शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

युनिलिभरको साढे ७३ टन चियापत्ति नष्ट गर्दै प्रशासन

सोमबार, १९ पुस २०७८, १८ : ३८
सोमबार, १९ पुस २०७८

मकवानपुरको स्थानीय प्रशासनले युनिलिभरको म्याद गुज्रिएको साढे ७३ टन चियापत्ति नष्ट गर्दैछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सो म्याद गुज्रिएका चियापत्ति आज सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित डम्पिङ साइडमा पुर्ने तयारी गरिएको छ ।

कार्यालयले उक्त चियापत्ति जिल्ला प्रशासन कार्यालय मकवानपुरको गत मंसिर १२ गतेको फैसला तथा पुस १८ गतेको फैसला कार्यान्वयन गर्ने निर्देशन अनुसार खाद्य नियमावली २०२७ को दफा ९ (क) बमोजिम नष्ट गर्ने तयारी गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको अगुवाइमा प्रशासनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ स्थित युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रबाट बरामद भएको ७३ हजार ५५६ किलो म्याद गुज्रिएको चियापत्ति नष्ट गर्ने तयारी गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले गत भदौ १५ गते उद्योग अनुगमनाका क्रममा उद्योगको चिया प्रशोधन केन्द्रबाट म्याद गुज्रिएका, लेबल स्पष्ट नभएका चियापत्ति फेला परेको थियो । गुज्रिएका, लेबल स्पष्ट नभएका चियापत्ति फेला परेपछि उद्योगको चिया प्रशोधन केन्द्र प्रशासनले शिल गरेको थियो ।

चिया प्रशोधन केन्द्रमा शिल गरिएको चार महिना पछि कार्यालयले चियापत्ति नष्ट गर्न लागेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा संचारकर्मीहरुको रहोबरमा शिल काटेर उक्त चिया नष्ट प्रक्रिया गरिरहेको छ।

उद्योगले विभिन्न ब्राण्डाका चियालाई प्रशोधन गरेर ‘रेड लेबल’ ब्राण्ड बनाएर विक्री वितरण गर्दै आएको छ । सोही प्रयोजनका लागि उद्योगले विभिन्न व्राण्डका २ हजार ५८६ बोरा चिया प्रशोधन केन्द्रमा भण्डारण गरेर राखेको थियो । भण्डारण गरिएको चिया मध्ये ३८५ बोरामा मात्र उपभोग्य मिति तथा अन्य विवरणहरू रहेको पाइएको छ ।

उद्योगले प्रशोधनका लागि राखेको २१ किलोका ३६६ बोरा (७ हजार ६८६ किलो) र ३६ किलोका १ हजार ८२ बोरा (६५ हजार ८७० किलो) चियापत्ति भने म्याद गुज्रिएको र लेबल तथा अन्य विवरण स्पष्ट नभएको पाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप