कविता : देश अर्थात् कम्पनी
म देशलाई
देश भन्न लालायित छु
तर, किन देश
म्यानपावर कम्पनीजस्तो भएको छ ?
उभिनु–
मानेर आफ्नो जन्मसिद्ध अधिकार
उभिन्छु देशको खुल्ला आकाशमुनि
तर, लाग्छ
म्यानपावर कम्पनीको आँगनमा उभिएर
बसिरहेछु बिक्रीको लाइनमा
हरेक नागरिकको लुगा खोल्छ देश
र दाँत गाडेर
जबरजस्ती लगाइदिन्छ ढाडमा
राहदानीको छाप
‘पावर’ गुमाएर म्याउ मात्र बाँकी रहेका
कहिल्यै ‘म्यान’ हुन नसकेका
मानौँ, यीे हुन् भिजेका दुब्ला बिराला
पुग्छन् हस्याङफस्याङ गर्दै
म्यानपावर कम्पनीमा लाइन बस्न
कहिल्यै सँगै पर्न दिएन कम्पनीले
‘म्यान’ र ‘पावर’ लाई
मालिककै हातको मसल भइरहेछ ‘पावर’
यहाँ एउटै छ मालिक
तर, को हुने मालिकको जुत्ता ?
चलिरहेछ हिंस्रक जुहारी
हेर्नोस् त
यी रुख र नागवेली खोलाहरू
यी पहाड र चम्किला हिमालहरू
यी मैदानमा झुलिरहेका धानका बोटहरू
लाइन लागिरहेछन् कम्पनीको अगाडि
कार्टुनमा प्याक गरेर बेच्दैछ कम्पनीले
पुग्नेछन् तिनीहरू समुद्र पारी
निकै चतुर छ
कम्पनीको मालिक
जसले बिक्री गर्छ मानिस खुलमखुल्ला
तर बेचेको छनकसम्म दिँदैन
फस्टाउँदो उद्यम देखेर
मख्ख परिरहेछ कम्पनीको मालिक
तर, त्यसको अनुहार मिल्दैन मेरो देशसँग
ऊ मनमनै सोचिरहेछ
यो देश नै उडाएर लैजान सकिन्छ कि एकदिन ?
केही रहेन बाँकी
तर, पनि यो देशलाई
म देश भन्न लालायित छु
तर, किन देश
म्यानपावर कम्पनीजस्तो भएको छ ?
(सिलवालको चिबेचरा कविता संग्रह २०७८ बाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’