गरेका कारण पदाधिकारी चयनमा केही ढिलाइ भएको पनि उनले खुलाए । उनले भने, ‘पछिल्लो समयमा पदाधिकारी गठनको सन्दर्भमा स्थायी समितिकै सदस्य वर्षमानजी उपचारमा नै रहनु भएकोले उहाँले म नफर्कँदा सम्म पदाधिकारी नबनाइयोस्, मेरो पनि दाबी विरोध रहन्छ, भन्ने प्रकारको कुरा रहेकोले सायद अलिकति वेट एन्ड सीको रुपमा गएको हुनसक्छ । मलाई लाग्छ २५ गते मिटिङ बस्ने भनिएको छ, त्यसमा टुंगोमा पुग्ला भन्ने लाग्छ ।’

फरक प्रसङ्गमा नेता गुरुङले पार्टी र देशकै अभिभावकको रूपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताए ।  उनले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए । उनले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरूको बारेमा टुङ्गो लगाउने पनि जानकारी दिए । 

उनले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने जिकिर गरे । नेता गुरुङले पार्टीका पदाधिकारीका लागि निर्वाचन गरिनु नहुने भन्दै पदाधिकारीहरू सहमतिमै चयन गर्न आग्रह पनि गरे । उनले पदाधिकारीका लागि गरिएको निर्वाचनले क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितिमा पुग्ने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप