बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : ४ वर्षमा एक तिहाईभन्दा बढी सांसद बने मन्त्री

मन्त्री फेरिए तर मन्त्रालयको अवस्था उस्तै
सोमबार, १९ पुस २०७८, १४ : ५४
सोमबार, १९ पुस २०७८

मकवानपुर । बागमती प्रदेशमा ४ वर्षको अवधिमा एक तिहाईभन्दा बढी सांसद् मन्त्री बनेका छन् । प्रदेश सरकार स्थापनाको ४ वर्ष पूरा हुनै लाग्दा ३८ जना प्रदेश सांसद मन्त्री र राज्यमन्त्री बनेका हुन् । यस अवधिमा बागमती प्रदेशले २९ जना मन्त्री र ९ जना राज्यमन्त्री पाइसकेको छ । बागमती प्रदेशमा अहिले १०९ सांसद छन् । प्रदेशको कुल सांसद संख्याको करिव ३५ प्रतिशत मन्त्री बनिसकेका छन् ।

हाल बागमती प्रदेशमा १४ जना मन्त्री र ४ जना राज्यमन्त्री गरी १८ जनाको मन्त्रिपरिषद् छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हालसम्म कै सबैभन्दा ठुलो मन्त्रीमण्डल निर्माण गरेका हुन् । प्रदेश सरकार स्थापना भएदेखि २०७८ भदौ २ गतेसम्म तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले ११ जना सांसद्लाई मन्त्री बनाएका थिए । उनले केशव स्थापित, कैलाश ढुंगेल, अरुण नेपाल, दावा दोर्जे लामा, रामेश्वर फुयाल, केशवराज पाण्डे, सरेश नेपाल, सरस्वती बस्नेत, शालिकराम जम्कट्टेल र युवराज दुलाल ‘शरद’लाई मन्त्री बनाएका थिए ।

त्यस्तै गत भदौ २ गते नेकपा एमालेको तर्फबाट सरकारको नेतृत्व गरेकी अष्टलक्ष्मी शाक्यले ८ मन्त्री र ४ राज्यमन्त्री गरी कुल १२ जनालाई मन्त्री बनाएकी थिइन् । ७१ दिन सरकारको नेतृत्व गरेकी उनले कृष्णप्रसाद खनाल, केशवराज पाण्डे, अजय क्रान्ति शाक्य, रचना खड्का, विजय सुवेदी, प्रदीपकुमार कटुवाल, शान्तिप्रसाद पौडेल, चन्द्र लामालाई मन्त्री तथा राज्यमन्त्रीमा जुनेलीमाया श्रेष्ठ, जीवन खड्का, सरस्वती वाटी र बद्री मैनालीलाई नियुक्त गरेकी थिइन् । शाक्यको पालमा मन्त्री बनेका खनाल एमाले छोडेर हाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् ।

एमाले विभाजनपछि संसद्बाट विश्वासको मत नपाउने भएपछि शाक्यले गत कात्तिक १० गते पदबाट राजीनामा दिइन् । कात्तिक ११ गते गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गरेका राजेन्द्र प्रसाद पाण्डेले मुख्यमन्त्री बनेको ६० दिनपछि मात्र सरकारलाई पूर्णता दिएका छन् । उनले प्रदेशमा कायम रहेको ८ वटा मन्त्रालयलाई विभाजन गरी १४ वटा बनाए ।

मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका १४ जना मन्त्री र ४ जनालाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

उनले नेकपा एकीकृत समाजवाद पार्टीका ३ जना मन्त्री, एक राज्यमन्त्री नेपाली काँग्रेसका ५ जना मन्त्री, ३ जना राज्यमन्त्री र नेकपा माओवादी केन्द्रका ५ जना मन्त्री गरी कुल १७ जना मन्त्री नियुक्त गरेका छन् भने आफूसहित १८ जनाको मन्त्रिपरिषद् निर्माण गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले नेकपा एकीकृत समाजवादीका कृष्ण प्रसाद खनाल, बसुन्धारा हुमागाई, बसन्त प्रसाद मानन्धरलाई मन्त्री बनाएका छन् भने इन्द्रमाया गुरुङलाई राज्यमन्त्री नियुक्त गरेका छन् । यस्तै, नेपाली काँग्रेसका कृष्णलाल भडेल, निमा लामा, मिलनबाबु श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, बलराम पौडेललाई मन्त्री तथा सन्तबहादुर प्रजा, कल्पना नेपाली र रजनी जोञ्छेलाई राज्यमन्त्री नियुक्त गरेका छन् । त्यस्तै, नेकपा माओवादीका शालिकराम जम्कट्टेल, कुमारी मोक्तान, घनश्याम दाहाल, विशाल खड्का र रत्न प्रसाद ढकाललाई मन्त्री नियुक्त गरिएको छ ।

२ पटक मन्त्री बन्नेहरु

बागमती प्रदेशका ३ जना सांसदले २ कार्यकाल मन्त्री बन्ने सौभाग्य पाएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका एक–एक जना दुई पटक मन्त्री बनेका हुन् ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेत शालिकराम जम्कट्टेल प्रदेश सरकार स्थापनाका बखत बनेको सरकारमा पहिलो पटक मन्त्री बनेका थिए । उनले डोरमणि पौडेल नेतृत्वको तत्कालीन सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका थिए । उनले करिव ३ वर्ष सो मन्त्रालयको जिम्मेवारी सम्हाले ।

२०७७ पुस ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सो कदम संविधान विपरीत भएको भन्दै पुस १० गते उनले पदबाट राजीनामा दिएका थिए ।

एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेकपाको आधिकारिकता बारे फैसला गर्दै सर्वोच्च अदालतले गत फागुन २३ गते दुवै पार्टीलाई साविकको अवस्थामा फर्काएपछि उनी बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी दलको नेता बने ।

एमाले विभाजन भएपछि बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्वमा काँग्रेस र माओवादी केन्द्रको गठबन्धनको सरकार बन्यो । उक्त सरकारमा पनि उनले मन्त्री बन्ने मौका पाए । उनी हाल आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । त्यसो त गठबन्धनको सरकार गठन ताका उनी मुख्यमन्त्रीको दावेदार पनि थिए ।

उता, नेकपा एमालेका केशव प्रसाद पाण्डे पनि दुई वटा सरकारमा मन्त्री बन्ने पात्र हुन् । उनी दुई पटक नै एमाले नेतृत्वको सरकारका पालामा मन्त्री बनेका थिए ।

उनी एमालेका नेता डोरमणि पौडेलको नेतृत्वको सरकारमा पहिलो पटक आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए । उनले त्यस समयमा ११५ दिन पदभार सम्हालेका थिए ।

२०७८ भदौ २ डोरमणि पौडेल नेतृत्वको सरकार ढले पनि त्यसलगत्तै उनी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा दोस्रो पटक मन्त्री बने । उनी सरकार परिवर्तनका बखत २ दिनमात्र मन्त्रीविहीन बने ।

उनी शाक्य नेतृत्वको सरकारको सुरुवाती चरणमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा रहेका थिए भने पछि भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा रहे । 

एमाले विभाजनपछि कात्तिक १० गते शाक्य नेतृत्वको सरकार ढलेपछि भने उनको पनि पद गुमेको थियो ।

त्यस्तै दुई पटक मन्त्री बन्ने अर्कापात्र हुन् नेकपा एकीकृत समाजवादीका कृष्ण प्रसाद खनाल । उनी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा भदौ २ गते पहिलो पटक मन्त्री बनेका थिए । उनले त्यस समयमा प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका थिए ।

एमालेको विवाद कै बिच मन्त्री बनेका खनाल एमाले विभाजनपछि पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा आवद्ध भए । उनले १५ दिन मन्त्रालयको जिम्मेवारी बहन गरेर कात्तिक १७ गते पदबाट राजीनामा दिएका थिए ।

खनालले दोस्रो पटक एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको गठबन्धनको सरकारमा पनि मन्त्री बन्ने अवसर पाए । उनी हाल सरकारको प्रवक्तासँगै आन्तरिक मामिला तथा मन्त्रालयको जिम्मेवारीमा छन् ।

मन्त्री फेरिए तर मन्त्रालयको अवस्था उस्तै

बागमती प्रदेशमा विगत ४ वर्षको अवधिमा दुई पार्टीका ३ जनाले सरकारको नेतृत्व गरिसकेका छन् । एमालेले २ पटक सरकारको नेतृत्व गरिसकेको छ भने एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले हाल प्रदेश सरकारको नेतृत्व गरिरहेको छ ।

यस अवधिमा प्रदेश सरकारले ३ मुख्यमन्त्री र ३८ जना मन्त्री पाइसकेको छ । एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिसकेका छन् भने दुई वटा सरकारमा गरेर २० जना त मन्त्रीमात्र बने । हाल प्रदेश सरकारमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा १८ जना मन्त्री छन् ।

प्रदेश सरकार स्थापना ताका ७ वटा मन्त्रालय थिए । अहिले १४ वटा पुगेका छन् । सरकार परिवर्तन भएसँगै जनताका लागि छुट्टै योजना ल्याउँछु भन्दै सरकारको नेतृत्वमा पुगेकाले खासै उपलब्धिमुलक काम गर्न नसकेको जनगुनासो छ । यस अघिका सरकारले विभिन्न नारा भरिएका योजना तथा कार्यक्रम ल्याए पनि त्यसले जनताको अवस्थामा भने परिवर्तन गर्न सकेको देखिँदैन ।

पछिल्ला सरकारहरुले जनता लक्षित ठोस योजना प्रस्तुत गर्न सकेका छैनन् । प्रदेश सरकार स्थापना भएको बखतका योजनाबाहेक अन्य योजना शून्य बराबर छन् । विगतका योजनालाई निरन्तरता दिनु शिवाय प्रदेशका कुनै पनि मन्त्रालयसँग विकल्प छैन ।

सरकार परिवर्तन भए पनि जनताको पक्षमा खासै योजना बन्न नसकेको प्रदेश सरकारका एक सचिवले बताए । नाम नबताउने सर्तमा उनले भने ‘म आएको एक वर्ष पनि भएको छैन । यस अवधिमा मैले तीन जना मुख्यमन्त्री र ४ जना मन्त्रीसँग काम गरिसकेँ । उहाँहरुको स्वभाव आफ्नै प्रकृतिका थिए । काम गर्दा केही समस्या पनि भयो । तर, योजनाको हिसावमा पछिल्ला मन्त्रीहरुले आफूलाई जनताको माझ सावित गर्न भने सक्नु भएन ।’

प्रदेश सरकार स्थापना ताका सबै क्षेत्रलाई समेटर बनाइएका योजना मात्र अहिले आफूहरुसँग रहेको उनले सुनाए । यस बिचमा कुनै नयाँ योजना बन्न नसकेको उनले बताए ।

बजेटका हिसावले पनि सरकार योजनाहरु साना रहेको र प्रदेशका मन्त्रालय विभाजन गरिएकाले अहिले मन्त्रालयहरु नै महाशाखा जस्ता बनेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप