शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
ब्लग

नचिताएको दुर्घटनाले खल्लो बनाएको पोखरा भ्रमण

मङ्गलबार, २० पुस २०७८, १४ : ५१
मङ्गलबार, २० पुस २०७८

 परिवारका सदस्यबीच पोखरा भ्रमणमा जाने योजना बन्यो । सोही क्रममा यही १२ पुसका दिन म, मेरी आमा र सानी आमाका साथ काठमाडौंबाट गाडीमा हुँइकियौं । हामी पोखराको एक चर्चित सनडाउन रेस्टुरेन्ट गयौँ र पार्किङ लेखिएको ठाउँमा बेलुकी ७ बजेतिर आफ्नो गाडी पार्क गर्यौं । त्यहाँ ‘पार्किङ’ लेखिएको बाहेक थप अर्को कुनै साइनबोर्ड थिएन । तर गाडीबाट झरेर हिँड्ने क्रममा पार्किङ अगाडी रहेको गहिरो खुल्ला ढलमा म एक्कासी लड्न पुगें । 

नालाबाट जसोतसो म निस्कन सफल भएँ । त्यहाँ उपस्थित केही प्रत्यक्षदर्शीहरुले यो नाला लामो समयदेखि त्यतिकै खुला छ भन्ने जानकारी दिए । म उभिन नसक्ने अवस्थामा थिएँ । मेरी आमा र सानीआमाले मलाई तुरुन्तै पोखराको मेट्रोसिटी हस्पिटलमा लगे । एक्सरे रिपोर्ट आउँदा मेरो खुट्टामा ठूलो चोट लागेकाले डाक्टरले तुरुन्तै अप्रेशन गर्ने सल्लाह दिए । तर हामी पोखरा भ्रमणको क्रममा मात्र आएकाले काठमाडौंमै अप्रेशन गर्ने भन्यौं । त्यसपछि डाक्टरले सामान्य प्लास्टर गरिदिए ।  

मेट्रोसिटी हस्पिटलमा थाहा भयो कि डाक्टरका एक सहयोगी पनि त्यस नालाको शिकार बनिसकेका रहेछन् । नचिताएको दुर्घटनाले पोखरा भ्रमण खल्लो भयो । त्यसैले, हामी भोलिपल्टै काठमाडौं फर्कियौं यहाँ डा. चक्रराज पाण्डेलाई देखायौं । उहाँले पनि अप्रेशन गर्नुपर्ने भन्नुभयो  ।  सोहीअनुरुप नर्भिक अस्पतालमा अप्रेशन गर्यौं । त्यहाँ एक रात बस्नु पर्यो । 

पोखरामा हामीले जुन अनावश्यक कष्ट भोग्नुपर्यो, त्यो अरुले भोग्न नपरोस् भनेर सनडाउन रेस्टुरेन्टमा ‘कम्प्लेन’ गर्यौँ । रेस्टुरेन्टका म्यानेजर गणेश पौड्याल आएर ‘हामी क्षमाप्रार्थी छौँ, ठेकदारले गर्दा यो गल्ती भयो’ भन्नुभयो । तर क्षमाप्रार्थी भनेर पुग्नेवाला थिएन । हामीले पटक पटक सनडाउन रेस्टुरेन्ट पोखराका म्यानेजरलाई कल गरेर जिम्मेवारीको दबाव दिएपछि उहाँले पोखरा महानगरपालिका वडा नं. १८ को दोष भनेर पन्छिनु भयो । न्यायको खोजीमा हामीले पोखराको वडा नं. १८ को वडाध्यक्ष रणबहादुर थापाको सम्पर्क नम्बर पत्ता लगाएर उहाँलाई पनि सम्पर्क गर्यौं । पटक पटकको दवावपछि वडाध्यक्ष त्यहाँ गएर निरीक्षण गर्न वाध्य हुनुभयो । उहाँले वडाको दोष नभई सनडाउन रेस्टुरेन्ट र इन्जिनियरको दोष भन्नु भयो । साथै, सनडाउन रेस्टुरेन्टसँग उपचारको खर्च दावी गर्न भन्नुभयो । 

वडाध्यक्षको सुझावअनुरुप हामीले सनडाउन रेस्टुरेन्ट पोखराको मालिक निरजजीलाई सम्पर्क गर्यौं । तर यस दुर्घटनाको जानकारी पाइसकेका निरजजीले यसलाई ‘इट इज नट अ बिग डिल फर अस’ भन्नुभयो । अब प्रश्न उठ्छ, जिम्मेवारी कसको ? यस्तो गैरजिम्मेवारी र लापरवाहीले कुनै पनि व्यक्तिको ज्यान जान सक्छ । त्यस्तो लापरवाहीको शिकार अब मजस्तै थप कुनै व्यक्ति नपरोस् भन्ने हाम्रो उद्देश्य थियो । अब मैले न्याय कहाँबाट पाउने ? मेरो हिसाबले त सनडाउन रेस्टुरेन्ट नै दोषी हो । र, मलाई उचित न्याय दिनु नै उक्त  रेस्टुरेन्टको कर्तव्य हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप