इन्जिनियर बन्ने सपना कसरी पूरा गर्ने ?
धेरैजसो अभिभावकको सपना हुन्छ, छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउने । तर डाक्टर, इन्जिनियर बन्ने भाग्य सबैको हुँदैन । यसका लागि अभिभावकसँग रकम भएर मात्रै हुँदैन, विद्यार्थीले प्रवेश परीक्षामा कडा मिहिनेत गरेर नाम निकाल्नु पर्ने हुन्छ ।
एसईईपछि प्लस टु मा विज्ञान विषय उत्तीर्ण विद्यार्थीले डाक्टर, इन्जिनियर बन्ने सपना देख्न सक्छन् । इन्जिनियर हुन चाहनेले अनिवार्य रूपमा इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षा दिई विद्या परिषद्ले तोकेअनुसार न्यूनतम अंकभार ल्याउनु पर्छ । यसका लागि प्लस टु को रिजल्ट नआउँदै प्रायः विद्यार्थीले तयारी कक्षा ज्वाइन गरिसक्छन् ।
आर्ट, कमर्स जस्तो छ्यापछ्याप्ती छैन इन्जिनियरिङ कलेज । नयाँ शिक्षा योजनासँगै २०२९ सालमा स्थापना भएको इन्जिनियरिङ अध्ययन संस्थान अन्तरगत चारवटा आङ्गिक क्याम्पस सञ्चालित छन् । ती क्याम्पसमा ललितपुरमा रहेको केन्द्रीय क्याम्पस पुल्चोक, काठमाडौँको थापाथली क्याम्पस, धरानको पूर्वाञ्चल क्याम्पस र पोखराको पश्चिमाञ्चल क्याम्पस छन् । यसैगरी, इन्जिनियरिङ शिक्षा प्रदान गर्नका लागि त्रिविबाट सम्बन्धन प्राप्त अन्य १० वटा कलेज सञ्चालनमा छन् ।
इन्जिनियरिङ तयारी कक्षाका लागि काठमाडौँमा केही इन्स्टिच्युट छन् । धेरैजसो विद्यार्थी यस्ता इन्स्टिच्युटमा महँगो शुल्क तिरेर अध्ययन गर्छन् भने कतिपयले आफैले स्वअध्ययन गरेर पनि नाम निकाल्न सफल भएका उदाहरण छन् । कसरी गर्ने त इन्जिनियर बन्ने तयारी ?
स्वअध्ययनले नाम निकाल्न सफल सुमन
२०७७ सालको ‘आइओई इन्ट्रान्स टपर’ हुन् सुमन तामाङ । धेरैलाई पत्यार नलाग्न सक्छ, उनले कुनै पनि औपचारिक इन्स्टिच्युटको तयारी कक्षामा नपढीकनै इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गर्ने प्रतिस्पर्धात्मक बीई प्रवेश परीक्षामा उत्कृष्ट स्थान हासिल गर्न सफल भए ।
सुमनले कोटेश्वरस्थित एक कलेजबाट ‘प्लस टु साइन्स’ पढेका थिए । इन्जिनियरिङ प्रवेश परीक्षाको लागि तयारी कक्षा सञ्चालन गर्ने ‘पीईए’ले प्रवेश परीक्षाका तयारी कक्षा पढ्नका लागि छात्रवृत्ति प्रदान गर्छ । सोही छात्रवृत्तिको परीक्षाका लागि सुमनले प्रि बुकिङ गर्ने क्रममा पीईएले तयारी कक्षा सञ्चालन गर्दा पढाउने पुस्तक फेला पारे । त्यो पुस्तक हात लागेपछि उनलाई कुनै खजाना पाएझैँ महसुस भयो । त्यसपछि सिट बुक गरेर पनि पीईएमा पढ्न गएनन् ।
सुमन तामाङ कुनै पनि औपचारिक इन्स्टिच्युटको तयारी कक्षामा नपढीकनै इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गर्ने प्रतिस्पर्धात्मक बीई प्रवेश परीक्षामा उत्कृष्ट स्थान हासिल गर्न सफल भए ।
कक्षा १२ को पढाईसँगै सुमनले पीईएको पुस्तक पनि पढ्न थाले । सोही पुस्तकको आधारमा उनले कक्षा ११ बाट आएका सबै प्रश्नहरुको उत्तर निकाल्ने प्रयास गरिरहे । दसैँतिहारको बिदापछि कक्षा १२ को पढाइ सकिएसँगै उनले प्रश्नपत्र संग्रह (क्वेस्चन ब्याङ्क) को सबै प्रश्न हल गर्ने अभ्यास गर्दै गए । बानेश्वर बस्ने उनी कलेज कोटेश्वर जाँदा हुने जाममा गाडीको सिटमा पनि बीई प्रवेश परीक्षाको लागि प्रश्नपत्रहरु हल गर्थे । उनलाई यति नशा लाग्यो कि कलेजको पढाईभन्दा बीई प्रवेश परीक्षाका प्रश्नहरू हल गर्दा रमाइलो अनुभव हुन थाल्यो ।
उनको कक्षा १२ को परीक्षा वैशाख २९ मा तोकिएको थियो । तर लकडाउन सुरु भएर परीक्षा अनिश्चित भयो । वैशाख, जेठमा १२ कक्षाको परीक्षाको लागि छुट्याए पनि असार महिनाभर उनले बीई प्रवेश परीक्षाका लागि तयारी गरे । उनीसँग भएका तीनवटा क्वेस्चन ब्याङ्कमध्ये एउटा उनले कलेज पढ्दापढ्दै सकाएका थिए भने असारभरी उनले बाँकी रहेका दुईमा एउटा र अर्कोको पनि आधा अभ्यास गरिसकेका थिए ।
जसरी पनि बीईमा नाम निकाल्ने संकल्प गरेर रुटिन बनाएरै तयारीमा डटिरहे सुमन र टपर हुन सफल भए । प्लस टु पढ्दै गर्दा इन्जिनिरिङ नै पढ्ने हो भने दृढ संकल्प गर्नुपर्ने उनको सुझाव छ । हाल प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुलाई उनी समय ‘टाइम म्यानेजमेन्ट’ लाई बढी ध्यान दिनुपर्ने सुझाउँछन् । उनको अनुभवले भन्छ, कक्षा १२ पढ्दादेखि नै बीई प्रवेश परीक्षाका लागि फोकस हुनुपर्दो रहेछ । त्यसबेला आफ्नो कोर्सको बोर्ड परीक्षा र प्रवेश परीक्षा दुवैका लागि भरपुर समय मिलाउनुपर्ने उनी बताउँछन् ।
सुमनले कक्षा १२ मा सबै विषयको नोट बनाएर समय बर्बाद गर्न नहुने पनि बताउँछन् । सजिला विषयलाई थोरै समय दिने र अन्य विषयसँगै प्रवेश परीक्षाका लागि पनि उत्तिकै ध्यान दिने उनको सुझाव छ । गणित, फिजिक्स, केमेस्ट्री र अङ्ग्रेजी विषयलाई विशेष ध्यान दिएर आईओईको प्रवेश परीक्षाका लागि अभ्यास गरेको उनी बताउँछन् । अङ्ग्रेजी भाषाको ज्ञानबारे उनले रातोपाटीसँग भने, ‘पत्रिकाको अङ्ग्रेजी आर्टिकल, अङ्ग्रेजी उपन्यास पढेर भाषा राम्रो बनाउने अभ्यास गरेँ । यसले प्रवेश परीक्षामा आउने प्रश्नहरू सजिलै हल गर्न सहयोग पुग्यो ।’ उनले गणित विषयको लागि भने सकेसम्म छिटो उत्तरमा पुग्ने अभ्यास गर्ने बानी बसाल्नुपर्ने बताए ।
डेढ महिना मात्र पीईएको कक्षा लिने प्रतीक
धरानका प्रतीक दाहाल पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ पढ्दै छन् । उनी २०७६ मा इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा टपर हुन् । कक्षा १२ सम्मको पढाई धरानमा नै पूरा गरेका प्रतीकले इन्जिनियरिङ पढ्न त्यसबेला फिजिक्स विषय रोजेका थिए ।
उनले कक्षा ११ बाटै इन्जिनियरिङका लागि पूर्वतयारी थाले । कक्षा १२ पुगेपछि त उनले दसैँतिहारलगायत विभिन्न समयमा हुने बिदामा उनले प्रवेश परीक्षामा नै केन्द्रित भए । उनले कक्षा १२ मा पढ्दा जुन पाठ पढ्यो, त्योसँग जोडिएर आईओई प्रवेश परीक्षामा आउने प्रश्नहरू हल गर्ने र त्यसलाई राम्रोसँग दिमागमा राख्न थाले । उनले पहिले नै प्रवेश परीक्षा दिइसकेका अग्रजहरुले अभ्यास गरेका प्रश्नपत्रहरु भेटेजति सबै अभ्यास गरेर सकाएको अनुभव सुनाए ।
कक्षा १२ को परीक्षा सकेपछि प्रतीकले पीईए ज्वाइन गरे । त्यहाँ करिब डेढ महिना पढेपछि उनलाई आफैले मिहिनेत नगरेसम्म परीक्षामा राम्रो गर्न सकिँदैन भन्ने लाग्यो । र, स्वअध्ययन गर्न थाले । आफूलाई जाँच्न पीर्ईएबाहेक अन्य इन्टिच्युटमा गएर पनि टेस्ट दिए, जहाँ उनले आफूले हरेक पटकको टेस्टमा राम्रो नतिजा ल्याए । प्रतीकले सर्वोत्कृष्ट स्थानमा ल्याउनुमा आफ्नै कडा परिश्रम भएको बताउँछन् ।
उनले अभ्यासका क्रममा गणित, फिजिक्स, केमेस्ट्री र अङ्ग्रेजीलाई नै फोकस गरे । घरमा भएको समय ६ देखि ७ घण्टासम्म नै अभ्यासमा घोटिए । उनले पीईएले दिएकाबाहेक अन्य किताबहरू पनि धेरै अभ्यास गरे ।
यस वर्षका लागि हालसम्म आईओईले प्रवेश परीक्षाका सूचना प्रकाशित गरेको छैन । त्यसैले, अझै पनि आगामी परीक्षाका लागि तयारी गर्ने समय बाँकी छ । त्यसका लागि हरेक दिन एक सेट प्रश्नपत्र हल गर्नुपर्ने प्रतीकको सुझाव छ । अब प्रवेश परीक्षा एकदमै नजिक भएकाले कुनै पनि सामाजिक सञ्जाल, ग्याजेटको प्रयोग नगरी शान्त दिमागले प्रवेश परीक्षाका लागि तयारी पारिएका प्रश्नपत्र अभ्यास गर्न उनले सुझाव दिए । अभ्यास गर्दा कुन विषयमा आफू कमजोर छु भन्ने थाहा भएपछि त्यसमा धेरै समय लगाउनुपर्ने उनी बताउँछन् ।
त्यस्तै, प्रतीकले यस वर्षको तयारी कक्षाका लागि अब नयाँ कुरा नपढ्न सुझाव दिन्छन् । अब थोरै समय बाँकी भएकाले नयाँ विषयहरू अभ्यास गर्दा दुविधा बढ्ने भएकाले पुराना पढिसकेका विषयमा नै ‘फोकस’ हुनुपर्ने उनको सुझाव छ ।
कक्षा १२ को अन्तिम परीक्षा दिएपछि जेठबाट सरोजले तयारी कक्षा लिन थाले पीईएमा । पुराना, नयाँ र सम्भावित प्रश्नहरू नछुटाई हल गर्न थाले । उनी खाना र नुहाई धुवाई, सरसफाइको समयबाहेक अन्य समय प्रवेश परीक्षाका लागि घोटिए ।
खाना बाहेकको समय अध्ययनमा लगाउने सरोज
ओखलढुंगाका सरोजकुमार कटुवाल पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ पढ्दैछन् । उनले २०७४ सालको इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षामा तेस्रो नम्बरमा नाम निकालेका थिए । त्यस वर्ष १२ हजार ८ सय जनाले प्रवेश परीक्षा दिएका थिए ।
काठमाडौँ, बसुन्धरास्थित एक कलेजमा प्लस टु साइन्स पढेका उनले कक्षा १२ को बोर्ड परीक्षा दिएपछि मात्रै प्रवेश परीक्षाका लागि तयारी सुरु गरेका थिए । इन्जिनियर बन्ने सपना अनि त्यसका लागि सरकारी क्याम्पसमा थोरै पैसामा पढ्न पाउने सुनौलो अवसर । तर, त्यसका लागि प्रवेश परीक्षा पास गर्न गर्नुपर्ने कडा मिहिनेत । यी सबै चुनौती स्वीकारेर उनी जसरी पनि आईओईमा नै नाम निकाल्ने संकल्पसहित अगाडि बढेका थिए ।
कक्षा १२ को अन्तिम परीक्षा दिएपछि जेठबाट उनले तयारी कक्षा लिन थाले पीईएमा । पुराना, नयाँ र सम्भावित प्रश्नहरू नछुटाई हल गर्न थाले । उनी खाना र नुहाई धुवाई, सरसफाइको समयबाहेक अन्य समय प्रवेश परीक्षाका लागि घोटिए । फिजिक्स, म्याथ, केमेस्ट्री र अङ्ग्रेजीमा धेरै फोकस गरे । प्रवेश परीक्षामा नाम निकाल्न पीईए राम्रो इन्स्टिच्यूट लागेको उनको अनुभव छ । तर पनि आफ्नो मिहिनेतमै भर पर्न सुझाव दिन्छन् उनी ।
मात्रै दुई महिनाको तयारीले उत्तीर्ण आदर्श
गोरखाका आदर्श बोहरा अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इलेक्ट्रोनिक इन्जिनियरिङ पढिरहेका छन् । उनले पनि २०७४ सालको प्रवेश परीक्षामा नाम निकालेका थिए । उनले पीईए र घरमा गरी जम्मा दुई महिना मात्रै तयारी गरेको रातोपाटीलाई बताए ।
गणित, फिजिक्स र केमेस्ट्रीलाई धेरै ध्यान दिएको तर अङ्ग्रेजीलाई बेवास्ता गर्दा आफ्नो कम नम्बर आएको उनको अनुभव छ । गणित र फिजिक्सबाट धेरै नम्बर आउने भएकाले सबैको ध्यान यसमै हुने तर अङ्ग्रेजीलाई बेवास्ता गर्न नहुने उनी बताउँछन् । केमेस्ट्री भने कक्षा ११ र १२ मा पढेजस्तै हुने भएकाले त्यसलाई टपिकवाइज छुट्याएर पढ्दा छोटो समयमै तयारी हुने उनको भनाई छ ।
सबैभन्दा ध्यान दिनुपर्ने कुरा बुझेर मात्र पढ्नुपर्ने, सबै प्रश्न कक्षा ११ र १२ बाट नै आउने भएकाले त्यसमा नै केन्द्रित हुनुपर्ने उनी बताउँछन् । १० नम्बर बिगारेमा एक नम्बर माइनस हुने प्रणाली भएकाले सकेसम्म प्रश्न ध्यान दिएर पढ्नुपर्ने र सही उत्तर नै दिन कोसिस गर्नुपर्ने उनी सुझाउँछन् । आदर्श भन्छन्, ‘सबै प्रश्नको उत्तर रटेर तयारी गर्न सकिन्न । प्रवेश परीक्षाको सिलेबल्स ध्यान दिएर मौलिक उत्तर दिने प्रयासमा पनि लाग्नुपर्छ ।’
प्रवेश परीक्षामा पास भएर मात्रै हुँदैन
इन्जिनियरिङ अध्ययन संस्थान अन्तरगत चारवटा आङ्गिक क्याम्पसमा पढ्न प्रवेश परीक्षामा नाम निकालेर मात्रै पुग्दैन । यी सबै क्याम्पसका लागि प्रवेश परीक्षा एकै ठाउँमा हुन्छ । फरक–फरक दिनमा परीक्षा सञ्चालन हुने र सोधिने प्रश्नपत्र पनि बेग्लै हुन्छ ।
इन्ट्रान्स एक्जाम आइसीटीसी भवनमा सञ्चालन हुन्छ । त्यहाँ कम्प्युटर प्रविधिबाट प्रवेश परीक्षा लिइन्छ । नतिजा निस्किसकेपछि आफ्नो र्याङ्किङ कतिऔं स्थानमा छ भन्ने कुराले विशेष महत्व राख्दछ । जस्तो कि एक नम्बरमा नाम निकाल्ने विद्यार्थीले कुन क्याम्पस रोज्छ, त्यसले पछिल्ला स्थानमा नाम निकाल्नेले उही क्याम्पसमा भर्ना पाउने कि नपाउने भन्ने निर्धारण गर्छ ।
विद्यार्थीहरुले ललितपुरमा रहेको केन्द्रीय क्याम्पस पुल्चोक, काठमाडौँको थापाथली क्याम्पस, धरानको पूर्वाञ्चल क्याम्पस र पोखराको पश्चिमाञ्चल क्याम्पसमध्ये एउटा रोज्न पाउँछन् । सिभिल, कम्प्युटर र इलेक्ट्रिकल आदि फ्याकल्टीहरुमा कोटा छुट्याइएको हुन्छ । त्यसका लागि सुरुमा नै आफूले पढ्न चाहेका फ्याकल्टीमा रोजेर फारम भर्न छुटाउनु हुँदैन ।
आफ्नो र्याङ्किङ अनुसार कुन–कुन विषय पढ्न सकिन्छ, प्राथमिकताका आधारमा छान्न छुटेमा कोटा भरिएपछि भर्ना नपाउने पनि हुन सक्छ । त्यसैले प्रवेश परीक्षाको नतिजा आएपछि भर्नाका लागि पछाडि नाम निस्केकाहरुले अन्य क्याम्पसहरुमा पनि प्राथमिकताका आधारमा आफूले पढ्न चाहेको विषय छान्न आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुलाई–सेप्टेम्बरबिच बढेन बेलायतको आर्थिक वृद्धिदर
-
मुग्लिङ–नौबिसे सडकखण्ड आंशिक बन्द गरेर धमाधम काम, तस्बिरहरु
-
सामाजिक सञ्जाल प्रयोगमा कठोर बन्दै दलहरू
-
ओलम्पिक कमिटीको कार्यालयमा प्रहरी परिचालन
-
सर्वोच्चमा सोमबार ४१ प्रतिशतभन्दा बढी मुद्दा स्थगितको सूचीमा, यस्तो छ कारण
-
ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन