बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा गठबन्धनविरुद्ध एमाले र नेमकिपाले छुट्टाछुट्टै मनोनयनपत्र दर्ता गराए

मङ्गलबार, २० पुस २०७८, १६ : २४
मङ्गलबार, २० पुस २०७८

 आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागमती प्रदेश अन्तर्गत दुई सीटका लागि हुने उक्त निर्वाचनका लागि महिलातर्फ ३ जना र अन्यतर्फ ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेमकिपाबाट २÷२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रियसभाको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन् भने एमाले र नेमकिपा एक्लाएक्लै चुनावी मैदानमा छन् ।

गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट काठमाडौंका कृष्णप्रसाद पौडेल र महिलातर्फको एक सदस्यका लागि नेकपा एकीकृत समाजवादी पार्टीबाट मकवानपुरकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । पौडेल प्राध्यापक हुन् भने तिमल्सिना सहकारी व्यवसायी हुन् ।

त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा नेकपा एमालेबाट ललितपुरका गोपाल शाक्य र महिलातर्फ सिन्धुलीकी निरकुमारी कुँवर दर्लामीले उम्मेदवारी दर्ता गराएका छन् ।

सोही पदमा नेमकिपाबाट कृष्ण बहादुर तामाङ र महिलातर्फ भक्तपुरकी गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति प्रतिनिधि बनेर उनीहरुको उम्मेदवारी दर्ता गराएको बागमती प्रदेशका राष्ट्रियसभा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।

आगामी फागुनमा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका काँग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ । उक्त पदपूर्तिका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचन अधिकृत श्रेष्ठका अनुसार आज मनोनयन दर्ता गराएका उम्मेदवारका सन्दर्भमा भोलि दाबीविरोधको उजुरी दिन सकिनेछ । २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम हुनेछ ।

२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने छ ।

त्यस्तै आगामी माघ १२ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ । मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा रहेको हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान स्थल तोकिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष तथा प्रदेशसभा सदस्य मतदाता रहनेछन् । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३४६ मतदाता छन् । जसमा १०९ जना प्रदेशसभा सदस्य र २३७ जना स्थानीय तहका प्रतिनिधि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप