बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि गठबन्धन दल र एमालेद्वारा मनोनयन दर्ता

मङ्गलबार, २० पुस २०७८, १६ : ११
मङ्गलबार, २० पुस २०७८

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको लागि राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशमा राष्ट्रियसभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि नेकपा एमाले नेता कार्यकर्तासहित निर्वाचन आयोगको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको थियो । 

एमालेले खुलामा कास्कीका पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी महिला कोटामा नवलपुरकी लीला थनेतलाई उम्मेदवार बनाएको छ भने दलित कोटामा स्याङ्जाका अर्जुनकुमार सोनाम उम्मेदवार बनाएको छ । 

त्यसैगरी काँग्रेस, माओवादी केन्द्र लगायतका अन्य दलहरूले पौने तीन बजे निर्वाचन आयोग पुगेर उम्मेदवारी दर्ता गराएका छन् । गण्डकीमा गठबन्धनका दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी लगायतका दलका तर्फबाट सुरेश आलेमगर,दलित कोटामा भुवन सुनार र कमला पन्तलाई उम्मेदवार बनाएको छ ।

गण्डकीमा गठबन्धनमा माओवादीका तर्फबाट तनहुँका सुरेश आलेमगर र दलित कोटामा भुवन सुनार उम्मेदवार बनेका छन् भने कांग्रेसका तर्फबाट महिला कोटामा गोरखाकी कमला पन्तलाई उम्मेदवार बनाएको छ । 

मनोनयन दर्ता गरेपछि काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी कमला पन्तले पार्टीहरूबीचको सहमतिमा गठबन्धन बनाएर अगाडी बढेकाले जीत सुनिश्चित भएको बताइन । मुलुकमा विकसित राजनीतिक घटनाक्रमले नै सत्तारुढ दलहरुबीच गठबन्धन बनाउने अवस्था आएको उनको प्रतिक्रिया थियो ।

गण्डकीमा प्रदेशसभामा एमालेको २७ सांसद रहेका छन् । त्यसमध्ये एमालेको १ हजार २ सय ९६ मतभार प्राप्त गर्दछ । १५ सांसद रहेको काँग्रेससँग ७ सय २० मतभार छ भने १२ सांसद रहेको माओवादीसँग ५ सय ७६ मत रहेको छ । त्यसैगरी जनमोर्चा र जनता समाजवादीसँग ९६/९६ मत रहेको छ । 

स्थानीय तहतर्फ काँग्रेसका ८३ जनप्रतिनिधिको तर्फबाट १ हजार ४ सय १८ मतभार रहेको छ । त्यस्तै एमालेका ७० जना जनप्रतिनिधिका तर्फबाट १ हजार २ सय ६० मत रहेको छ । माओवादीका १२ जना जनप्रतिनिधिको तर्फबाट २ सय १६ मत रहेको छ । गण्डकीमा जनमोर्चाका ३ जनप्रतिनिधिको ५४ र राप्रपाका २ जनप्रतिनिधिका तर्फबाट ३६ मत रहेको छ । 

गण्डकीमा सबै भन्दा धेरै एमालेसँग २ हजार ५ सय ५६ मतभार छ । काँग्रेससँग २ हजार १ सय ३८, माओवादीसँग ७ सय ९२ मतभार छ । गण्डकीमा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ । काँग्रेस, माओवादी र समाजवादी लगायतका दलका तर्फबाट गठबन्धन बनाएकाले उनीहरूको तर्फबाट ३ हजार १ सय ७६ मतभार हुने भएकाले गठबन्धनले चुनाव जित्ने निश्चित जस्तै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप