साक्षी र दुःख निवृत्ति
यो ब्रह्माण्ड चेतनाले निर्मित छ । एक कोषिय जीवनलाई पनि थाहा छ कि आफ्नो संख्या वृद्धि गर्नुपर्छ । क्षणभरमा नै ब्याक्टेरिया भाइरसको संक्रमणबाट कैयौँ व्यक्तिहरू संक्रमित हुन्छन् । अहिलेको कोरोना भाइरसको वृद्धिले पनि यसलाई पुष्टि गर्दछ । बिजको रुपमा जव वनस्पति जमिनमा रोपिन्छ, निश्चित समयमा उम्रिन्छ । जमिनबाट पानी, मलखाद, वायुमण्डलबाट प्राण उर्जा अनि सूर्यको सहाराले खाना बनाउनु पर्दछ, सबै ज्ञात छ । समयसँग फुल, फल हुँदै अन्त्यमा फेरि बिज रुपमा नै रुपान्तरण हुन्छ, कहिँ ज्ञानको कमी छैन । प्रकृतिले स्वाभावअनुरुप आवश्यक पर्ने सम्पूर्ण ज्ञान पूरापूरा भरेर पठाएको छ ।
त्यसैगरी जीवजन्तुहरूमा पनि उनीहरूलाई आवश्यक पर्ने यथेष्ठ ज्ञान छ । जंगली जनावरहरू घरमा बस्दैनन् भने घरपालुवा जनावरहरू जंगलमा बस्न सक्दैनन् । जस्तो खाना प्रकृतिले निर्दिष्ट गरेको छ, त्यही आहार गर्छन् । सुत्ने, उठ्ने, खाने, आदि सबै कुरा प्रकृतिअनुरुप गर्दछन् । ऋतुचर्याअनुरुप आफ्नो आचरण गर्दछन् । त्यसैले, उनीहरू न पीडा, तनाव, कुण्ठा आदिको शिकार भएका छन्, न त रोगशोकले नै ग्रसित छन् । आफ्नो जीवन रक्षा गर्न आवश्यक ज्ञान पनि प्रशस्त मात्रामा उनीहरूमा छ ।
मानव प्रकृतिको सर्वश्रेष्ठ देन हो । उसँग मन छ, ज्ञान, बुद्धि, विवेक, प्रेम आदि सम्पूर्ण गुण जति आफूमा छ । ती सबै परमात्माले भरेर पठाएको छ, ता कि मानव परमात्मामय बन्न सकोस् । विरोधमा मात्रै कुनै पनि कुरा चम्किन्छ । त्यहीअनुरुप मनको निर्माण गरिएको छ । यो मन उत्कृष्ट बनेर परमात्मामा एक बन्न पनि सक्छ, संसारतिर रुमल्लिएर निकृष्ट बन्न पनि सक्छ । पूर्ण स्वतन्त्रता परमात्माले मानवलाई दिएको छ । हाम्रो शरीर, मन, भाव सबैलाई चलाउने त्यही चेतना वा थाहा पाउने क्षमता हो ।
प्रत्येक इन्द्रियहरूलाई आफ्नो कार्य थाहा छ । चाहे भित्री अंग या बाहिरी अंग, निरन्तर आफ्नो कार्य गरिरहेका छन् । प्रत्येक कोष–कोषमा सम्पूर्ण जानकारी छ । मुखमा खानेकुरा राखेपछि चपाउनु पर्छ भन्ने दाँतलाई थाहा छ, निल्नुपर्छ घाँटीलाई थाहा छ । पेटमा खाना पुगेपछि सप्तधातुमा रुपान्तरण गरेर नचाहिने कुरा नवद्वारहरूको माध्यमद्वारा निस्कासन हुन्छ । मुटुले आफ्नो कार्य निरन्तर गरिरहेको छ । मृगौला, फोक्सो, मस्तिष्क आदि भित्री अंगहरू आपसेआप चलिरहेका छन् ।
अनावश्यक कुराहरू शरीरभित्र छ भनेपनि घाउखटिरा आदिको माध्यमद्वारा निस्कन्छ । अर्थात् प्रत्येक कोष आफ्नो पूर्ण क्षमतामा काम गर्न चाहन्छ, शुद्धतम र पवित्रतम बन्न चाहन्छ । शरीरमा रगतको मात्रा बढाउनु पर्यो भने उच्च रक्तचाप चाहिन्छ, घटाउनु पर्यो भने न्यून रक्तचाप रहन्छ । प्रकृतिले उपहारको रुपमा दिएको यो शरीरलाई यदि हामीले प्राकृतिक ढंगबाट जिउने कला जान्यौं भने रोग, शोक, दुःख आदिको शिकार बन्नु पर्दैन ।
मानिसले जे गर्छ, मनको वशमा परेर गर्छ । विचार, इच्छा, चाहना आदिको संयुक्त रुप मन हो । यसको आफ्नै सूचना केन्द्र छ । बानी, संस्कार, संगत, पारिवारिक पृष्ठभूमि आदिको आधारमा हामी सूचना संग्रह गछौं । विगतका स्मृति र भविष्य उन्मुख विचारहरूका कारण हामी दुःखी हुने हो । विचारहरु प्रभावबाट निर्मित छन् भने ती चिन्ता, तनाव, अशान्ति आदिको कारण बन्छ । आफ्नो स्वभावबाट निर्मित छन् भने हामीहरूलाई सबैबाट मुक्त बनाएर सुख, शान्ति, आनन्दमा लैजान्छन् ।
यो ब्रह्माण्ड प्रवाहमा छ । प्रत्येक वस्तु क्षण क्षणमा परिवर्तन भइरहेका छन् । कसैको रुप हुन्छ, कसैको आकार त, कसैको रंग आदि निरन्तर परिवर्तन भइरहेको हुन्छ । आज उदाउने सूर्य र भोलि उदाउने सूर्य एक हुँदैन । वनस्पतिहरूमा नयाँ पालुवा आउने र पात झर्ने क्रिया हुन्छ । ब्रह्माण्डबाट लिएको स्वास प्रस्वास क्रियामा रुप परिवर्तन भइ सक्छ । पानी बनेर बर्षिने बर्षा रुप परिवर्तन गरेर बादल बन्छ । जन्मिदाको स्वरुप त्यसको भोलिपल्ट रहँदैन ।
पलपल विनाश छ भने पलपल सिर्जना पनि भइरहेको छ । यही तथ्यलाई हृदयङ्गम गर्दै जे हुन्छ, त्यहाँ कुनै विचारभाव प्रक्षेपण नगरी जस्ताको तस्तै देख्ने क्रियालाई साक्षी भनिन्छ । बाल्यकालमा जस्तो जान्ने क्षमता थियो, त्यो क्षमता अन्तिम स्वास हुँदा पनि रहन्छ । सम्बन्ध बन्छ, विग्रन्छ । ऋतु परिवर्तन हुन्छ, स्थान परिवर्तित हुन्छ । नदीले आफ्नो धार परिवर्तन गर्छ । बर्षा हुन्छ, शिशिर ऋतु चिसो अनि गृष्मको गर्मी सबैलाई जान्नेवाला जसरी जानेको छ, त्यसमै निरन्तर स्थित बन्दा त्यहाँ दुःख हुँदैन ।
प्रवाह रहन्छ, जव त्यसलाई रोक्न खोज्छौं, विचार भाव प्रक्षेपित गर्छौ अनि हामीमा दुःख, चिन्ता, तनाव आदि आउँछ । हामी जन्मिनुपूर्व नै हामीलाई आवश्यक पर्ने सम्पूर्ण कुरा परमात्माले उपलब्ध गराइदिएको छ । सुन्दर शरीर दिएर पठाएको छ । त्यस्तै मन, बुद्धि, विवेक, ज्ञान दिएर पठाएको छ । दिएको कुरा हामी हेर्दैनौं, पुरापुरा क्षमता प्रयोग गर्ने सामथ्र्य हामीभित्र छ । भित्र फर्किन सके ब्रह्माण्ड एक बनाउन सक्ने प्रतिभा छ । आफूभित्रको ती सम्पूर्ण क्षमता, प्रतिभाको खोजीको निमित्त साक्षी बन्नु छ । बाहिर संसार छ, भित्र चेतना अनि परम चेतना छ । बाहिर जे हुन्छ, त्यसप्रति विल्कुल कोमल बन्दै बन्दै जानु छ । ताकि विस्तारै ईश्वरको कार्यको अनुभूति गर्न सकियोस् ।
आफूले गर्ने प्रत्येक कार्यप्रति होशले भरिंदै जानु छ । स्वास चलिरहेको छ, होशमा भए पनि नभए पनि नशा नाडी चलिरहेका छन् । शरीरभित्रका विभिन्न शक्ति केन्द्रबाट उर्जा निरन्तर पुरै शरीरमा पुगिरहेको छ । विस्तारै देखिने रुपबाट अरुपमा प्रवेश गर्नुपर्दछ । साक्षीको साधना निरन्तर गर्दै जानु छ ।
मनमा आउने विचार, भावहरू परिवर्तनशील छन् । परिवर्तनशील तत्वबाट मुक्त हुन सकेको खण्डमा मात्र जीवन सुखी, शान्त, आनन्दित बन्न सक्छ । यहाँ एउटा मात्र कर्ता छ, जो सबै किट पतंग, वनस्पति, जनावर, मानव साथै चराचर जगतमा व्याप्त छ, त्यसको पहिचान गर्नु छ । जसको सुरुवात आफूबाट मात्र सम्भव छ । मेरो निमित्त मभन्दा नजिकैको कोही छैन । त्यसैले निरन्तर आफ्ना इन्द्रियलाई प्रत्याहारमार्फत् आफूभित्र फर्काएर तटस्थ बन्नु छ ।
केही पीडा छ भने त्यसप्रति तटस्थ, कतैबाट आनन्द आइरहेको छ भने त्यसप्रति तटस्थ बन्नु छ । तटस्थता हाम्रो स्वभाव हो । किनकि परमात्मा सबैमा चेतना रुपमा स्थित भएर पनि निर्लेप, निद्वन्द, निर्गुण, निराकार छ । प्रभावमा दुःख छ । जति प्रभावमा रहन्छौं, त्यति नै हिजो र भोलिमा हामी रुमलिन्छौँ, यसले द्वन्द्व बढ्छ ।
धारणा, वाद, सिद्धान्त, मान्यता आदिका साथमा हामी दुःखी बन्छौं । स्वभावमा सहजता, सरलता छ । प्रकृतिका हरेक कार्य हाम्रो हितमा हुन्छन् । यही तथ्यलाई बुझेर त्यही अनुरुपको जीवनशैली, आचरण, बानी बसाल्न साक्षीको साधना जीवनमा अपरिहार्य छ । नदीनालाको श्रोत महासागरमा लयबद्ध बनेर शान्त बन्छ । त्यसैगरी, हाम्रो श्रोत परमात्मा हो र उसैसँग लयबद्ध बन्न उसको कार्यलाई बुझ्न निरन्तर चेतनामा स्थित हुनु छ ।
वेहोशीको यात्रामा हिँड्न गुरु चाहिन्छ भने होशको यात्रा सद्गुरु विना सम्भव हुँदैन । आदतवश हामी वेहोशीमा जान्छौं । सत्मार्गका लागि निरन्तर अभ्यास चाहिन्छ । सत्संग, साधना चाहिन्छ । पलपलमा मार्गदर्शकको खाँचो पर्दछ ।
सद्गुरुदेवको प्रेम, करुणा, वात्सल्यबाट मात्र साधना अघि बढ्न सक्तछ । सत्यको बाटोमा हिँड्न सामथ्र्य चाहिन्छ । यत्रतत्र छरिएको मनलाई एक ढिक्का बनाएर लैजानु पर्दछ । मानिसको मन भीडबाट चल्छ । त्यो मनलाई त्यहाँबाट मोडेर एक्लै हिँड्न सक्ने क्षमताको विकास गर्नु छ । अभयतामा उपलब्ध हुन सद्गुरुदेवको सत्संगबाट मात्र सम्भव हुन्छ ।
दुःख निवृत्तिको निमित्त साक्षी बन्ने सौभाग्य सबैलाई प्राप्त होस् । सबैले जीवनमा सद्गुरुदेवलाई आमन्त्रण गर्न सकून् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
-
ट्रम्पलाई समर्थन गर्नु मस्कलाई पर्ला महँगो ?
-
ह्वात्तै युरिक एसिड बढाउँछन् यी चिज, हिँडडुल गर्नै हुन्छ अप्ठ्यारो
-
हिमाल हेर्न कोखेडाँडा
-
१२ बजे, १२ समाचार : 'भीआईपीलाई चोख्याउन बयान कागज' देखि 'यू-१९ क्रिकेटमा नेपालको विश्वकप यात्रा'सम्म
-
विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल