बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

त्यसपछि जिन्दगीको यात्रा तय गर्न दिल्लीबाट नेपाल आइन् आँचल !

आइतबार, १८ पुस २०७८, १२ : २१
आइतबार, १८ पुस २०७८

साहित्यकार भवानी भिक्षुले भनेका छन्– आफ्नो यात्रा आफै तय गर्नुपर्छ । उल्लेखित भनाइलाई नै जीवनको एउटा शिक्षा मानेर आँचलले आफ्नो जिन्दगीको यात्रा आफ्नै ‘च्वाइस’ अनुसार अगाडि बढाउने सोचिछन् ।

२६ वर्ष अघि भारतको राजधानी नयाँ दिल्लीमा जन्मिएकी आँचल दत्त चौलागाईं एउटा शिक्षित युवती हुन् । अझ, नयाँदिल्ली जस्तो शहरमा बसेर ‘मास्टर इन सोशल वर्क’ सम्मको अध्ययन गरेकी उनी सुन्दर, शालिन अनि बौद्धिक पनि छन् ।

झट्ट हेर्दा लाग्छ, उनी बैंकर हुन् । त्यहाँसम्म पुग्न ल्याकत राख्ने ‘ट्यालेन्टेड गर्ल’ उनी पक्कै हुन् । उनका बुबाको चाहना पनि त्यही थियो रे ! तर उनलाई जागिरे पेसाभन्दा पनि ‘विजनेशम्यान’ बन्ने हुटहुटी जाग्योे । त्यो संयोग जुराईदियो कोरोना भाइरस (कोभिड–१९)ले ।

उसो त नेपालभन्दा पहिला भारतमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । ‘मास्टर इन सोशल वर्क’ सम्मको अध्ययन पूरा गरेकी आँचल लकडाउनका कारण दिल्लीस्थित घरमै बस्नुपर्‍यो । घरमा खाली बस्नुपरेपछि आँचलले युट्युवमा हेर्दै केक बनाउन थालिन् । ‘सुरुमा सिक्दै बनाउँदै गर्दा खासै ‘टेष्टी’ हुन्थेन,’ उनी भन्छिन्, ‘प्रयास गर्नचाहिँ छाडिनँ ।’

पछि थाहा भयो, घर नजिकै एउटा बेकरी उद्योग रहेछ । बाहिर लकडाउन भए पनि भित्रभित्रै काम गरिरहेका हुन्थे महिलाहरु । उनी त्यहीँ गएर सिक्न थालिन् । उनी एक्लो हुन थालेपछि घरमा आफ्नो भाउजु अर्थात् विमलासँग कुरा शेयर गरिन् । दुवैले प्रतिमहिना १० हजार तिरेर पाँच महिना केक बनाउन सिके । त्यसपश्चात् केही महिना घरमै बस्नुपर्‍यो ।

यस क्रममा उनी नेपाली गीतहरु सुन्न थालिन् । नेपालप्रति उनको प्रेम जागेर आयो । त्यसपछि उनले सोचिन् अब नेपाल जानुपर्छ । जिन्दगीले नयाँ मोडमा ल्याईदियो कि पुर्खाकै थलोमा रमाउनुपर्छ । त्यहीँ केही गर्नुपर्छ ।

उनीहरुको घर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ चिसापानीमा छ । ‘बुबाआमा पहिला दिल्लीमै बसे पनि पछि नेपालगञ्ज बस्दै आउनुभएको छ,’ आँचलले भनिन्, ‘वीरेन्द्रनगरमा भाइ–बुहारीहरु बस्छन् ।’

हरेकका बाबु–आमको चाहना हुन्छ– छोराछोरी पढेर जागिरे हुन् अनि ठुलो, असल मान्छे बनुन् । तर आँचललाई आफू आफ्नै तरिकाले यात्रा तय गर्नुसक्छु भन्ने लाग्यो । त्यसपछि नेपाल गएर बेकरी उद्योग खोल्ने कुरा आफ्नो बाबालाई सुनाइन् ।

‘बाबालाई सुरुमा मनाउन गाह्रो भयो । पछिचाहिँ मान्नुभयो,’ आँचलले सुनाइन्, ‘बुबाले चाहना छोरी नेपाल गएर बैंक, आइएनजिओमा जागिर गरोस् भन्ने चाहनुहुन्थ्यो । भोलि गएर यति धेरै पढेलेखेकी छोरी केक बनाउँछे भन्दा मान्छेले के भन्लान् ? भन्नुहुन्यो । तर विस्तारै बाबालाई मनाएँ ।’

०७७ पुस पहिलो साता आँचल आफ्नो भाउजुको साथमा नेपाल आइपुगिन् । त्यसपछि मामाको घरतिरको भाइ बुहारीसँग उनले आफ्नोे ‘आइडिया’ शेयर गरिन् । आइटीको अध्ययन गरिरहेकी भाइबुहारी सुष्मा थकालीलाई पनि आँचलको ‘आइडिया’ मनपर्‍यो ।

अनि तीन जना नारी आँचल, विमला र सुष्माले ‘पार्टनसीप’ मा ‘विजनेश’ गर्न सटर हेर्न थाले । त्योभन्दा पहिला वीरेन्द्रनगरको बजारक्षेत्र सबैतिर बजारको अवस्था बुझे । एक महिनाको अन्तरालपछि खोले– द केक हाउस ।

चाँडै लोकप्रिय

पिपल चौतारा वीरेन्द्रनगरको निकै व्यस्त स्थान हो । जहाँ बेला–बेला विभिन्न दलहरुका कार्यक्रमहरु समेत हुने गर्दछन् । एकातिर जनमावि (विद्यालय), एकातर्फ सडक अनि त्यसैको छेवैमा छ ‘द केक हाउस’ । जुन अहिले सबैको रोजाइस्थल बनेकोछ ।

आँचल भन्छिन्, ‘हामीले आवश्यक सामग्रीहरु भारतबाटै ल्यायौं । जब सबै तयारी गर्‍यौं, लगत्तै दोस्रो चरणको लकडाउन सुरु भयो । तीन जना महिला मिलेर के नै गर्न सक्लान् र ? बरु उतै जागिर गरेको भए बेस हुन्थ्यो भन्दै मान्छेहरुले कुरा काट्न थाले ।’

लकडाउनको समयमा घरमै बसेर ‘विजनेश’बारे आफूहरुले छलफल गरेका उनले सुनाइन् । जब लकडाउन खुल्यो (असारतिर), त्यसपछि विस्तारै केक, चक्लेट बनाउँदै व्यापार सुरु गरेको उनले बताइन् ।

‘सुरुमा आफ्नै साथीभाइहरुले अर्डर गर्न थाले । चिनेको जतिले अर्डर गर्थे । प्रतिकृया राम्रो आउन थाल्यो । त्यसपछि एउटा कार्यक्रम नै राखेर ओपनिङ गर्‍यौं,’ उनले भनिन्, ‘त्यसपछि मात्र आमा–बाबा खुसी हुनुभयो ।’

सफलता प्राप्तिका लागि पूर्ण विश्वास र नियमपूर्वक अभ्यास चाहिन्छ,’ आँचल भन्छिन्, ‘हामी चेलीहरुले थालेको बेकरी उद्योग सुर्खेतमा पहिलो थियो । मलाई पूर्ण विश्वास थियो कि चेलीहरुले पनि अवसर पाए भने गर्न सक्छन् ।’

‘द केक’मा २० देखि २५ वटा  केकको भेराईटी पाइन्छ, जुन सुर्खेतमा अन्त पाइँदैन । अन्यमा चक्लेट, कुकिज, ब्रेड, दुनोट, ब्राउनिङ, चाउमिन, कफी–चिया लगायत रेष्टुरेन्टमा पाइने सबैखाले ‘आइटम’ पाइन्छ ।

सेवाग्राही धेरैजसोले ‘रेड बेल्बेट’ मन पराउने गरेको उनले सुनाइन् । ‘चुकन्दरबाट बनेको उक्त परिकार वीरेन्द्रनगरका अन्य रेष्टुरेन्टमा पाइँदैन,’ उनले भनिन् ।

‘द केक हाउस’ अहिले पत्रकार, नेतादेखि विशेषगरी महिला, विद्यार्थीहरुको अड्डास्थल बनेको छ । अझ भन्नुपर्दा ‘टीन एज’हरुको ‘हव’ बनिरहेको छ ।

शान्त ठाउँ, एकछेउमा चकटीजस्तै झोली (जहाँ सेवाग्राहीहरु बसेर फोटो खिच्नेगर्छन्), अनि गीतको धुनसँग आफ्नै धुनमा कोही तस्वीर खिचाइरहेका हुन्छन् त कोही गीतसँगै रमाईरहेका हुन्छन् । प्रेमिल जोडीहरु हाउसभित्र बजिरहेका हिन्दी तथा नेपाली गीत सुनेर केक खाँदै मस्त रमाइरहेका हुन्छन् ।

आँचल भन्छिन्– यहाँ आउनेहरुले प्रायः ‘कम्फर्टेबल’ महसुस गर्नुहुन्छ । अझ, महिलाहरु सहज मान्नुहुन्छ । त्यसैले पनि धेरैको रोजाइमा पर्ने गरेको छ ।

अचेल ‘द केक हाउस’लाई धेरैले ‘द एभ्रिवान्स च्वाईस हाउस’ अर्थात् ‘सबैको रोजाइस्थल’ भन्ने गरेका छन् । धेरैले ‘लेडिजहरुले चलाएको रेष्टुरेन्ट’ भनेर पनि चिन्छन् ।

उनका अनुसार बेकरी उद्योग खोल्न झण्डै ४० लाख लगानी भयो । सो रकम आँचलले आफ्नै कमाइ र बैंकबाट केही लोन लिएर जोहो गरेकी हुन् । आँचल उसो त दिल्लीमा शिक्षण पनि गर्थिन् । कक्षा ११÷१२ का विद्यार्थीहरुलाई घरमै पढाउँथिन् । त्यहाँबाट उनले महिनामा ५० हजार भारु कमाई गर्थिन् । तर पनि नेपालमै केही गर्ने सोच पलाएपछि नेपाल फर्किएको उनले सुनाइन् । 

‘बेकरी उद्योग खोल्दा बुबा, दाइ कसैबाट सहयोग लिइएन,’ उनी भन्छिन्, ‘आफै मेहनत गर्ने सोचका साथ यस क्षेत्रमा यात्रा तय गरेकी हुँ । भनिन्छ नि, आफ्नो यात्रा आफै तय गर्नुपर्छ ।’

दैनिक १५–२० हजार आम्दानी

जिन्दगीमा सबै कुरा पैसा होइन तर जे गर्दा पनि पैसा चाहिन्छ । दिल्लीमै छँदा मासिक ५० हजार भारु अर्थात नेपाली ८० हजार कमाउने आँचल अहिले स्वदेशमै बेकरी उद्योग खोलेर रमाइरहेकी छन् । अहिले ‘केक हाउस’बाट दैनिक १५ हजार देखि २० हजार आम्दानी भइरहेको उनले सुनाइन् । तीन जना पार्टनर र तीन जना अन्य युवतीले रोजगारी पनि पाएका छन् । हेल्परका रुपमा काम गरेका तीनै जनाले सिक्दै, काम गर्दै अहिले आफ्नै व्यवसायजस्तै ठानिरहेका छन् । उसो त उनीहरुले यसअघि पनि अन्य ठाउँमा काम गरेका रहेछन् । ‘तर कतै कम्फर्टेबल लाग्थेन,’ हेल्परको रुपमा कार्यरत टीका थापा भन्छिन्, ‘यहाँ सबै महिला भएकाले आफ्नै परिवारजस्तो लाग्छ ।’

धेरैले नेपालमा केही गर्न सकिन्न भनेर बाहिर जाने गर्छन् । तर इच्छाशक्ति र अवसर हुने हो भने आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने उदाहरण आँचल र उनको समूहले प्रस्तुत गरेको छ । ‘म भारतमै जन्मिए पनि नेपालप्रतिको माया लाग्थ्यो । बेला–बेला नेपाली गीतहरु सुन्थेँ । बीचबीचमा दसैँ–तिहार मनाउन आइन्थ्यो,’ उनी भन्छिन्, ‘अब मर्ने पनि यतै हो के रे ! आफ्नै देशमा केही गरौं भन्ने सोच पलाएपछि यहाँ आएको हो ।’

आँचलका अनुसार मान्छेले खोज्ने भनेको सन्तुष्टि नै हो । ‘मैले चाहेको भए भारतमै बसेर पनि मासिक लाखौं पैसा कमाउन सक्थेँ । अन्य देशमा गएर जागिर पनि गर्न सक्थेँ । तर मलाई यहीँ सन्तुष्टि मिल्ने देखेर दिल्लीको सुःख, सयल सारा चिज छाडेर नेपाल आएँ ।’

उनी अनलाइनमार्फत पनि राम्रो व्यापार भइरहेको सुनाउँछिन् । अनलाइनबाट अहिलेसम्म नेपालकै विभिन्न ठाउँमात्र नभइ कोरिया, लन्डन, दुबई, जापान लगायतका ठाउँबाट पनि अर्डर आउने गरेको उनले बताइन् ।

प्रसंशा र अवसर

‘नारीले केही गर्न सक्दैनन् । नारी भनेका चुल्हो चौकामा मात्र सीमित हुन्छन् भन्ने कथनलाई एउटा गतिलो जवाफ हुन् आँचल, सुष्मा र विमला । अहिले त्यहाँ आउने अधिकांशले तीन जना नारी मिलेर चलाएको रेष्टुरेन्ट भनेर प्रशंसा गर्ने गर्छन् । सुष्मा भन्छिन्, ‘मैले यसलाई अवसरको रुपमा लिएँ । बिहान ७ बजेतिर यहाँ आउँछौं । १० देखि १ बजेसम्म कलेज जान्छु । त्यसपछि आएर यहाँ काम गरिरहेकी हुन्छु । विवाहित नारी भए पनि घरबाट राम्रो सपोर्ट भइरहेको छ ।’

आँचल आफूजस्तै नारीहरुलाई रोजगारी दिने, सिकाउने उद्देश्य रहेको बताउँछिन् । ‘जुन काम म दिल्लीमा भएको भए गर्न सक्दिनथेँ । त्यहाँ जे हुन्थ्यो, आफ्नो लागिमात्र हुन्थ्यो तर मेरो मनले त्यो चाहेन,’ उनी भन्छिन्, ‘विजनेश बढाएर धेरै युवतीलाई रोजगारी दिन सकुँ । ताकि उनीहरुले भोलि आफैँ विजनेश गर्न सकुन् ।’

त्यसो त उनलाई दिल्लीमै हुँदा धेरैले नेपालमा केही गर्न सकिँदैन, केही सम्भावना छैन भन्थे । ‘अहिले हामीले उनीहरुको धारणालाई चिर्न सकिरहेका छौं । योभन्दा आत्मसन्तुष्टिको कुरा अरु के नै हुन सक्छर ?’ आँचल भन्छिन् ।

आँचल नारी र पुरुषबीचको अन्तरभावलाई एउटै ‘रेस्पेक्ट’ दिनुपर्नेमा मत राख्छिन् ।

आगामी योजना

अब सुर्खेतमा नयाँ पहिचान दिने आँचलको सोच छ । ‘अहिले मासिक ५० हजार तिरेर पाँच वटा सटरमा सीमित छौं,’ उनले भनिन्, ‘अझै व्यवस्थापन गरेर नेपालगञ्ज, काठमाडौं, पोखरा लगायतका ठाउँमा नारीलाई नै प्रोत्साहन गरेर सक्षम बनाउने मेरो चाहना छ र, जिन्दगीमा एउटा सफल विजनेशम्यान गल्र्स बन्ने सपना छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप