नवलपरासीबाट पाकिस्तान पुगेको त्यो गिद्ध फेरि फर्किएर आएन
बुटवल । सन् २०१८ मा नवलपरासीबाट उडेको एउटा गिद्ध भारत हुँदै पाकिस्तानको सीमा क्षेत्रमा पुग्यो । आहारको खोजीमा उडेको त्यो गिद्ध पाकिस्तान पुगेको पुष्टि भए पनि त्यसपछि बेपत्ता नै छ । संरक्षणकर्मी र पन्छी अध्येताहरुले सो गिद्धबारे चासो दिइरहेका छन् तर त्यसको कुनै अत्तोपत्तो छैन ।
सन् २०१८ वर्षको अगष्ट अन्तिम साता ६ वटा जंगली गिद्धलाई ट्याग र जीपीएस जोडेर नवलपरासीबाट छाडिएको थियो । तीमध्ये पाँच वटा गिद्ध अझै जीपीएसको माध्यमबाट सम्पर्कमै रहे पनि एउटा गिद्ध भने भारत हुँदै पाकिस्तान पुगेको र त्यसपछि गायब भएको अध्येताहरूको भनाइ छ ।
नेपाल पन्छी संरक्षण केन्द्रलगायतले पटकपटक त्यो गिद्धको खोजीमा चासो देखाउने गरेका छन् । नेपाल पन्छी संरक्षण संघ, गिद्ध संरक्षण कार्यक्रमका प्रबन्धक अंकित जोशीका अनुसार त्यो बेला छाडिएका ६ गिद्धमध्ये ५ वटा अहिलेसम्म सम्पर्कमा रहे पनि एउटा गिद्ध पाकिस्तान पुगेर बेपत्ता भएको छ ।
‘त्यसलाई हामीले गायब भएको मानेका छौँ, त्यो पाकिस्तानबाट फर्केर अहिलेसम्म नेपाल आएको छैन,’ उनले भने, ‘मृत्यु भएको अनुमान लगाए पनि त्यसको पुष्टि हुने आधार नभेटिएकाले हामीले अहिलेसम्म त्यसलाई गायब नै भन्ने गरेका छौँ ।’
जोशीका अनुसार त्यतिबेला छाडिएका अन्य गिद्धचाहिँ भारतका विभिन्न ठाउँ जाने गरेका र समय समयमा नेपाल फर्कने गरेका छन् । बेपत्ता भएको गिद्धको उमेर त्यतिबेला १० वर्षभन्दा कम रहेको उनले बताए । उनले भने, ‘त्यो बेला केही दिन पाकिस्तानको सीमा आसपासमै डुलेको देखिन्छ, त्यहीँबाट एकाएक सम्पर्कविहीन बन्यो,’ उनले भने, ‘उसको ढाडमा राखिएको जीपीएसको ब्याट्री चार्ज हुन नसक्ने गरी त्यो कतै घाम नलाग्ने ठाउँमा हराएको पनि हुन सक्छ ।’
गिद्ध संरक्षणमा चासो
गिद्ध पछिल्लो समय लोपोन्मुख भएपछि यसको संरक्षणमा चासो देखाइएको हो । नवलपुरको कावासोती नजिकै पिठौलीस्थित नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा सञ्चालित जटायु रेस्टुरेन्टमा अहिले ३३४ वटा गिद्ध छन् ।
यी गिद्धको वास्तविक अवस्था पत्ता लगाउन ढाडमा स्याटेलाइट, खुट्टा या पखेटामा नम्बर ट्याग लगाउने गरिएको छ । यही स्थानबाट उडेको उक्त गिद्ध सयौं किलोमिटर उडान भर्दै पाकिस्तानसम्म पुगेको थियो ।
जोशीले रातोपाटीसँग भने, ‘जटायु रेष्टुरेन्टबाट अहिलेसम्म ७९ वटा गिद्धलाई यसरी स्याटेलाइट र नम्बरका ट्याग लगाएर छाडिएको छ । यीमध्ये ४० वटा जंगली र ३९ वटा प्रजनन केन्द्रमै जन्मिएर हुर्किएका हुन् ।’
पूर्व–पश्चिम राजमार्गबाट करिब ४ किलोमिटर दक्षिणतर्फ रहेको जटायु रेस्टुरेन्ट सञ्चालन गरिएको १६ वर्ष भइसकेको छ । गिद्धलाई आहारको व्यवस्था गर्ने उद्देश्यले खोलिएका कारण यसलाई रेस्टुरेन्ट नाम दिइएको हो ।
यहाँ खुला चौरमा गिद्धलाई आहार खुवान्छ । दुई दिनमा एक पटक मृत चौपायाको शव चौरमा गिद्धको आहारका लागि राखिन्छ । जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीका अनुसार स्थानीय क्षेत्रमा मरेका पशु चौपायाको शव ल्याएर गिद्धलाई खुवाउने गरिएको छ । केही समयदेखि जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिले शहर र सडकमा छाडा भेटिएका चौपायालाई रेस्टुरेन्ट परिसरमै राख्न थालेको उनले बताए ।
आफू वातावरण र पन्छी संरक्षणमा लामो काम गर्दा गिद्धको सङ्ख्या घटिरहेको, हिन्दु धर्मअनुसार रामायणमा पनि गिद्धको महत्त्व प्रष्ट्याएकाले यसको संरक्षण गर्नुपर्छ भनेर आफू लागिपरेको चौधरी बताउँछन् । आफूले डा. हेमसागर बराल र अर्का विदेशी अध्येता डा. रिचर्ड कथवाचलाई नवलपरासीमा यसरी गिद्ध संरक्षणमा काम गर्न सकिन्छ भन्ने योजना सुनाएको र दुवै जनाले स्थलगत अध्ययनपछि जग्गा खरिद लगायतका प्रक्रिया अघि बढाएर काम सुरु गरिएको उनले जनाए ।
चौधरीका अनुसार उनले सुरुमा ५ कट्ठा जमिन खरिद गरेर गोठ निर्माण गरे । गोठ निर्माण, आहार आदि गरेर ४ लाख बजेटमा काम सुरु भएको थियो । अहिले गोठमा बुढा गाईगोरु छन् । स्थानीयवासीले पनि घरमा पालेर बुढा भइसकेका पशु चौपायालाई त्यहीँ ल्याएर छाडिदिने गरेका छन् ।
यसरी भइरहेको छ गिद्धको सङ्ख्यामा वृद्धि
आजभन्दा १६ वर्ष अघि सञ्चालनमा आएको जटायु रेष्टुरेन्टको सफलतापछि अन्य ठाउँमा पनि यस्ता रेष्टुरेष्ट खुलेका छन् । हाल रुपन्देही, दाङ, कैलाली, कास्की, सुनसरीलगायत जिल्लामा पनि गिद्धका लागि रेस्टुरेन्ट खोलिएका छन् ।
चौधरीका अनुसार यहाँ सुरुमा १७ जोडी गिद्धमात्रै भेटिन्थे । त्यतिबेला गिद्धको १७ वटा गुँड रहेकोमा अहिले ६७ वटा पुगेको उनले सुनाए ।
नेपालमा पाइने गिद्धका ९ प्रजातिमध्ये ८ प्रजाति यहाँ देखिने गरेको चौधरीले बताए । उनका अनुसार तीमध्ये ४ प्रजाति रैथाने हुन् भने बाँकी ४ प्रजाति आगन्तुक हुन् । उनीहरू जाडो छल्न र आहारको खोजीमा अन्य ठाउँबाट यहाँ आइपुगेका हुन् ।
यहाँ पाइनेमध्ये ३ प्रजाति (डङ्गुर, सानो खैरो र लामो ठुँडे गिद्ध) अति संकाटापन्न प्रजातिमा पर्छन् । विश्वभरमा २३ प्रजातिका गिद्ध पाइन्छन् ।
चितवन राष्ट्रिय निकुञ्जको हेडक्वार्टर कसरा नजिकै गिद्ध प्रजनन केन्द्र छ । यहाँ संरक्षण गरिएका गिद्धले बच्चा कोरलेपछि प्राकृतिक वासस्थानमा छाड्नुअघि जटायु रेस्टुरेन्ट ल्याइन्छ ।
रेस्टुरेन्ट परिसरमा एउटा ठुलो पिँजडा छ । त्यसमा प्रजनन केन्द्रबाट ल्याइएका गिद्धलाई ३ देखि ६ महिनासम्म राखिन्छ । त्यसपछि उनीहरूको शरीरमा जीपीएस जोडेर छाड्ने गरेको चौधरीको भनाइ छ । चार पटकमा गरेर ३९ वटा गिद्धलाई यसरी प्राकृतिक वासस्थानमा छाडिसकिएको छ ।
प्रजनन केन्द्रमा हुर्किएकालाई जंगली गिद्धको आनीबानी, ब्यहोरा, खाने तरिकादेखि हरेक कुरा सिकाउन यसरी राख्ने गरिएको उनको भनाइ छ ।
उनका अनुसार त्यहाँबाट छाडिएका गिद्ध आहारा खोज्दै दैनिक ५० किलोमिटर परसम्म पुग्ने गरेका छन् । जंगली गिद्ध भने दैनिक १०० किलोमिटर भन्दा टाढा पुग्ने गरेको पाइएको छ ।
जटायु रेष्टुरेन्टमार्फत् भइरहेको गिद्ध संरक्षणका कारण पंक्षीका प्रजाति संरक्षणमा नेपाल संसारकै ‘टप लिस्ट’मा पर्न सफल भएको चौधरीले दाबी गरे ।
उनले जटायु रेस्टुरेन्टले गरेको काम हेर्न विश्वका विभिन्न देशबाट विज्ञ आउने गरेको र प्रभावित भएर फर्कने गरेको बताए । जटायु रेस्टुरेन्ट सञ्चालन गर्न चितवन राष्ट्रिय निकुञ्ज, डब्लुडब्लुएफ, नेपाल पंक्षी संघ(बीसीएन), जुलोजिकल सोसाइटी अफ लण्डन(जेडएसएल), राष्ट्रिय प्रकृति संरक्षण कोषले सहयोग गर्ने गरेका छन् ।
विदेशीहरू शुल्क तिरेर गिद्ध हेर्न आउँछन्
गिद्ध हेर्न पनि पैसा तिरेर जानुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यहाँ पैसा तिरेरमात्र गिद्ध हेर्न पाइन्छ ।
पिठौलीमा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा सञ्चालित जटायु रेस्टुरेन्टमा पर्यटक भित्र्याउनेभन्दा गिद्ध संरक्षणमा ध्यान दिने उद्देश्यले स्थापना गरिएको हो । तर पछिल्ला दिनमा संरक्षणका सिद्धान्त बुझेका पर्यटक पनि आउन थालेका छन् । त्यो पनि नेपालीभन्दा विदेशी धेरै छन् । यहाँ आउने अधिकांश पर्यटक अमेरिका र ब्रिटेनका नागरिक छन् ।
पछिल्ला दिनमा चितवनबाट लुम्बिनी आउने पर्यटकलाई बीचबाटोमा पर्ने जटायु रेस्टुरेन्टमा लैजाने पद्धतिको विकास हुँदै गएको छ । त्यस कारणले आन्तरिक पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । तर कोभिड महामारीका बेला नेपालमै बसेका विदेशी पन्छी संरक्षणकर्मी र अध्येताहरू पनि धेरै आएका छन् ।
संयोजक चौधरीले नवलपुरमा रहेको जटायु रेस्टुरेन्ट पन्छीप्रेमी पर्यटकको रोजाइको पर्यटकीय गन्तव्य बन्दै गएको बताए । उनले खासगरी गिद्धले आहार खाने बेला हेर्न आउनेको सङ्ख्या धेरै हुने गरेको बताए । त्यसका लागि टिकटको व्यवस्था गरिएको छ । नेपालीलाई ३ सय र विदेशीलाई १ हजार रुपैयाँ शुल्क तोकिएको छ । उनीहरूले त्यो रकम तिरेपछि गिद्धले आहार खाएको हेर्न पाउने, तस्बिर खिच्न पाउने र अन्य विवरण पनि त्यहाँ बताइदिने गरेको चौधरी बताउँछन् ।
संरक्षणप्रति धेरैको चासो बढ्दै
गत वर्षको वैशाखमा मात्रै नवलपरासीको रामग्राम क्षेत्रमा एकै ठाउँमा ७० भन्दा बढी गिद्ध मरे । सो घटनाले धेरैको ध्यान केन्द्रित भयो । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–४ जितपुरमा एकैसाथ ६७ गिद्ध मरेको अवस्था भेटिएका थिए । त्यस दुई दिनपछि अरू ३ वटा गिद्ध मृत भेटिएका थिए ।
अनुसन्धानको क्रममा विष प्रयोग गरेर मारिएका कुकुरको सिनो खाएका कारणले ती गिद्धको मृत्यु भएको खुलेको थियो । सडकका कुकुरलाई विष खुवाएर बाँधेर जंगलमा छाडियो अनि ती मृत कुकुरहरूलाई गिद्धले सिकार गर्दा कुकुरको शरीरमा रहेको विषका कारण गिद्ध मरेको अनुसन्धानबाट खुलेको थियो । सिकारी प्रजातिको पन्छी भए पनि गिद्धले आफै सिकार गर्दैन । मरेका जनावरको सिनो नै उसको आहारा भएकोले यसको संरक्षणमा बेला बेला समस्या आउने संरक्षणकर्मी बताउँछन् ।
गिद्धलाई प्रकृतिको कुचीकार अर्थात् सफाइकर्मीका रूपमा पनि लिने गरिन्छ । अग्ला सिमलका रूख मासिँदै जानेलगायतका कारण प्राकृतिक रूपमा रहने गिद्धको सङ्ख्या कम हुँदै जाँदा जटायु रेस्टुरेन्टले केही हदसम्म यसको संरक्षणमा मद्दत पुगेको उनको दाबी छ ।
नेपालमा पाइनेमध्ये डंगर, सानो खैरो, लामो ढुंडे र सुन गिद्ध अति सङ्कटापन्न अवस्थामा छन् । सेतो गिद्ध सङ्कटापन्न सूचीमा छ भने हिमाली, राज र हाड फोर गिद्ध सङ्कटको नजिक छन् ।
लामो ठुँडे गिद्ध, राज गिद्ध र खैरो गिद्ध जाडो मौसममा बसाइँ सरेर नेपाल आउँछन् र बच्चा कोरलेर जान्छन् । अरू ६ प्रजातिका गिद्ध यहीँका रैथाने हुन् ।
गिद्ध संरक्षणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका तथा अध्ययन अनुसन्धान गरिरहेका व्यक्तिहरूका अनुसार नेपालमा अहिले सबै प्रजातिका गिद्धको कुल सङ्ख्या २० हजारभन्दा कम रहेको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?