शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त

कतै अदालतको अवरोध, कतै ठेकेदारको लापरबाही
आइतबार, १८ पुस २०७८, १५ : ०४
आइतबार, १८ पुस २०७८

विराटनगर । विराटनगरको रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त भएको छ । विभिन्न कारणले सडक विस्तारको काम सुस्त भएको जनगुनासो आइरहेपछि प्रदेशका मन्त्रीसहितको टोलीले अनुगमन गरेको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले शुक्रबार सडक विस्तार कार्यको अनुगमन गरी भइरहेको प्रगतिबारे जानकारी लिएको छ । मन्त्री कार्कीले अनुगमनका क्रममा सडक विस्तारको काम अति सुस्त रुपमा अघि बढेको भन्दै गति प्रदान गर्न रानी–इटहरी–धरान व्यापारिक मार्ग आयोजनाका कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्री कार्कीले कतिपय स्थानमा ठेकेदारको लापारवाहीका कारण सडक विस्तारको कामले गति लिन नसकेको भन्दै जस्तोसुकै हालतमा पनि सडक काम रोकिन नहुनेमा जोड दिए । रानी–इटहरी–धरान व्यापारिक मार्ग आयोजनाका इन्जिनियर उमेश दासले विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको सडक विस्तारको काम अहिलेसम्मको भौतिक प्रगति ६० प्रतिशत पूरा भएको बताए । धेरै स्थानमा सडक विस्तारको क्रममा विवाद भएर काम अघि बढ्न नसकेको उनको भनाइ छ ।

आयोजनाका अनुसार अहिलेसम्म २८ किलोमिटर सडक कालोपत्रे गर्ने काम पूरा भएको छ । यो सडक विस्तारको काम आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न हुनुपर्ने भए पनि पटक–पटक म्याद थपिँदै आएको छ । थपिएको पछिल्लो समयअनुसार २०८० सालभित्र रानी विराटनगर–इटहरी–धरान सडक विस्तारको काम पूरा गर्नुपर्ने छ ।

२०६९ सालबाट ठेक्का लागेर व्यापारिक मार्ग विस्तारको काम सुरु भएको थियो । आयोजनाका अनुसार कुल ४९ किलोमिटर सडक विस्तार गर्नुपर्ने भए पनि धरान, दुहवी लगायतका स्थानमा अझै ठेक्का लाग्न सकेको छैन ।

कंचनजघा एस गीताञ्जली जेभी, ठुकुचु कान्छा राम हिम्डुङ, शर्मा कान्छाराम, आशिष एपेक्स रोशन, कालिका कान्छाराम जेभी, तुक्जी रमन जेभी निर्माण कम्पनीले विभिन्न खण्ड गरेर पहिलो चरणमा विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्म नाला निर्माणदेखि ६ लेनको सडक निर्माण कार्य गरिरहेका छन् ।

आयोजनाका इन्जिनियर दासका अनुसार कुल लागत १० अर्बको आयोजनामा विराटनगरको रानीदेखि धरानको तीनकुनेसम्म पुलसहित १७ प्याकेजको कुल ४४ किलोमिटरमा ६ लेने सडक विस्तार गर्ने काम भइरहेको छ ।

रानीमा भन्सार कार्यालयका कारण लामो समयदेखि रोकिएको सडक विस्तारको काम हालैमात्र सुरु भएको छ । रानीदेखि उत्तरतर्फ तीन किलोमिटर सडक निर्माण सम्पन्न नहुँदै भत्किएकाले पुनः मर्मतको काम भइरहेको छ । यसैगरी विराटनगरको मुख्य सडक मार्ग बरगाछी चोकमा सडक भत्काएर यत्तिकै छोडिएको छ ।

आयोजनाले पटक पटक ठेकदारलाई सडक निर्माण पूरा गर्न ताकेता गर्दा पनि ठेकदार कम्पनीले अटेर गर्दै आएको आयोजनाका इन्जिनियर दासले मन्त्री कार्कीलाई जानकारी गराएका थिए । ‘हामीले धेरै पटक बरगाछी क्षेत्रको सडक निर्माणमा चासो राख्दै ठेकेदार कम्पनीलाई काम गर्न भनेका छौं,’ इन्जिनियर दासले भने, ‘तर हाम्रो कुरालाई अहिलेसम्म ठेकेदार कम्पनीले लत्याउँदै आएको छ ।’

उनका अनुसार कञ्चनजंघा एस गीताञ्जली जेभीले बरगाछी सडक निर्माणको ठेक्का पाएको थियो । सडक भत्काएको एक वर्षभन्दा बढी भए पनि पछिल्लो समय ठेकेदार कम्पनी सम्पर्कविहीन भएको उनले बताए ।

आयोजनाले पेनाल्टी स्वरूप २ करोड ३० लाख रुपैयाँ ठेकेदार कम्पनीलाई जरिवानासमेत गराएको छ । अब आयोजनाले सो कम्पनीलाई समयमै काम सम्पन्न नगरेकोमा कालो सूचीमा राख्ने तयारीसहित आवश्यक प्रक्रिया अघि बढाएको इन्जिनियर दासले बताए ।

इटहरी चोकदेखि दक्षिणतर्फको ६ लेन सडक निर्माणका क्रममा सर्वोच्च अदालत र उच्च अदालतमा परेका दुई छुट्टाछुट्टै मुद्दामा दुवै अदालतले सडक आसपासका जग्गाधनी र घरधनीको पक्षमा फैसला गरेकाले विस्तारको काम प्रभावित भएको उनको भनाइ छ ।

इन्जिनियर दासका अनुसार सर्वोच्चले २०६० जेठ २१ गते स्थानीयले भोगचलन गरेको जग्गा कानुन बमोजिम भएको र जग्गा अधिग्रहण गर्न नमिल्ने फैसला गरेको थियो । यस्तै, उच्च अदालत विराटनगरले २०७४ मङ्सिर २६ गते सडक किनारका घर–टहरा नभत्काउन र भत्काउनै परे मुआब्जा दिन आदेश दिएको थियो । अदालतको आदेशका कारण उक्त सडकखण्डमा पर्ने धरान, इटहरी र दुहबीमा घर भत्काउन समस्या देखिएकोले सडक विस्तारको काम रोकिन पुगेको छ ।

इटहरी चोकदेखि उत्तरतर्फको क्षेत्रमा भने उच्च अदालत, विराटनगरले राजमार्गको ५० मिटर जग्गा पर्ने गरी आदेश दिएको छ । हाल सो क्षेत्रमा ४० मिटरमा सडक बनिरहेको भए पनि थप १० मिटर क्षेत्रमा रहेका कतिपय घर नहटेका कारण सडकपेटी निर्माण रोकिएको इन्जिनियर दासले बताए ।

त्यसैगरी धरान बजार क्षेत्रमा ६ लेन सडक विस्तारका क्रममा १ हजारभन्दा बढी घर भत्काउन पर्ने भएपछि काम अघि बढ्न सकेको छैन । सडक अगुगमनपछि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सडक निर्माणमा बेवास्ता गर्ने निर्माण व्यवसायीलाई तत्काल काममा नआएको खण्डमा आवश्यक कारवाही थाल्ने चेतावनी दिए ।

अनुगमनपछि आयोजनाका इन्जिनियर दासलाई निर्देशन दिँदै प्रजिअ दाहालले भने, ‘सडक विस्तारको काम निकै सुस्त गतिमा भइरहेको छ । म सडक विस्तारको कामबाट पटक्कै सन्तुष्ट छैन । लापरवाही गर्ने ठेकेदारलाई अब छाड्दिनँ । बरु मेरो सरुवा भए पनि होस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप