सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा शृङ्खलाबद्ध मूर्ति चोरी, दुई जना पक्राउ

मङ्गलबार, २० पुस २०७८, १९ : २७
मङ्गलबार, २० पुस २०७८

ललितपुरमा शृङ्खलाबद्ध रुपमा मुर्ति चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–२ घर भएका २३ वर्षका नेशनल योञ्जन र ललितपुर महानगरपालिका–२० नःटोल घर भएका ४५ वर्षका सानुलाल महर्जन छन् ।

२०७८ मंसिर यता ५ ठाउँबाट मूर्ति चोरेर बेचेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए ।

मोटरसाइकलमा हिँड्ने योञ्जनले मूर्ति चोर्ने गरेको र ती मूर्ति सानुलालले किन्ने गरेको प्रहरीको भनाइ छ । ‘चोरीको मूर्ति महर्जनले किन्ने गरेको स्वीकारेका छन्,’ एसएसपी पोखरेल भन्छन्, ‘उनले १५ देखि २० हजार रुपैयाँमा मूर्ति किन्ने गरेको स्वीकारेका छन् ।’

मंसिर २७ मा ललितपुर महानगर–१२ स्थित टंगालको तंगहिटी ढुंगेधारामा रहेको दुई वटा नारायणको मूर्ति चोरी भएको थियो । तीमध्ये एउटा फेला परेको छ । मंसिर २८ मा ललितपुर महानगर–११ कुम्भेश्वर मन्दिरको मुलढोकामा जडान भएको नारायणको एक थान मूर्ति चोरी भएको थियो ।

यस्तै, २०७८ पुस १५ मा गोदावरी नगरपालिकास्थित टौखेलको पञ्चयिन मन्दिर र साउन २८ मा तापाहिटी मन्दिरबाट बुद्धको मूर्ति चोरी भएको थियो । मंसिर १४ मा गोदावरीको सिद्धेश्वर महादेव मन्दिरको नारायण र बसुन्धराको मूर्ति चोरीमा योञ्जन संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । तीमध्ये ३ वटा मूर्ति प्रहरीले बरामद गरेको छ ।

बेवारिसे मोटरसाइकल निगरानी गर्दा पक्राउ

लगातार मूर्ति चोरीमा एउटै प्रकारको मोटरसाइकल प्रयोग भएको सीसीटीभीमा देखिएपछि प्रहरी सो मोटरसाइकलको खोजीमा थियो । पुस १५ मा गोदावरी नगरपालिकास्थित टौखेलमा रहेको पञ्चयिन मन्दिरबाट ढुंगामा कुँदिएको बुद्धको मूर्ति चोरी भयो ।

घटनास्थल नजिकै एउटा मोटरसाइकल बेवारिसे अवस्थामा छोडिएको थियो । प्रहरीले सो मोटरसाइकलमाथि निगरानी बढायो । मोटरसाइकल लिन आए– रामेछापका नेशनल योञ्जन ।

योञ्जनलाई पक्राउ गरेर अनुसन्धान गर्दा टौखेलबाट चोरी भएको मूर्ति बरामद भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) प्रज्वल महर्जन बताउँछन् । बा३७प ९६७९ नम्बरको मोटरसाइकलमा चढेर उनले मूर्ति चोर्ने गरेका थिए । आरोपितबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप