शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पदाधिकारी चयन नगरी माओवादी बैठक स्थगित

सोमबार, १९ पुस २०७८, १७ : ३५
सोमबार, १९ पुस २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी पुस २५ गते बस्नेगरी स्थगित गरिएको छ ।  आजको बैठकले केन्द्रीय अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि पदाधिकारी र ६३ केन्द्रीय सदस्यको मनोनयन नगरी स्थगित भएको हो । 

ललितपुरको सानेपामा बसेको बैठकमा नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डलाई पुनः अध्यक्षका लागि प्रस्ताव गरेका थिए भने लगत्तै हलले प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरेको घोषणा गरियो । त्यसपछि प्रचण्डले केन्द्रीय समिति बैठकमा सम्बोधन गरेसँगै बैठक स्थगित गरिएको हो । 

माओवादीमा पदाधिकारीको आकांक्षी धेरै भएपनि सन्तुलन मिलाउन सकस देखिएको छ । विशेषगरी महासचिवमा सहमति नजुट्दा आज पदाधिकारी चयन हुन नसकेको बताइएको छ ।

यसैबीच माओवादी केन्द्रका महासचिवका दाबेदार वर्षमान पुन मंगलबार स्वदेश फर्किने भएका छन् । जन्डिसको उपचारका लागि चीनमा रहेका उनी मंगलबार नेपाल फर्किने केन्द्रीय समिति बैठकपछि नवनिर्वाचित अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूलाई जानकारी गराए । उनले पदाधिकारी पुनकै सहभागिता समेतमा छानिने सो क्रममा बताए । 
‘वर्षमान पुन भोलि डिस्चार्ज हुनुहुन्छ । पुन र ओनसरी घर्ती पार्टीका नेताहरु हुनुहुन्छ । उहाँहरुको उपस्थितिमै पदाधिकारी चयन गर्दा ठीक हुन्छ भन्ठानेर नै २५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो।  उहाँहरूकै सहभागितामा बाँकी पदाधिकारी पनि चयन हुन्छ’, प्रचण्डको भनाइ थियो । 

पुनले पार्टी महासचिवका रुपमा आफ्नो दावी पेश गर्दै आएका छन् भने सशक्त दावेदारका रुपमा अर्का नेता जनार्दन शर्मा पनि अगाडि आएका छन् । पुन र शर्माबीच महासचिवमा रस्साकस्सी हुँदै गर्दा प्रचण्डले देव गुरुङलाई समेत महासचिवको रुपमा अघि सारेका छन् । 

महासचिवमा सहमति हुन नसक्दा सोमबारको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी चयन हुन सकेन ।  बैठकले प्रचण्डलाई अध्यक्षमात्रै घोषणा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप