शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

आ–आफ्नै चटारो : नेतालाई निर्वाचनको, मतदातालाई कामको

सोमबार, २७ कात्तिक २०७४, ११ : ३०
सोमबार, २७ कात्तिक २०७४

 भक्तपुर– नेता, कार्यकर्ता र दललाई निर्वाचको चटारो भएपनि भक्तपुरका गाउँबस्तीका सर्वसाधारण मतदालाई भने मंसिर मास लागेको छ । 

आगामी मंसिर २१ गते दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा क्रियाशिल दलहरु आन्तरिक तयारीमा व्यस्त छन् । यता, मतदाताहरु भने धान भित्राइ सकेर गहुँ छर्न व्यस्त छन् । 

आगामी निर्वाचनका लागि भक्तपुरमा तीनवटा राजनीतिक दलबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस, एमाले र माओवदी केन्द्रबीचको गठबन्धन र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बीच तीव्र प्रतिस्पर्धा हुने देखिएको हो । दलहरु स्थानीयस्तरमा आफ्नो उपस्थिती बलियो देखाउन पार्टीको आन्तरिक बठैक बसेर रणनीति बनाउने तथा आकर्षक  घोषणापत्र र विकास निर्माणका कुरा गरेर मतदाता रिझाउने प्रयासमा छन् । 

मतदाताको गुनासो 
वि.स २०३६ सालदेखि परिर्वतनका लागि मतदान गर्दै आएपनि राजनीतिक व्यवस्था मात्र परिर्वतन भएको तर जनताको दिनचर्या उस्तै रहेको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का इन्द्र बहादुर भण्डारीको गुनासो छ  । खेतमा गहुँ छर्ने तयारी गर्दै गरेकी सकुन्ताला थापाले रातोपाटीसँग कुरा गर्दै भनिन् ‘हामीलाई मल, बिउ, उत्पादित वस्तुको राम्रो मुल्य दिने व्यवस्थ गर्न सक्ने नेता चाहियो । ’

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भक्तपुरका १ लाख ७८ हजार ९९ मतदाताले मतदान गर्दैछन् । जसमध्ये ९१ हजार ६ सय १४ महिला, ८७ हजार ४ सय ८० पुरुष र ५ तेस्रोलिङ्गी छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि ६७ जनाको उम्मेदवारी परेको छ । जसमध्ये, निर्वाचन क्षेत्र नम्बर १ मा तीन स्वतन्त्र सहित ९ दलका ३३ र क्षेत्र नम्बर २ मा तीन स्वतन्त्र सहित १० दलका ३४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । 

१ मा पालैपालो , २ मा को ?
प्रतिनिधी सभातर्फ  जिल्लाका दुईवटा क्षेत्रमध्ये भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका पार्टी सचिव प्रेम सुवालले उम्मेदवारी दिएका छन् । सुवालसँगै नेपाली कांग्रेसका बाबुराजा जोशी र बाम गठबन्धनको तर्फबाट मिलन सुवाल उम्मेदवार छन् । भक्तपुरको सबैभन्दा रोमाञ्चक क्षेत्र नं २ हो । यो क्षेत्रमा २०४८ सालदेखि नै नेपाली कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका छन् । २०४८ मा कांग्रेसले, ०५१ मा नेमकिपाले, ०५६ मा कांग्रेसले, ०६४ मा नेमकिपाले र ०७० मा कांग्रेसले जित्दै आएको छ । 

यो क्षेत्रमा प्रतिनिधिसभातर्फ कांग्रेसका नेता एवं पूर्वसभामुख दमननाथ ढुंगानासँग एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेत प्रतिस्पर्धामा छन् । साथमा नेमकिपाकी अनुराधा थापामगर पनि प्रतिस्पर्धी हुन् ।

उता प्रदेशसभातर्फ क्षेत्र नं १ ‘१’ मा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको वडा नम्बर १० पर्दछ । स्थानीय चुनावमा यो क्षेत्रमा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो । नेमकिपाले एउटै वडामा मात्रै वडा अध्यक्ष जितेको थियो । यस अर्थमा यो क्षेत्रमा एमाले बलियो देखिएको छ ।  एमालले जिल्ला सचिव हरिशरण लामिछानेलाई उठाएको छ । यस क्षेत्रमा नेमकिपाले भने युवा नेता नीरज लवजूलाई उठाएको छ ।  जीवन खत्री यो क्षेत्रमा कांग्रेसबाट उम्मेदवार छन् ।

क्षेत्र नं १ ‘२’ भक्तपुर नगरपालिकाको ९ वटा वडा पर्दछ । यो क्षेत्रमा नेमकिपाका सुरेन्द्रराज गोसाई, कांग्रेसले अनिल भुजु र वाम गठबन्धनबाट रोमन शिलाकार उम्मेदवार  छन् । क्षेत्र नं २ ‘१’ सूर्यविनायकमा एमालेका शशीजंग थापा, अंगद खड्का र नेमकिपाका तर्फबाट पत्रकार सरोजराज गोसाईं चुनावी मैदानमा छन् । 
क्षेत्र नं २ ‘२’ मा कांग्रेसका पूर्व जिल्ला सभापति गणेशमान चक्रधर र एमालेका राजेन्द्रमान श्रेष्ठबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसक्षेत्रमा नेमकिपाले प्रेमजंग थापालाई उम्मेदवार बनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप