आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा सत्तारुढ गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने

मङ्गलबार, २० पुस २०७८, १२ : २२
मङ्गलबार, २० पुस २०७८

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेशमा तीन सीटका लागि सत्तारुढ गठबन्धले साझा उम्मेदवार बनाउने र नेकपा एमालेले पनि उम्मेदवारी दिने भएपछि रोचक प्रतिस्पर्धा हुने देखिएको हो ।

मतभारको आधारमा प्रदेश १ मा पाँच दलीय गठबन्धन झिनो अन्तरले बलियो देखिएको छ । मतदानमा कति मतदाता सहभागी हुन्छन् भन्ने विषयले पनि नतिजालाई प्रभावित पार्ने देखिन्छ । प्रदेश १ मा नेकपा एमालेबाट राष्ट्रियसभामा निर्वाचित भएका तीन जनाको पदावधि सकिन लागेको हो । पदावधि सकिन लागेका तीनै जना नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

सत्तारुढ गठबन्धनले उक्त प्रदेश १ मा निर्वाचन हुन लागेको तीन सीटमै कब्जा जमाउने रणनीति बनाएका छन् । त्यसैले पनि एमालेलाई आफ्नो सीट जोगाउन कडा चुनौती सामना गर्नुपर्ने देखिन्छ । केन्द्रमा रहेको पाँचदलीय गठबन्धनबाहेक प्रदेश १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि गठबन्धनमा सामेल रहेकाले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको मतभार एमालेको भन्दा केही बढी देखिन्छ ।

मतभारको अवस्था

सबै मतदाता मतदानमा सहभागी भएमा र फ्लोर क्रस नभएमा प्रदेश १ का तीन वटै सीट गठबन्धनका उम्मेदवारले जित्ने देखिन्छ । स्थानीय तहका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा मतदाता हुने प्रावधान छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा कुल ३६४ मतदाता छन् । जसअनुसार प्रदेशसभाका ९२ सदस्य र स्थानीय तहतर्फ २७२ जना मतदाता छन् ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने प्रावधान छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यहरुको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरी जम्मा मतभार ९ हजार ३१२ छ ।

प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५२४ मतभार छ भने सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको कुल मतभार ४ हजार ६६८ देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कसलाई समर्थन गर्ने भन्ने प्रस्ट भइसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप