बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एमसीसीको बहानामा साम्राज्यवादले नेपालमा भूमिका बढाउँदैछ : प्रलेस

आइतबार, १८ पुस २०७८, ०९ : १७
आइतबार, १८ पुस २०७८

प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले अमेरिकी साम्राज्यवादले एमसीसीको बहानामा नेपालमा भूमिका बढाउँदै गएको आरोप लगाएको छ । संघले केही पैसाका लागि नेपालको राष्ट्रियतालाई नै कमजोर पार्ने, नेपालको कानुनभन्दा एमसीसीको कानुनलाई बलियो बनाउन खोज्ने तथा अमेरिकी साम्राज्यवादको चलखेलका लागि सहज वातावरण बनाइदिने राष्ट्रघाती गतिविधि प्रलेसलाई स्वीकार्य नभएको बताएको हो । 

प्रलेस नेपालको पौष १६ र १७ गरी दुई दिनसम्म काठमाडौँमा सम्पन्न केन्द्रीय समिति तथा तेस्रो राष्ट्रिय परिषद् बैठकले देशी विदेशी शक्तिहरू गणतन्त्र तथा धर्म निरपेक्षतालाई नै समाप्त पार्ने दिशामा अग्रसर भइरहेको ठहरसमेत गरेको छ । बैठकले प्रतिगामी सोचाइका विरुद्ध गणतन्त्र तथा धर्म निरपेक्षतालाई संस्थागत गर्नेतर्फ नै प्रलेसले विशेष भूमिका खेल्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।

सङ्घका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीको अध्यक्षतामा सम्पन्न बैठकले गरेका निर्णयहरु जानकारी गराउन विज्ञप्ति जारी गरिएको छ । यस्तो छ विज्ञप्ति :

१.प्रगतिशील लेखक सङ्घको १२आंै राष्ट्रिय सम्मेलन चैत्र २५ र २६ गते काठमाडौँमा गर्ने निर्णय भएको छ । सम्मेलनलाई व्यवस्थित गर्न प्रा.डा.जीवेन्द्र देव गिरीको अध्यक्षता सम्मेलन आयोजक समिति गठन गरिनुका साथै व्यवस्थापन उपसमिति, प्रकाशन उपसमिति, स्रष्टा सम्मान उपसमिति, प्रतिवेदन मस्यौदा उपसमिति, विधान मस्यौदा उपसमिति, प्रचार प्रसार उपसमिति, स्वयंसेवक परिचालन उपसमिति र अतिथि सत्कार उपसमिति गठन गर्ने निर्णय गरिएको छ  । यसका साथै २०७८ फागुन महिनाभरि जिल्ला सम्मेलन र चैत्रको पहिलो हप्तासम्म प्रदेश सम्मेलन गर्ने निर्णय समेत गरिएको छ । 

२.प्रलेस राष्ट्रिय सम्मेलन तयारीका सन्दर्भमा अन्य प्रगतिशील घटकहरुलाई पनि समावेश गर्न अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ  जसका  सदस्यहरूमा समीर सिंह, आरसी न्यौपाने, मातृका पोखरेल र शालिग्राम तिमिल्सिना हुनुहुन्छ । 

३. मगर, लिम्बु, मैथिली र गुरुङ भाषाको प्रगतिशील साहित्यको इतिहासका  साथै नेपाली प्रगतिशील  नाटक तथा बालसाहित्यको इतिहास विषयमा  व्रmमशः लोकबहादुर थापा मगर, विजय सुब्बा, रोशन जनकपुरी, रत्नबहादुर गुरुङ, प्रा.डा. कपिल लामिछाने र विनय कसजूले तयार गर्नुभएका सामग्री पनि १२ औँ राष्ट्रिय सम्मेलनअगि नै प्रकाशन गर्ने निर्णय भएको छ । सो कार्य सम्पन्न गर्न प्रा.डा.जीवेन्द्र देव गिरी प्रधान सम्पादक रहेको एक  सम्पादक मण्डल गठन गरिएको छ । 

४. बाह्रौँ राष्ट्रिय सम्मेलनका सिलसिलामा नै सातै प्रदेशको इतिहाससहित ‘प्रलेस’को सम्मेलन विशेषाङ्क प्रकाशन गर्ने निर्णय भएको छ जसका निम्ति गोपीरमण उपाध्यायको प्रधान सम्पादकत्वमा एक सम्पादक मण्डल गठन गरिएको छ । 

५.प्रलेस प्रतिभा पुरस्कारको अक्षय कोषमा वृद्धि गर्न  आनन्द देव भट्टकी जीवन सँगिनीले  थप रु. २ लाख प्रदान गर्नु भएकोमा बैठकले धन्यवाद ज्ञापन गरेको छ । यसरी नै प्रलेस युवा प्रतिभा पुरस्कार स्थापनाका लागि अक्षय कोष स्थापनार्थ प्रा.डा.जीवेन्द्र देव गिरीले रु.१ लाख प्रदान गर्नु भएकोमा पनि बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

६. देशी विदेशी शक्तिहरू गणतन्त्र तथा धर्म निरपेक्षतालाई नै समाप्त पार्ने दिशामा अग्रसर भइरहेको सन्दर्भमा त्यस प्रकारका प्रतिगामी सोचाइका विरुद्ध गणतन्त्र तथा धर्म निरपेक्षतालाई संस्थागत गर्नेतर्फ नै प्रलेसले विशेष भूमिका खेल्नुपर्ने राष्ट्रिय परिषद्को बैठकले ठहर गरेको छ ।

७. अमेरिकी साम्राज्यवादले एम.सी.सी.को बहानामा हाम्रो भूमिमा आफ्नो भूमिका बढाउँदै गइरहेको सन्दर्भमा केही पैसाका लागि नेपालको राष्ट्रियतालाई नै कमजोर पार्ने, नेपालको कानुनभन्दा एम.सी.सी.को कानुनलाई बलियो बनाउन खोज्ने तथा अमेरिकी साम्राज्यवादको चलखेलका लागि सहज वातावरण बनाइदिने राष्ट्रघाती गतिविधि प्रलेसलाई स्वीकार्य नभएको बैठकले ठहर गर्दै मुलुकको हितविरोधी चलखेलका विरुद्ध प्रलेसको सशक्त भूमिका रहिरहने प्रतिबद्धता जाहेर गरिएको छ ।

२०७८ पुस १७ गते

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप