‘मिसेस् नेपाल’ दीक्षाको शिक्षा : प्रेम विवाहले सहज भयो
दीक्षा केसी
गत शनिबार मात्र मैले ‘मिसेस् नेपाल वर्ल्ड २०२१’ को ताज पहिरिएँ । आर्मी अफिसर्स क्लबमा आयोजित ग्रान्ड फिनालेमा २३ प्रतियोगीलाई पछि पार्दै मैले उपाधि चुमेकी हुँ । उपाधिका साथ मैले अमेरिकामा आयोजना हुने ‘मिसेस् वर्ल्ड’ नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेकी छु । यसका लागि सबैको साथ र सहयोगको अपेक्षा छ ।
‘मिसेस् वर्ल्ड’ मा मेरो प्रतिनिधित्व नेपालका लागि पहिलो हो । त्यसैले, मेरो नाममा एउटा रेकर्ड बन्न लागेको छ । त्यो हिसाबले म निकै खुसी छु । साथसाथै डर पनि लागिरहेको छ । त्यो डर जितेर सबैको भरोसा कायम राख्न सकौँ, देशको नाम उचो गर्न सकौँ भन्ने छ ।
केही समयपछि आफूलाई समाजसेवामा भिजाउने, ग्रुमिङ गर्ने लगायतका प्रशिक्षणमा जुट्नेछु । परिवार, आफन्त र साथीभाइ र राज्यको साथ, सहयोगको अपेक्षा गरेकी छु । प्रतियोगिताले ‘मिसेस् वर्ल्ड’ मा दिएको सहभागिताको अवसर केही होइन । मैले यहीँकै प्रतियोगितामा जीवनको लक्ष्य भेट्टाएँ । मैले आफूलाई के के कुरोमा फोकस राख्नुपर्ने, कसरी अगाडि बढ्नुपर्ने सब सिकेँ । म फेसन डिजाइनर पनि हुँ । यो सिकाइले अव मलाई जीवन अगाडि बढाउन सहयोग मिल्नेछ । आगामी दिनमा मलाई मेन्टल हेल्थमा पनि काम गर्न मन छ ।
‘मिसेस् वर्ल्ड’ लक्ष्य
‘मिसेस् नेपाल वर्ल्ड’ को उपाधि जित्दा सुरुमा पत्याउन सकिन । चारैतिरबाट बधाईको ओइरो आएपछि र मिडियामा छाएपछि मात्र बल्ल म विजेता भएछु भन्ने लाग्यो । उपाधि विजेता बनेपछि एकदमै खुसी छ । यसले मलाई समाजसेवामा लाग्न प्रेरणा दिएको छ ।
मिस नेपालमा भाग लिने मेरो इच्छा थियो तर विभिन्न कारणले सहभागी हुन सकिन । मिसेस् नेपाल मेरो सहभागिता सौन्दर्य प्रतियोगिताकै पहिलो थियो । सबैको साथ पाए मिसेस् वर्ल्ड पनि जित्न सक्छु भन्ने आत्मविश्वास जागेको छ ।
प्रेम विवाहले सहज
मेरो प्रेम विवाह हो । त्यसैले श्रीमान्ले मलाई राम्ररी बुझ्नु भएको छ । उहाँ हरेक कुरामा मलाई सपोर्ट गर्नुहुन्छ । सौन्दर्य प्रतियोगितामा मेरो रुचि थाहा पाउनु भएको उहाँले यसका लागि हौस्याउनु भयो । र, सहभागी भएँ ।
त्यसो त आम विवाहित महिलालाई सौन्दर्य प्रतियोगितामा भाग लिन अति कठिन छ । घरमै बुझाउन गाह्रो हुन्छ, समाजले गलत दृष्टिले हेर्छ । तर मेरो सानो उदाहरण हेर्दा हामी गर्न सक्छौँ भनेर अगाडि बढे सफलता हात पर्दो रहेछ । जुनसुकै क्षेत्रमा सफलताका लागि आफूमा आत्मविश्वास हुनुपर्छ, विवाहपछि घरमै बस्नुपर्छ भन्ने छैन । यस्ता प्रतियोगिताबाट आफूमा धेरै कुरो विकास गर्न सकिन्छ ।
अनि ‘क्राउन’ हातमा
प्रतियोगितामा म सहभागी हुँदै गर्दा मेरो पहिले फोकस ‘क्राउन’ थियो । जित्छु भन्ने लाग्थ्यो । प्रशिक्षणको क्रममा सबैसँग घुलमिल हुँदै गर्दा आफ्नो प्रतिस्पर्धी सबैजना एकदमै ट्यालेन्ट, प्रतिभाशाली, मिहिनेती पाएँ । त्यहाँ भिज्दै जाँदा सबै एकै परिवार जस्तो महसुस भयो । त्यसपछि ताज जितेपनि नजिते पनि यहाँ जे सिकेँ त्यो सबैभन्दा महत्त्वपूर्ण कुरो हो भन्ने सोच आउन थाल्यो ।
मेरो विचारमा उपाधि एक किसिमले महत्त्वपूर्ण हो । तर धेरै हदसम्म महत्त्वपूर्ण प्रतियोगितामा सहभागिता रहेछ । प्रतियोगिताको क्रममा सिकेको हरेक कुराले जीवन फरक र सुन्दर तवरले अगाडि बढाउन मद्दत पुग्छ । त्यही सोच र हिम्मतका साथ प्रतियोगितामा अगाडि बढेँ । अन्ततः ताज नै हात पर्यो ।
नारीलाई नङ्ग्याउने ?
सामान्यतया समाजको मान्यता के छ भने सौन्दर्य प्रतियोगितामा नारीलाई नङ्ग्याउने गरिन्छ । मैले पनि सुनेकी थिएँ, सहभागी हुनु अघि म पनि त्यस्तै सोच्थे । तर सहभागी भएपछि कुनै एङ्गलबाट त्यस्तो भेटिन । प्रतियोगितामा फोटो सुट, भिडियो सुट भयो । तर यस्तो पहिरनमा यसरी शरीर देखाउनु भनेर कसैले निर्देशन दिएन । ‘जुन लुगामा सजिलो लाग्छ, त्यही प्रयोग गर्नुस्’ आयोजकहरु भन्थे, ‘तपार्इंहरु मिसेस् नेपालमा आउनु भएको हो । सभ्य देखिनुपर्छ ।’
कतिपयले अंग प्रदर्शनलाई ‘ग्ल्यामर’ भन्छन् । तर मेरो मान्यता शरीर देखाउनु ग्ल्यामर होइन । शरीर ढाकेर पनि आफू राम्रो देखिन सकिन्छ । मेरो विचारमा बाहिरी रंगरुप सुन्दरता होइन । भित्री मन सफा छ भने त्यो नै सुन्दरता हो । रुपले केही हदसम्म सुन्दरता झल्काउँछ तर सुन्दर हुन भित्री मन पनि सुन्दर हुनुपर्छ ।
आफूलाई निखार्नुस्
कलाकारितामा पनि मेरो रुचि छ । कलाकारिताको अवसर आउन पनि सक्ला तर यसमा लाग्छु भन्ने छैन । समाजसेवा गर्छु तर प्रत्यक्ष राजनीति गर्दिन । मेरो सपना सबैमा खुसी बाँड्ने छ । समाजमा सौन्दर्य प्रतियोगिता काम छैन भन्छन् । मेरो विचारमा यसबाट क्षमता वृद्धि गरेर धेरै अवसर प्राप्त गर्न सकिन्छ । प्रतियोगिताबाट अनुशासन सिक्न सकिन्छ । आफ्नो क्षमता निखार्न सकिन्छ । यो एकदमै राम्रो प्लेटफम हो । म त सबै महिलाहरुलाई भन्छु कि जीवनमा एकपटक यस्ता प्रतियोगितामा भाग लिएर आफूलाई निखार्नुस् । त्यसले समाजमा अगाडि बढ्न सहज हुन्छ ।
मिसेस् नेपाल वर्ल्ड दीक्षा केसीसँग रातोपाटीकर्मी कुवेर गिरीको कुराकानीमा आधारित ।