आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाका १९ सिटमा भागबण्डा मिलाउन गठबन्धनको बैठक बस्दै

आइतबार, १८ पुस २०७८, १५ : १९
आइतबार, १८ पुस २०७८

राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन गठबन्धनको बैठक बोलाइएको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो । काँग्रेस महामन्त्री गगन थापाले  भने, ‘भोलि बिहान गठबन्धनको बैठक बसेर कुन पार्टीको भागमा कति सबै टुंग्याउँछ ।’

माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि आज बस्ने भनिएको गठबन्धनको बैठक भोलि बिहान लागेको उनको भनाइ छ । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।

प्रतिपक्षी नेकपा एमाले भने एक्लै चुनावमा जानुपर्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा एमालेलाई पहिलेका ८ वटा सिट जोगाउनुपर्ने चुनौती छ । प्रदेश एक बाहेकका प्रदेशमा गठबन्धनका उम्मेदवारले जित्ने देखिन्छ । यद्यपि प्रदेश एकमा साना दल र स्वतन्त्र सांसदलाई आफ्नो पक्षमा पार्न सके गठबन्धनले चुनाव जित्न सक्ने आधार भने बाँकी छैन ।

काँग्रेस र माओवादी, एकीकृत समाजवादी र जसपा राष्ट्रियसभाको सिटमा भागबण्डा मिलाउने तयारीमा छन् । काँग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका खाली भएका चार–चार सिटमा भने भागबण्डा हुने छैन ।

काँग्रेस स्रोतले भन्यो, ‘चार सिट माओवादीको, चार सिट एकीकृत समाजवादीको र ३ सिट नेपाली काँग्रेसको खाली भएको छ । तत् तत् सिट लिने कुरा स्वाभाविक हो । त्यसपछि एमालेबाट ८ सिट बाँकी रहन्छ ।’

त्यसमा १ जनता समाजवादी दललाई दिने काँग्रेसको रणनीति छ । स्रोतका अनुसार काँग्रेसले बाँकी एक–एक सिट माओवादी र एकीकृत समाजवादीलाई दिन तयार हुनेछ । त्यसो गर्दा काँग्रेसले ७, माओवादीले ५, एकीकृत समाजवादीले ५ र जसपाले एक सिट पाउने छ । सातै प्रदेशमा मत भारका हिसाबले दोस्रो पोजिसनमा भएकाले ५ सिटमा काँग्रेसले लिने स्रोतको भनाइ छ ।

स्रोतले भन्यो, ‘काँग्रेसले राष्ट्रियसभामा कम्तीमा ८ सिट लिन्छ । माओवादीले ५, एकीकृत समाजवादीले ५ र जसपाले १ सिट पाउनेछ ।’ राष्ट्रियसभाको सिटमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीति समन्वय समितिले भागबण्डा मिलाउने बुझिएको छ । सत्तारुढ गठबन्धन १९ वटै सिट जित्ने गरी रणनीति बनाएर अगाडि बढ्ने खोजेको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप