बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ओमिक्रोनपछि कोरोनाको अर्को एउटा भेरियन्ट भेटियो, ४६ पटक फेरिसकेको छ रुप

मङ्गलबार, २० पुस २०७८, १२ : १९
मङ्गलबार, २० पुस २०७८

कोरोना संकटबीच अर्को एउटा चिन्ता बढाउने खबर आएको छ । ओमिक्रोनपछि वैज्ञानिकले कोरोनाको अर्को एउटा भेरियन्ट (भेरियन्ट आइएचयू) बारे पत्ता लगाएको छ । जानकारीका अनुसार भेरियन्ट आइएचयूले ४६ पटक रुप फेरिसकेको छ । यो मूल कोभिड भाइरसको तुलनामा खोप प्रतिरोधी र संक्रामक हुनसक्ने अनुमान गरिएको छ ।

डेली मेलका अनुसार भेरियन्ट आइएचयू फ्रान्समा भेटिएको हो । फ्रान्सको मारसेलमा यो नयाँ भेरियन्टका १२ संक्रमित भेटिएका छन् । उनीहरु अफ्रिकी देश क्यामरुनबाट फर्किएका थिए ।

फ्रान्समा हाल ओमिक्रोनको कहरः

हाल भेरियन्ट आइएचयू कति घातक र संक्रामक हुनेछ, त्यो भने स्पष्ट छैन किनभने हाल फ्रान्समा ओमिक्रोन भेरियन्टको कहर छ । कोरोना संक्रमितमध्ये ६० प्रतिशत ओमिक्रोनका संक्रमित छन् । यो भेरियन्टलाई मेडिटेरानी इन्फेक्सन फाउन्डेशनले १० डिसेम्बरमा भेटेको थियो । राहतको कुरा के छ भने हाल भेरियन्ट आइएचयू तीब्र रुपमा फैलिएको भने छैन ।

यो भेरियन्ट अन्य देशमा पनि फैलिएको बारे अनुसन्धान गर्न बाँकी नै छ । भेरियन्ट आइएचयूलाई B.1.640.2  पनि भनिएको छ । यो सेप्टेम्बरमा कंगोमा भेटिएको भेरियन्ट B.1.640  भन्दा भिन्न भएको बताइएको छ ।

नयाँ भेरियन्टबारे पत्ता लगाउने समूहका प्रमुख प्राध्यापक फिलिप कोलसनले यो E484K​ म्युटेशनबाट बनेको पत्ता लागेको छ । उनका अनुसार यसैले यो भेरियन्टलाई भ्याक्सिन प्रतिरोधी बनाउँछ । अर्थात्, यसमाथि भ्याक्सिनको प्रभाव कमै हुने सम्भावना व्यक्त गरिएको छ ।

यसमा N501Y​ म्युटेशन पनि छ, जुन पहिलो पटक अल्फा भेरियन्टमा भेटिएको थियो । विज्ञका अनुसार यसैकारण यो बढी संक्रामक हुनसक्छ ।

यो नयाँ भेरियन्ट ओमिक्रोनबाट म्युटेट भएको होइन, जसलाई वैज्ञानिकले पुरानो भाइरसबाट विकसित भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप