आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रोजगार होइन स्वरोजगार हुनुहोस् : मन्त्री गहतराज

बुधबार, २१ पुस २०७८, ०७ : ०७
बुधबार, २१ पुस २०७८

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले युवाहरू स्वरोजगार हुनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गहतराजले रोजगारीको मात्र उद्देश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताएका हुन् । 

अरूको अधीनमा रहेर रोजगार गर्नुभन्दा आफ्नै क्षमताले स्वरोजगार हुन बढी लाभदायी हुने उल्लेख गर्दै मन्त्री गहतराजले भने, “रोजगार होइन स्वरोजगार हुने प्रयास गरौँ ।” राष्ट्रिय युवा परिषद् र आइडिया स्टुडियो नेपालको साझेदारीमा सञ्चालित “युवा नवप्रवर्तन/इन्क्युवेसन नीति प्रयोगशालामा आधारित” पाँच दिने तालिमको समापन समारोहमा सहभागी हुन ललितपुर पुगेका मन्त्री गहतराजले देशभित्रै स्वरोजगार हुन सम्भव छ भन्ने मान्यता स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताए । 

तालिममा सहभागी सातै प्रदेशका युवाहरूलाई सम्बोधन गर्दै मन्त्री गहतराजले विदेशमा गएर जस्तो सुकै काम गर्न तयार युवा पुस्ता स्वदेशमा श्रम गर्न भने लजाउने गरेको बताए । नेपाल सरकारद्वारा सञ्चालित युवा लक्षित कार्यक्रमको सदुपयोग गर्दै स्वदेशमै आत्मनिर्भर हुन मन्त्री गहतराजले युवाहरूलाई आग्रह समेत गरे । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा लगायत सातै प्रदेशका युवाहरूको सहभागी रहेको थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप