शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वीरबहादुरको त्यो इच्छा पूरा गर्ने क्रममा भयो दुर्घटना

एक छोरासहित सात जनाको मृत्यु, तीन छोरासहित कयौं आफन्त घाइते
सोमबार, १९ पुस २०७८, १२ : १२
सोमबार, १९ पुस २०७८

बुटवल–१७, रानीगञ्जका ७० वर्षीय वीरबहादुर विश्वकर्मा लामो सयमदेखि बिरामी थिए । शनिबार उनको मृत्यु भयो । धार्मिक तीर्थस्थल रिडीमा उनको दाहसंस्कार गर्ने सल्लाह भयो ।

दाहसंस्कारका लागि वीरबहादुरको शवसहित रिडीतर्फ हिँडेका मलामी सवार बस आइतबार दुर्घटना भयो, जसमा वीरबहादुरकै छोरा पशुपति लगायत ७ जनाको मृत्यु भयो । ६ भाइ छोरामध्ये चार भाइ बुबाको मलामी गएका थिए । दुई भाइ भने बाहिर रहेका कारण आएका थिएनन् । दुर्घटनामा चारमध्ये एक छोरा पशुपतिको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।

पशुपतिका आफन्त राजु विकले रातोपाटीसँग भने, ‘हामीलाई एकपछि अर्को चोट थपियो, मृत्यु हुनेमा आफन्त नै परेका छन् । घाइते पनि अधिकांश आफन्त नै छन् ।’

वीरबहादुरको त्यो इच्छा

वीरबहादुरले आफ्नो दाहसंस्कार रिडीमा होस् भन्ने इच्छा प्रकट गरेका थिए । स्थानीय शम्भु आचार्यका अनुसार उनको सोही इच्छाअनुसार शवलाई रिडी लैजाने क्रममा दुर्घटना भएको हो ।

अर्घाखाँची मालारानी गाउँपालिका–२ का मध्यम वर्गीय विश्वकर्माको परिवार बुटवलमा झरेको झन्डै एक दशक भएको थियो । गुल्मी, अर्घाखाँचीतिरका व्यक्तिको दाहसंस्कार रिडीमा गर्ने परम्परा छ । वीरबहादुरले पनि आफ्नो दाहसंस्कार रिडीमै होस् भन्ने इच्छा राखेका थिए । त्यसैले बुटवलमा निधन भए पनि उनको शवलाई अन्त्येष्टिका लागि रिडी लैजाने निधो परिवारले गरेको थियो ।

घुम्तीमा चालकले गाडी मोड्न नसक्दा पाल्पाको रिब्दीकोट गाउँपालिका–२ मा बस दुर्घटना भएको हो । बिहान ७ बजेतिर बुटवलबाट रिडीका लागि हिँडेको लु१ख ७२७९ नम्बरको बस पाल्पा–तम्घास सडकखण्डअन्तर्गत पर्ने लघुवाबाट ५५ मिटर तल खसेको हो ।

दुर्घटनामा मलामी गएका गाडीमा सवार ३५ जनामध्ये ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको मिसन अस्पताल र प्रभाव मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर छ ।

दुर्घटनामा अर्घाखाँची मालारानी गाउँपालिका–२ का शंकर विक, मोहन कुँवर, भोजेन्द्र विक, अर्जुन विक, रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ का विजय थापा, पशुपति रसाइली, खुमबहादुर थापाको मृत्यु भएको छ ।

मृतकमध्ये ४ जनाको शव गाडीले च्यापिएको अवस्थामा थियो । एस्काभेटरले गाडी हटाएर ती शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले चालक पाल्पाको रम्भा गाउँपालिका–१ का ५८ वर्षका रुक्मांगत बस्याललाई नियन्त्रणमा लिइएको बताए ।

दुर्घटनामा घाइते हुनेहरूमा बुटवल–१७ का विशाल रसाइली, सैनामैना–६ का मीरा रामदास, सोही ठाउँका श्यामबहादुर विक, बुटवल–१७ का धनबहादुर सुनार, अर्घाखाँची पाणिनी–१ का गोपाल नेपाली, अर्घाखाँची छत्रकोट–३ का लालबहादुर विक, मालारानी–२ का रमेश टोहटो, तिलोत्तमा–१४ का दिलमाया सुनार, सोही ठाउँकी तारा सुनार छन् ।

यस्तै अर्घाखाँची, मालारानी–२ का तुल्सीराम विक, सोही ठाउँका दीपक विक, बुटवल–१२ का माधवप्रसाद बस्याल, मालारानी–२ का अर्जुन रसाइली, सोही ठाउँकै लक्ष्मण टोहटो, विष्णु विक पनि घाइते छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप