शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बीमाको दर र शर्त संशोधन सम्बन्धमा भएको छलफल निष्कर्षविहीन

मङ्गलबार, २० पुस २०७८, १९ : २२
मङ्गलबार, २० पुस २०७८

काठमाडौं । बीमाको दररेट र शर्तहरु संशोधन सम्बन्धमा नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ‘ईप्पान’ को संयुक्त प्रतिनिधिमण्डल र बीमा समितिबीच मंगलबार भएको वार्ता बिना निष्कर्ष सकिएको छ ।

समितिले समस्या समाधानका लागि ठोस प्रस्ताव नल्याएको महासंघको भनाइ छ । २०७८ असोज ६ मा जारी पुनर्बीमा निर्देशिका, २०७८ मा बीमाको दररेट र शर्तहरु हालसम्म संशोधन नभएको भन्दै त्यस्तो अव्यवहारिक निर्देशिका खारेज गर्न महासंघ र ईप्पानले माग गरेका छन् ।

यस सम्बन्धमा महासंघ र ईप्पानले बीमा समितिलाई दुईपटक र प्रधानमन्त्रीलाई समेत संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाए पश्चात् बीमा समितिले महासंघ र ईप्पानलाई मंगलबार वार्तामा बोलाएको हो ।

बीमा समितिले कुनै निकास नदिएको भन्दै ईप्पान र निर्माण महासंघले निर्देशिका खारेज नभएमा संयुक्त रुपले चरणबद्घ आन्दोलन गर्ने चेतावनी दिएका छन् । निर्देशिका खारेज नभएसम्म बीमा समितिसँग कुनै पनि वार्ता तथा छलफल नगर्ने निर्णय महासंघ र ईप्पानले गरेको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विदेशी बीमा कम्पनीसँग समेत बीमा गर्ने व्यवस्था हुनुपर्ने, बीमा गर्ने कार्य ऐच्छिक हुनुपर्ने, बीमा गरेको मितिदेखि नै क्षतिपुर्ति पाउनु पर्ने, खुला अर्थबजार नीतिअनुरुप स्वस्थ प्रतिस्पर्धा गरिनु पर्ने लगायतका व्यवस्था सहितको निर्देशिका जारी गर्न महासंघका अध्यक्ष रवि सिंहले माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप