सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

बलात्कारको मनोविज्ञान

सोमबार, १९ पुस २०७८, १४ : ०१
सोमबार, १९ पुस २०७८

म पीके क्याम्पस, बागबजारमा मनोविज्ञान विषयकी विद्यार्थी हुँ । समयमा नै क्लासमा पुग्नुपर्ने हुनाले बिहान सधैं हतार हुन्छ मलाई । त्यो दिन पनि अलि हतारमा थिएँ । मेरो पछिल्तिर रहेका एक हुल केटीहरु  आक्रोशमा कुरा गरिरहेका थिए । ‘त्यस्तालाई त काटिदिनु पर्ने, मारिदिनु पर्ने, अनि बल्ल थाहा हुन्थ्यो,’ भन्दै थिए । एकाबिहानै के कुराले यस्तो आक्रोश पैदा गर्यो होला यिनीहरुलाई ? भन्ने जिज्ञासाले फटाफट लम्किरहेका मेरा पाईला अचानक सुस्त भए । 

उनीहरुको कुरा बुझ्न समय लागेन । काठमाडौंको गोंगबु, नयाँबसपार्कमा बलात्कार भएको रहेछ, त्यसमा पनि नौ जना भुस्तिघ्रेहरुले एक महिलालाई बलात्कार गरेका रहेछन् । यो अप्रत्याशित खबरले मेरा गोडाहरु जमिनमा भासिएझैं भयो । शरीर काम्यो, शरीरका रौं ठाडा भए, यो चिसो पुसमा पनि म पसिनै पसिना भएँ । फेरि पनि मेरो ध्यान ती एक हुल केटीहरुले नै ताने । एकजनाले निराश भावमा भन्दै थिइन्, ‘यस्ता घटना सुन्दा त पढेरमात्र के गर्नु भन्ने लाग्छ, महिला भएर जन्मनु नै बेकार नै हो जस्तो लाग्छ ।’ 

उनीहरुका कुराले मेरो शरीर शिथिल हँुदै थियो । म भित्र पनि असुरक्षाको ज्वारभाटा दन्किन थाल्यो । जसोतसो क्लासमा पुगें । गलेको शरीर, मलिन अनुहार, आँखामा प्रश्नका भावहरु शायद मेरो शिक्षकले पढ्न भ्याउनु भएछ, ‘के भयो सिरु ?’ भनेर सोध्नु भयो । म नाजवाफ थिए । मनोविज्ञानका शिक्षकले अड्कल लगाइ सक्नु भएको थियो क्यारे, उहाँले नै पुनः सोध्नु भयो, ‘तिमीले थाहा पायो, त्यो बसपार्कमा भएको बलात्कारको घटना ?’ मैले थाहा पाएको संकेतमा टाउको हल्लाएँ । क्लासमा सोही बिषयमा कुरा हुन थाल्यो । यसका कारणहरुका वारेमा अड्कल हुन थाल्यो । हामी महिला विश्वविद्यालयका छात्राहरु यो समस्याको मनोवैज्ञानिक पक्षहरु केलाउन थाल्यौं । 

काम खोज्न दुर्गम गाउँबाट ती आएकी महिला एक सार्वजनिक स्थलमा बलात्कृत भएकी थिइन् । बलात्कारीहरुले ठाउँ सार्दै पटक पटक बलात्कार गरेका थिए । विक्षिप्त उनको मनोदशा कस्तो भएको हुँदो हो ? उनको त्यो भोगाइ मेरो कल्पना बाहिर थियो । उनका शारीरिक र भावनात्मक पीडा सम्झिदा मेरो जिउ बोझिलो भयो । के यो समस्या महिलाको मात्र हो ? मेरो दिमागमा यस्ता अनेकौ प्रश्नका भेल बगिरहेका थिए । 

तुफानझैं घुमिरहेको मेरो मानसपटल बाल्यकालमा ओर्लियो । म सानै हुँदा हजुरआमाले सिकाएको र नैतिक शिक्षामा चिच्याई चिच्याई पढेको कुरा के यी अपराधिक क्रियाकलापमा संलग्न भएका ब्यक्तिहरुले पढेनन् ? कि  यिनका परिवारका कुनै सदस्यले कसैले सिकाएनन् यिनीहरुलाई नैतिक शिक्षा ? मैले यसबेला ठूलालाई आदर सम्मान गर्नुपर्ने, सानालाई माया गर्नुपर्ने, गलत भएमा सुधार्नुपर्ने नैतिक शिक्षा खुव सम्झें । अनि कारण पत्ता लगाउन खोजे, यस्तो अपराधिक क्रियाकलापमा संलग्न हुनुको कारण के के हुन सक्ला ? 

मेरो दिमागमा ‘इमोसनल ईन्टेलिजेन्स्’ भन्ने शब्द आयो, यो मानसिक स्वास्थ्यको एउटा अङ्ग हो । मानसिक तवरले स्वास्थ्य हुनु भनेको औषधि खानुपर्ने अवस्थामा मात्र नहुनु होइन । यदि कसैले आफ्ना संवेगलाई नियन्त्रण गर्न सकनौ भने पनि ऊ मानसिक तवरले अस्वस्थ्य भएको मानिन्छ । ब्यक्तिले आफ्नो संवेगको ब्यवस्थापन हुर्किदो उमेरसंगै सिक्दछन् । यसलाई पारिवारिक सामाजिक र जेनेटिक कुराहरुले पनि निर्धारण गर्छ ।

ती पुरुषहरु जो बसपार्क बलात्कारको घटनामा संलग्न छन्, उनीहरुको पृष्ठभूमि हेर्दा उनीहरु एकै जिल्ला मुगुबासी रहेका छन् । उनीहरुबीच सामूहिक भावको गहिरो सम्बन्ध भएको हुन सक्छ । यस्तो अवस्थामा ब्यक्ति समूहको निर्णयमा हावी हुन सक्छ । भन्नुको मतलव आफ्नो संवेगको ब्यवस्थापन गर्नुको सट्टा क्षणिक उक्साहटमा समूहको निर्णय मान्छ । समूहले शक्ति र पहिचानको सिर्जना गर्दछ । र, यही क्षणिक शक्ति र पहिचानका भरमा क्षणिक खुशी र सन्तुष्टिका लागि कसै कसैले यस्तो अमानवीय कार्य गर्न पुग्दछन् । 

यसैगरी उनीहरु पारिवारिक वातावरण पनि अर्को कारण हुन सक्दछ । जस्तै उनीहरु हुर्किदै गर्दा तिनका घर परिवारका सदस्यहरुले महिलाहरुलाई कस्तो ब्यवहार गर्थे ? त्यस्तो ब्यवहारबाट ती ब्यक्तिहरुले के सिके ? परिवारमा महिलाहरुप्रति कस्तो ब्यवहार हुन्थ्यो भन्ने कुराले पनि महिलाप्रतिको दृष्टिकोण कस्तो रहेछ भन्ने थाहा पाईन्छ । यदि उनीहरुले महिलाहरु पनि पुरुषजत्तिकै समाजका अभिन्न अङ्ग हुन् भनेर बुझ्नु पर्नेमा महिलाहरु भनेको पुरुषका साधन मात्र हुन् भनेर भनेर गलत बुझेका हुन सक्दछन् । यस्तो अवस्थामा गलत कार्य गर्न उद्धत हुन्छन् । यसो भएका उनीहरुलाई सुधार गृहमा राखेर सुधार गर्न सकिन्छ । 

अर्को कुरा कतिपय पुरुषहरुले आफूनिकट, आफ्ना परिवारका महिलाहरुलाई एकदमै नियन्त्रणमा राख्ने, उनीहरुप्रति आवश्यकता भन्दा बढी नै प्रोटेक्टिभ हुने, महिलाहरुले पाउने स्वतन्त्रता, शारीरिक, मानसिक र सामाजिक गतिशिलतामा रोक लगाउने बानी हुन्छ । तर, अरु महिलाहरुप्रति भने गलत दृष्टिकोण राख्ने प्रवृत्ति पनि हुन्छ । यस्ता कुप्रवृति पनि ब्यक्तिहरु निकट समूहको प्रभाव हुन सक्दछ । यस्ता ब्यवहार कहिलेकाही जेनेटिक पनि हुन सक्दछ ।

पीडक युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौं आएका थिए । कोही त विदेश जान टिकर लिएर विमानस्थलमा समेत पुगिसकेका थिए भनिएको छ । तर क्षणिक रमाइलो र सन्तुष्टिका लागि गरिएको अमानवीय कुकार्यमा संलग्न भएका कारण उनीहरुको भविष्यसमेत बिग्रिएको छ । उनीहरुले गरेका गलत कार्यका लागि सजाय त पाउनु पर्छ नै । तर सजाय भने सुधारोन्मुख हुनुपर्छ । यस्तो अपराधिक कार्यमा संलग्न हुनेहरुको ब्यवहार र चिन्तन सुधार गर्न जरुरी छ । र, यस्तो सुधार मनोविज्ञ, मनोचिकित्सक र न्यायिक निकायहरुको सामूहिक प्रयत्नबाट मात्र सम्भव हुन्छ । 

अन्तमा, ती पीडित महिलाको शारीरिक, मानसिक र न्यायिक उपचार हुनु पर्दछ । यो संगै उनको तत्कालको सुरक्षित गाँस, बास र कपासको ब्यवस्था मिलाइनु पर्छ । उनी कामका सिलसिलामा काठमाडौं आएकी थिइन् ।  मानसिक रुपमा ठिक भएपछि उनलाई उचित रोजगार दिन जरुरी छ । उनीप्रति आश्रित उनका छोराछोरीको रेखदेखको ब्यवस्था, पढाईमा छन् भने त्यसको ब्यवस्था मिलाइनु पर्छ । र, दोषीले कडाभन्दा कडा सजाय पाउनु पर्दछ । सबैले बुझुन् कि गलत कामको परिणाम गलत नै हुन्छ ।

त्यसो त महिला अलि सजग मात्र भए पनि दुब्र्यवहारका घटना न्यून गर्न सकिन्छ । जस्तो बोल्न सक्ने क्षमतामा विकास, आफ्नो ईच्छा विरुद्धको कार्य हँुदैछ भन्ने थाहा हुनासाथ विरोध गर्ने हिम्मत, कसैले जबरजस्ती गर्दैछ भने आफ्नो सुरक्षाका लागि ठूलो आवाजमा चिच्याउने, नजिकका ब्यक्तिहरुलाई आफू जोखिममा रहेको कुरा फोन, एसएमएसमार्फत् भन्ने, सम्भव भएसम्म सुरक्षा निकायको साथ लिन सकिन्छ । 

त्यस्तै, महिलाहरुलाई  स्वसुरक्षाका लागि वालापनदेखि नै सचेत गराउन सकिन्छ । किशोरावस्थाभन्दा अगाडिको समयमा उनीहरुको संवेदनशील शारीरिक अंगको बारेमा बुझाउनु पर्छ । आफूविरुद्ध नजिकका आफन्तले पनि नराम्रो हर्कत गर्न सक्छन् । किशोरावस्थामा ‘सेल्फ डिफेन्स’का सीप सिक्न सके यस्तो बेला नडराईकन आइलाग्ने विरुद्ध जाइ लाग्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सिरू भण्डारी
सिरू भण्डारी
लेखकबाट थप