मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

१० लाख रुपैयाँसम्म सुन कारोबार गर्दा नगदमै गर्न पाउनुपर्ने माग

मङ्गलबार, २० पुस २०७८, १४ : ४३
मङ्गलबार, २० पुस २०७८

सुनचाँदी व्यवसायीहरूले १० लाख रुपैयाँसम्म सुन कारोबार गर्दा नगदमै गर्न पाउनुपर्ने माग गरेका छन् । मंगलबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी नेपाल सुनचाँदी व्यवसायी महासंघले नगद कारोबारको सीमा बढाउन माग गरेका हुन् । 

हाल सुन चाँदीलगायतका बहुमूल्य धातुको कारोबार गर्दा ५० हजारसम्म मात्र नगदमा गर्न पाइने व्यवस्था छ । यसभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने प्रावधान छ । तर, यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । 

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले महानिर्देशक पौडेलसँगको भेटमा आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेश गर्न सरकारसँग आग्रह गरेका छन् । उनीहरूको जर्तीको मापदण्डमा एकरूपता कायम गर्दै १० प्रतिशत गर्नुपर्ने र लेखा परीक्षणमा एकरूपता कायम गर्नसमेत माग गरे । 

विभागका महानिर्देशक पौडेलले व्यवसायीले उठाएका मागहरूलाई अध्ययन गरी सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘व्यवसायीका समस्या समाधान गर्न विभागले सदैव सहयोग गर्दै आइरहेको छ । अब पनि के गर्न सकिन्छ त्यो अध्ययन गरी हामी आवश्यक निर्णय लिन्छौँ,’ उनले भने ।

महासंघका अध्यक्ष शाक्यले प्रष्ट कानुनी व्यवस्थाको अभावमा बजारमा व्यवसायीबीच द्विविधा उत्पन्न नहोस् र जर्ती जस्तो विषयमा व्यवसायीले आफूखुसी सीमा निर्धारण गर्दा एउटै  सामानको पसलपिच्छे फरक फरक मूल्य कायम नहोस् भन्ने उद्देश्यले आर्थिक नियमावलीमार्फत यसलाई समेट्न आग्रह गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप