शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतो अझै जसपाको नेता !

मङ्गलबार, २० पुस २०७८, १३ : १९
मङ्गलबार, २० पुस २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संसदीय दलको कार्यालयमा अहिलेसम्म जनता समाजवादी पार्टी नेपालको संसदीय दलकै नेम प्लेट झुण्ड्याइरहेका छन् । जसपाबाट लोसपा अलग भएको पाँच महिनाभन्दा बढी भइसके पनि लोसपाको संसदीय दलको कार्यालयमा राजेन्द्र महतोको कोठा अगाडि ‘जसपा संसदीय दलको नेता’ रहेको नेमप्लेट झुण्डिरहेको हो ।

तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण भइ बनेको जसपा विभाजन भइ महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताले लोसपा नेपाल गठन गरेका हुन् । तर लोसपाको संसदीय दलको कार्यालयमा जसपा र राजपा नेपाल कै नामको नेमप्लेट झुण्डिरहेको छ ।

नेमप्लेटमा रहेको पार्टीको नाम परिवर्तन गर्न लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पटक पटक त्यहाँका कर्मचारीलाई भनिसकेका छन् । तर त्यो नेमप्लेटमा रहेको नाम परिवर्तन भएको छैन । संसद् सचिवालयका अनुसार संसदीय दलको नेता र प्रमुख सचेतकको नेमप्लेटमा रहेको पार्टीको नाम परिवर्तनका लागि संसदीय दलको निर्णय आवश्यक हुन्छ । तर, त्यस्तो निर्णय आएका कारण नाम परिवर्तन हुन नसकेको सचिवालयका कर्मचारीको भनाइ छ ।

लोसपा पार्टीको संसदीय दलको नेता, प्रमुख सचेतक किटान गरी संसदीय दलको निर्णयसहितको पत्र आएमा मात्र नेमप्लेटमा रहेको पार्टीको नाम परिवर्तन गर्ने संसद् सचिवालयको अडान छ ।

लोसपा संसदीय दलका कार्यालयका अधिकृत गणेशप्रसाद सिङ्खडाले पार्टी संसदीय दलले निर्णय नगरेसम्म पार्टीको नाम फेर्न नमिल्ने बताए । ‘पार्टीमा को संसदीय दलको नेता, को प्रमुख सचेतक हो भन्ने हामीलाई कसरी थाहा हुन्छ ? दलबाटै त्यो लेखेर आएपछि मात्र हामीले नेमप्लेटमा पार्टीको नाम परिवर्तन गर्न सक्छौंं,’ उनले भने, ‘दलबाट निर्णय गरेर संसद् सचिवालयमा पठाउनुपर्छ, सचिवालयबाट हामीलाई निर्देशन आएपछि मात्र केही गर्न सक्छौं । हामीले नेताहरुलाई यसबारे जानकारी गराइसकेका छौं ।’

लोसपाको संसदीय दलको नेता तथा प्रमुख सचेतक को हुने भन्नेबारे अझै कुरा मिलेको छैन । यी निर्णय गर्नका लागि पार्टी तथा संसदीय दलको बैठक बस्नुपर्छ । संसदीय दलको नेता बन्न पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले इच्छा देखाएका छन् ।

पार्टीको बैठकले यसबारे टुङ्गो लगाउनुपर्ने भए पनि पार्टी गठन भएको पाँच महिनाभन्दा बढी भइसक्दा जम्मा एक पटकमात्र बैठक बसेको छ । नेता महतो जसपाको संसदीय दलको नेता बन्दा पनि विवाद भएको थियो । त्यतिबेला उपेन्द्र यादव पक्षलाई जानकारी नै नदिइ भक्तपुरको एउटा रिसोर्टमा गएर महतोले आफूलाई संसदीय दलको नेता घोषणा गर्न लगाएका थिए ।

जबकि संसदीय दलको नेता बन्ने इच्छा महन्थ ठाकुर र उपेन्द्र यादवको पनि थियो । पार्टीभित्रको विवादकै बीच महतोले आफूलाई संसदीय दलको नेता घोषणा गराएका थिए भने अध्यक्ष ठाकुरले मौन स्वीकृति जनाएका थिए ।

महतो संसदीय दलको नेता बनेपछि तत्कालीन राजपाको संसदीय दलमा आफू जसपा संसदीय दलको नेता रहेको नेमप्लेट लगाएका थिए । जबकि जसपाको संसदीय दलको कार्यालय संसद् भवन नम्बर २ को पाँचौं तलामा थियो । तर महतोले पुरानो राजपा संसदीय दलको कार्यालयमा नेमप्लेट लगाएका थिए । अहिले त्यहाँ लोसपाको संसदीय दलको कार्यालय रहे पनि सो बोर्ड अझै हटाइएको छैन ।

महतोले अहिले पनि लोसपाको संसदीय दलको नेता बन्न पार्टीमा दबाब दिइरहेका छन् । जसपा विभाजन हुँदा साविकमा जो जे–जे पदमा थिए, लोसपामा त्यही पद पाएपछि आफू पनि त्यसैको आधारमा संसदीय दलको नेता बन्न पाउनुपर्ने उनको दाबी रहेको सो पार्टीका नेताहरु बताउँछन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेश अध्यक्ष चयन गर्दा महतोको आपत्ति थियो । उनले जनकपुर तथा पर्सामा त्यसको विरोध गर्न लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप