शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको महासचिवमा जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने संकेत

सोमबार, १९ पुस २०७८, १४ : ३८
सोमबार, १९ पुस २०७८

नेकपा माओवादी केन्द्रको महासचिवमा नेता जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने सम्भावना बढेको छ। महासचिवमा आकांक्षी धेरै भए पनि जनार्दन शर्मा र वर्षमान पुनबीच प्रतिस्पर्धा हुने अनुमान गरिँदै आएको थियो । अन्तिम घडीमा अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाउन चाहेको बुझिएको छ । तर, शर्माले आफू चुनाव लडेर भएपनि महासचिव बनिछाड्ने बताउँदै आएका छन् । 

माओवादीको महासचिवमा नेताहरु वर्षमान पुन, जनार्दन शर्माबाहेक कृष्ण बहादुर महरा, पम्फा भुसाललगायतले पनि दावी गर्दै आएका थिए ।  महासचिवमा सन्तुलन मिलाउन सकस पर्ने देखिएपछि अध्यक्ष प्रचण्डले यसअघि चर्चामा नआएको नाम देव गुरुङलाई अघि सारेका हुन् । 

प्रचण्डले गुरुङलाई अघि सारेसँगै शर्माले कुनै पनि हालतमा आफू महासचिवको दौडबाट पछि नहट्ने अडान लिएका छन् । उनले आफ्नो नाममा सहमति नहुने हो भने चुनावी प्रक्रियामा जान समेत तयार रहेको बताएका छन् । महासचिवमा अन्तिम समयसम्म सहमति बन्न नसकेको खण्डमा माहोल चुनावतिर जाने अवस्था बनेको एक नेताले रातोपाटीलाई बताए । 

आइतबार आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले सोमबार दिउँसो ललितपुरको सानेपामा केन्द्रीय कमिटीको पहिलो बैठक बोलाएको छ । सो बैठकबाट अध्यक्षसहित पदाधिकारी चयन गर्ने कार्यतालिका छ । यस्तै मनोनयन गर्न बाँकी केन्द्रीय कमिटीका सदस्यको सूची पनि प्रस्तुत गरिने बताइएको छ । 

प्रज्ञा भवनमा आइतबार बन्दसत्रका क्रममा प्रचण्डले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका थिए भने ६३ जना मनोनयन गर्न बाँकी छ । यस्तै अध्यक्ष र पदाधिकारीको चयन गर्न पनि बाँकी राखिएको थियो । 
माओवादीको पदाधिकारीका अन्य पदमा सन्तुलन मिलाउन खासै समस्या नभएपनि महासचिवमा भने प्रचण्डकै विश्वासपात्रहरुले दावी नछाड्दा सहमति जुटाउन सकस भएको हो । महासचिवमा दावी गर्ने शर्मा र पुन दुबै प्रचण्डका विश्वासपात्र हुन् । 

 पछिल्लो समय प्रचण्डले महासचिव बनाउन चाहेका गुरुङ पार्टी विभाजन हुँदा वैद्य समूहतिर लागेका थिए । उनी बादलको नेतृत्वमा माओवादीमा फर्किएका नेता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप